logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

२२९ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक, एमालेको शतक


  • जन आकाश
  • सोमबार, असार १९ २०७४

काठमाडौं । २०७४ दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गत असार १४ गते मतदान भएको हो । अहिलेसम्म २ सय २९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एमालेले अग्रता कायम गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन् । सार्वजनिक भएको पछिल्लो नतिजाअनुसार एमाले १०१ स्थानमा विजयी भएको छ भने मतगणना जारी रहेका स्थानीय तहमध्ये ४५ स्थानमा अग्रता बनाएको छ । एमालेले प्रदेश नम्बर एकमा ४४, प्रदेश नम्बर ५ मा २५ र प्रदेश नम्बर ७ मा २९ स्थानमा विजय हासिल गरेको हो ।
यस्तै नेपाली कांग्रेस ८७ स्थानमा विजयी भएको छ भने ४२ स्थानमा अग्रता बनाउन सफल भएको छ । कांग्रेसले प्रदेश नम्बर एकमा २९, प्रदेश नम्बर ५ मा २३ र प्रदेश नम्बर ७ मा ३५ स्थानमा जित निकालेको छ । माओवादी केन्द्र भने ३२ स्थानमा जित हात पार्दै ७ स्थानमा अगाडि देखिएको छ । माओवादी केन्द्रले प्रदेश नम्बर एकमा ८, प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर ७ मा ७ स्थानीय तहमा झण्डा गाडेको छ । संसदको चौथो ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानीय तहमा जित निकालेको छ । राप्रपाले प्रदेश नम्बर १ र ५ का २ स्थानमा अग्रता बनाएको छ ।
संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा २ स्थानमा जित हात पारेको छ भने राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित निकालेको छ । यस्तै नेपाल लोकतान्त्रिक फोरमले प्रदेश नम्बर १ का २ र ७ का २ गरी ४ स्थानमा विजयी हासिल गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend