जन आकाश
विनोद कार्की ।
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा भालुको आक्रमण बढ्दै गएको छ। पछिल्लो घटनामा आज बिहान करिब ८–९ बजेको समयमा च्याउ टिप्न जङ्गल गएका ढालबहादुर कार्की भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।
गोकुलगंगा गाउँपालिका वडा नं १ नयाँ बनको आसपासको जङ्गलमा च्याउ टिप्न गएका कार्कीलाई भालुले आक्रमण गरेको हो। आक्रमणबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। घाइते कार्कीलाई स्थानीयवासीले एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल पुर्याएका छन्। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
उमेरले करिब ७०–८० वर्ष पुगेका कार्की विगत १६–१७ वर्षदेखि च्याउ टिपेर कसैको घरमा बस्ने,खाने गर्दै आएका थिए । उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डार स्थायी घर भएका कार्की बिगत लामोसमयदेखि जङ्गलमा पाइने रातो तथा पहेँलो च्याउ सङ्कलन गरी बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए।
च्याउ टिप्ने सिजनमा उनी नयाँ वन, माझखर्क लगायतका घना जङ्गलमा जाने र च्याउ बिक्रीबाट प्राप्त हुने रकम तथा स्थानीयका घरमा च्याउ दिएर केही दिन बस्ने खाने गर्दै आएका थिए। सामान्य जीविकोपार्जनका लागि जङ्गलमा निर्भर रहँदै आएका वृद्धमाथि भएको यो आक्रमणले स्थानीयवासीलाई थप चिन्तित बनाएको छ।
गोकुलंगा गाउँपालिका वडा नं १ स्थानिय चाके बासिकाअनुसार गोकुलगंगा गाउँपालिका वडा नं १ का विभिन्न स्थानमा जङ्गली जनावरको जोखिम बढ्दै गएको छ। यसअघि पनि भालुको आक्रमणबाट स्थानीयवासी गम्भीर घाइते भएका थुप्रै घटनाहरुछन् ।
स्थानीयका अनुसार साँझपख भालु गाउँबस्तीसम्मै आउने, किशानले लगाएका उत्पादनमा क्षति पुर्याउने तथा गाईवस्तुमाथि समेत आक्रमण गर्ने गरेको छ। जङ्गली जनावरको बढ्दो आवतजावतले स्थानीयको जनधन र जीविकोपार्जनमा जोखिम बढाएको उनीहरूको गुनासो छ।
गोकुलगंगा गाउँपालिका वडा नं १ मा भालुको आक्रमणका घटना दोहोरिन थालेपछि जङ्गली जनावरको व्यवस्थापन र नागरिकको सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ। जङ्गली जनावरको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले के कस्ता उपाय अपनाएको छ ? बाघ , भालु जस्ता वन्यजन्तु बस्तीमा प्रवेश गर्दा गौरीशङ्कर संरक्षण क्षेत्रको भूमिका र जिम्मेवारी के हुन्छ?
त्यस्तै, भालुको आक्रमणबाट गम्भीर घाइते भएका ढालबहादुर कार्कीको उपचार खर्च कसले बेहोर्ने र पीडितले राज्यबाट कस्तो सहयोग पाउने भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ। गाउँमा हुने यस्ता जगली जनवारकाे आक्रमणवाट मानिसमा क्षति पुगेमा गौरीशंखर संरक्षण क्षेत्र कोषले व्यहोर्दै पनि आएको छ । तर मानिसको मृत्यु भएमा के आरक्षण क्षेत्रले मानिस फर्काउन सक्छ । यस्ता जगली जनावरको त्रसदी कहिलेसम्म रामेछापको गोकुलगंगा गाउँपालिका चुचुरे वडालाई गौरीशंखर प्राकृतिक संरक्षण क्षेत्र घोषणा भएदेखि जंगलको मात्र बढेर मानिसहरु जगली जनावरको आक्रमणकाे जोखिममा पर्दै आएका छन् । यो सरक्षण क्षेत्र चुचुरेको लागि आवश्यक छकी छैन बहसको विषय बनेको छ । गाउँपालिका, सम्बन्धित वन्यजन्तु तथा संरक्षण निकायले घटनालाई गम्भीर रूपमा लिँदै नागरिकको सुरक्षा, घाइतेको उपचार तथा जङ्गली जनावरबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
जङ्गली जनावरको संरक्षणसँगै नागरिकको जीवन र सुरक्षाको प्रत्याभूति कसले गर्ने ? गोकुलगंगा १ का स्थानीयवासीले सम्बन्धित निकायसँग जवाफ र प्रभावकारी पहलको अपेक्षा गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend