logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पशुपतिनाथ र यस क्षेत्रको बारेमा केही जिज्ञासा


  • जन आकाश
  • सोमबार, साउन २ २०७४

अध्कक्ष प्रज्वल गिरी, अध्यक्ष,



नव अमर कान्तेश्वर युवा समूह पशुपति, काठमाडौं
पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रको विकास र प्रवर्द्धन निम्ति स्थापित एक राष्ट्रिय स्तरको निकाय हो । यसको मुख्य कार्य पशुपति क्षेत्रको विकास गर्नु हो । यसको धार्मिक, पुरातात्विक महत्वलाई विश्वसामु उजागर गर्नु र यसलाई विश्वकै एक प्रमुख गन्तब्यको रुपमा स्थापित गर्नु यसको स्थापनाको मूल उद्देश्य हो । यस क्षेत्रको विकासको लागि विकास कोषले गुरुयोजनाको निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । पशुपति क्षेत्रको मुहार फेर्नमा यो केही हदसम्म सफल समेत भएको देखिन्छ । विशेष गरेर पशुपति मन्दिर भित्र प्रवेश पाउने परम्परागत अख्तियारी प्राप्त दक्षिण भारतीय भट्टहरु र नेपाली भण्डारीहरुलाई तलबको दायरामा ल्याउने र पशुपतिको भेटीघाटी पारदर्शी बनाउने कार्य कोषको सबैभन्दा सफल र उल्लेखनीय कार्य हो ।
तथापि, गुरुयोजना कार्यान्वयनको क्रममा विभिन्न किसिमका कमजोरीहरु देखिँदै आएका छन् । विशेष गरी यहाँका स्थानीय समुदायलाई यो समग्र प्रक्रियाबाट विमुख गरिएको छ । गुरुयोजना निर्माण गर्दा यहाँका स्थानीयहरुसँग कुनै पनि प्रकारको छलफल भएको छैन । कुनै पनि स्थानको विकासको मुख्य विज्ञ सोही स्थानका जनता हुन्छन् र स्थानीय समुदायको अपनत्व नभएको विकास कहिल्यै पनि दिगो हुन सक्तैन भन्ने सर्वमान्य सत्यलाई पशुपति क्षेत्र विकास कोषले स्वीकार गर्न नसक्दा यहाँका अमूल्य निधिहरु संकटमा परेका छन् । पशुपति क्षेत्र विकास कोषको मुख्य कमजोरी स्थानीय जनसमुदायलाई पशुपति क्षेत्रका विकासमा मूलप्रवाहीकरण गर्न नसक्नु हो । कोषका पदाधिकारी तथा कर्मचारीहरुले स्थानीय वासिन्दालाई आफ्ना प्रतिपक्षी ठान्दै विकासको विरोधीको रुपमा चित्रित गर्दै आएका छन् । यसको मूल उद्देश्य यहाँका सिमित पदाधिकारी तथा कर्मचारीहरुको हालीमुहाली अनन्त कालसम्म कायम राख्नु हो ।

  • पशुपति क्षेत्र विकास कोष नीतिगत रुपमै दिग्भ्रमित भएको पाइन्छ । नीतिगत रुपमा यसको मुख्य उद्देश्य पशुपति क्षेत्रको विकास र संवर्धन गर्नु हो । तर, कोषका पछिल्ला क्रियाकलापहरु व्यापार गर्ने संस्थाको रुपमा देखा परेको छ । विगतमा ल्याइएको पशुपति दर्शनको निम्ति हजार रुपैयाँको टिकट काट्ने प्रचलन यस प्रवृत्तीको एक उदाहरण थियो । अहिले धेरैजसो कार्यहरु दातामार्फत् गराउने नीति कोषले लिएको देखिन्छ । अत्यन्त संवेदनशील स्थानका जिम्मेवारीहरुमा समेत विभिन्न व्यापारिक घरानाहरुलाई आमन्त्रण गरेर कोषले आफैले गर्नुपर्ने कार्यहरुबाट पन्छिन खोजेको पाइन्छ । क्रियापुत्री भवन, धर्मशाला लगायत अरु विभिन्न महत्वपूर्ण स्थलहरुको निर्माणको जिम्मेवारी विभिन्न व्यापारिक प्रतिष्ठानहरुलाई दिने गरेको पाइन्छ । व्यापारीहरुले आफ्नो श्वार्थ पूर्ति नहुने स्थानमा कहिल्यै पनि लगानी गर्दैनन् भन्ने सामान्य सत्यमाथि कोषले आँखा चिम्लिएको देखिन्छ । सबै कार्य अरुबाट गराउने हो भने पशुपति क्षेत्र विकास कोषको अस्तित्व चाहिने कि नचाहिने भन्ने प्रश्न आउने कुराको समेत विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुले ध्यान नदिएको देखिन्छ ।
    हालै सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात् यस क्षेत्रमा निर्वा्चित जन प्रतिनिधिहरुको आगमन भएको अवस्था छ । कोष जनतासँग निरन्तर अन्तरक्रिया गर्दै अघि बढोस् । यहाँका स्थानीयवासीहरु पशुपति क्षेत्रको विकासको लागि कुनै पनि प्रकारको तिलाञ्जली दिन तयार छन् । उनीहरुले विगतमा पनि आफ्ना घर र टोलको आहुती यसको निम्ति चढाएकै हुन् र त्योभन्दा पनि ठूलो योगदान दिन तत्पर रहेका छन् । तसर्थ, पशुपति क्षेत्र विकास कोषले यहाँका जनतालाई पशुपति क्षेत्रको विकासको मूल स्टेक होल्डरको रुपमा स्वीकार्दै अगाडि बढेमा यस क्षेत्रलाई अन्तराष्ट्रिय स्तरकै एक प्रमुख गन्तब्यको रुपमा विकसित गर्न सकिन्छ ।
    हाल पशुपति क्षेत्रमा विद्यमान केही समस्याहरु यहाँ उल्लेख गरिएका छन् ।
    – भत्किएका र पुराना मन्दिरको जिर्णोद्धार नगर्ने तर भएको मन्दिरहरु भत्काउने प्रवित्ति
    देशकै सबैभन्दा पुरानामध्ये पर्ने मूर्ति भएको विश्वरुप मन्दिर भत्किएको छ, जयबागेश्वरीको हाल त्यस्तै छ । तर, पशुपति क्षेत्र विकास कोष यस्ता पुरातात्विक मन्दिरको पुननिर्माणमा लाग्नुको स्थानमा भइरहेका मन्दिरहरुलाई भत्काएर व्यापार गर्नतर्फ लागेको पाइएको छ ।
    घाट सेवा तथा क्रियापुत्री सेवामा हुने ब्रम्हलुट
    यहाँ बाच्न भन्दा मर्न बढी पैसा लाग्ने अवस्था आएको छ । पशुपति क्षेत्रमा जनसमुदायहरु आफ्ना मान्छेका मरणोपरान्त अन्त्यष्टिका लागि आउँछन् । तर, पशुपति क्षेत्रमा शव दाह गर्दा चरम लुट हुने गरेको छ । शोकमा परेका मान्छेहरुलाई लुटिन्छ । न्युनतम ४०० प्रतिशतसम्म नाफा राखेर वस्तु विक्री गरिन्छ । यस कार्यको लागि पहिल्यै रहेको पसलले धेरै नाफा कमाएको देखेर पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुले संस्था गठन गरी सोही संस्थामार्फत् अर्को पसल खोलेर यो लुटेरा कार्यलाई थप निरन्तरता दिएका छन् ।
    क्रियापुत्री सेवामा समेत सोही किसिमको प्रवृत्ति देखिन्छ । पहिले स्थानीयहरुले राख्दै आएको पसलहरु हटाई माथि उल्लेख गरेको कर्मचारीहरुको स्वामित्वको संस्थाको नाममा पसल खोलेर लुटतन्त्र मच्चाइएको छ ।
    टुरिष्ट काउण्टरहरुमा हुने अनियमितता
    पशुपति क्षेत्रमा रहेका अधिकांश टुरिष्ट काउण्टरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुले अनियमितता गर्दछन् । पहिले एक पटक एक कर्मचारी रंगे हात फेला परेका थिए, तर निजलाई विना कारवाही छाडियो ।
    मारवाडीहरुलाई चोरबाटोबाट गराइने दर्शन र चाकडी
    पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको अतिक्ति आम्दानीको स्रोतको रुपमा मारवाडीहरुलाई गराइने दर्शन हो । विभिन्न नेपाली तथा भारतीय उद्योगपतिहरुको पछि लागेर, उनीहरुलाई विशेष सुविधा सहित विना लाइन दर्शन गराउन यहाँका कर्मचारीहरु तछाड मछाड गर्दछन् । यहाँका माथिल्लो तहका हाकिमहरुको समेत छोराछोरीको विद्यालय शुल्क यिनै मारवाडीहरुले तिरिदिने गरेका छन् ।
    सरसफाई तथा फोहर व्यवस्थापनमा लापरवाही
    पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुले आफ्ना निर्धा्रित कार्यहरु गर्दैनन् । पशुपति क्षेत्रको सरसफाई तथा फोहर व्यवस्थापनका लागि खटिएका कर्मचारीहरुले आफ्ना काम नगर्दा पशुपति क्षेत्र धेरै फोहोर देखिने गरेको छ ।
    पशुपति क्षेत्र विकास कोषमा हुने पदपूर्ति
    पशुपति क्षेत्र विकास कोषमा कहिल्यै पनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुँदैन । यहाँका ठालुहरुको घरमा काम गर्ने, नातेदारहरुले स्वतः जागिर पाउने गरेका छन् । कोषका उपल्लो तहका पाण्डे थरका कर्मचारीले आफ्नो भाइलाई सिधै नियुक्त गरेर जागिर खुवाएका थिए भने अन्यले पनि त्यसो गर्दै आएका छन् । पदपूर्तिलाई व्यवस्थित गरियोस् भन्ने यहाँका स्थानीयहरुको जोडदार माग रही आएको छ ।
    रै–रकमी तथा घाट सेवाका मजदुरहरुमाथि भएको शोषण
    पशुपति क्षेत्रमा विभिन्न रैरकमी कर्मचारीहरु रहेका छन् । विभिन्न मठमन्दिरका पाले लागयतका कार्यमा यहाँका स्थानीयहरु पुर्खौदेखि कार्य गर्दै आएका छन् । तर, उनीहरुको पारिश्रमिक वर्षका दुई सय रुपैयाँ वा त्यस्तै रही आएको छ । विभिन्न ठालुहरुका कृपामा जागिर खाएका पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुले तलबको अलावा विभिन्न भत्ताहरु बुझ्दै आएका छन् भने यहाँका रैरकमीहरुमाथि सदियौं देखि शोषण हुँदै आएको छ ।
    त्यस्तै मसानघाटमा दाउरा बोक्ने, लास जलाउने लगायतका कार्य गर्दै आएका मजदुरहरुलाई व्यवस्थित गर्नको निम्ति घाट सेवा केन्द्रको स्थापना गरिएको हो । तर, मजदुरहरुको लागि कुनै पनि किसिमको सुरक्षाको ग्यारेण्टि गरिएको छैन । मजदुरहरुबाट समेत पैसा असुलिने गरिन्छ । तर, सोको खर्चको कुनै पनि लेखाजोखा भएको पाइँदैन । यहाँका मजदुरहरुलाई पनि पशुपति क्षेत्र विकास कोषको स्थायी नियुक्ति दिनुपर्ने देखिन्छ तर यसमा कोषले कुनै पनि प्रकारको पहल गरेको छैन ।
    वत्सलेश्वरी मन्दिरमा भक्तजनहरुमाथि हुने लुट
    माग्नेहरुको व्यवस्थापन
    दृष्टिविहिन गायन टोली
    अस्तव्यस्त बाटोहरु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend