जन आकाश
काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोनमा फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा निःशुल्क प्रदान गर्ने भएको छ । साथै कल डाइभर्ट लगायतका पुरक सुविधाको पनि पैसा नलाग्ने भएको छ ।
ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिँदा लाग्ने शुल्क साउन १ गतेबाट हटाइएको नेपाल टेलिकमले जनाएको छ । जसअनुसार अब ल्याण्डलाइन टेलिफोनमा कलर आईडी सेवाका लागि लाग्ने पैसा हटाइएको छ ।
यस्तै आइएसडी सेवा आफैंले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी त्यही दुई अंक थिचेर नम्बर डायल गर्न सकिनेछ । साथै एउटामा आउने सम्पूर्ण कल अर्को नम्बरमा डाइभर्ट हुने र कल ट्रान्सफर सुविधा पनि निःशुल्क भएको छ ।
त्यसैगरी टेलिफोन ब्यस्त हुँदा आउने कल अर्को नम्बरमा डाइभर्ट हुने बिजी कल ट्रान्सफर, ६ पटकसम्म घण्टी बजेपनि फोन नउठेमा अर्को नम्बरमा डाइभर्ट हुने ‘नो एन्सर ट्रान्सफर’, आवश्यक पर्ने समयमा अलार्मको रुपमा टेलिफोनमा घण्टी बजाउन वा समय सूचकको रुपमा प्रयोग गर्न सकिने ‘वेक अप कल’ र टेलिफोनमा कुरा भइरहेको बेला अर्को कल आएको थाहा पाउन प्रयोग गरिने ‘कल वेटिङ’ सुविधा पनि निःशुल्क लिन सकिने नेपाल टेलिकमले जनाएको छ ।
टेलिफोन सेटमा आफूले राखेको लकिङ कोड आफैले टेलिफोन सेटबाट परिवर्तन गर्दा समेत अब शुल्क नलाग्ने भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend