जन आकाश
काठमाडौ – भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित भएका छन् । कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन् । चार हजार एक सय २० विधानसभा सदस्य र दुवै संसदका ७ सय ७६ जना सांसदले राष्ट्रपतिका लागि मतदान गरेका थिए ।
६६ प्रतिशत पाएर उनी विजयी बनेका हुन् । उम्मेदवार बनेदेखि नै कोविन्दको जीत लगभग सुनिश्चितजस्तै थियो । कोविन्दका बुवा किसान थिए । कानपुर विश्वविद्यालयबाट कानुनमा स्नतक गरेका कोविन्द १९४५ अक्टोबर १ मा उत्तर प्रदेशको कानपुरमा जन्मेका हुन् । वकालत पेशामा लामो समय विताएका उनले स्नातक गरेपछि उनी भारतीय प्रशासन सेवामा जागिर खान दिल्ली गएका थिए।
आइएएसको परीक्षामा दुई पटक फेल भएका कोविन्द तेस्रो पटकमा उर्तिण भएका थिए तर उनी प्रशासनको जागिर खान गएनन्, वकालतमा आएका हुन्।
उनले सन् १९९१ मा भारतीय जनता पार्टीको सदस्यता लिएका थिए । १९९८ देखि २००२ सम्म उनी भाजपाको दलित मोर्चाका अध्यक्ष बनेर काम गरे । उनले भारतीय प्रधानमन्त्री मोरारजी देसाईको स्वकीय सचिवसमेत बनेर काम गरेका छन्। २०१५–२०१७ सम्म उनी भारतीय राज्य बिहारका गर्भनर थिए ।
१९९४ मा उनी उत्तरप्रदेशबाट राज्यसभामाको सदस्यमा नियुक्त भएका थिए । उनी दुई कार्यकाल राज्यसभाको सदस्य भए। भारतमा दलित समुदायबाट राष्ट्रपति बन्न सफल उनी दोस्रो व्यक्ति हुन् । उनी दलित समुदायका पनि कोली समुदायका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend