जन आकाश
रामशरण बुढाथोकी
अध्यक्षका प्रत्यासी, काठमाडौं उपत्यका निर्माण व्यववसायी संघ
यतिबेला काठमाडौं उपत्यका निर्माण व्यवसायी संघ जिल्ला काठमाडौंको १५औं साधारणसभा हुँदैछ भने आठौं महाधिवेशन हुन गइरेको छ । यो अवसरमा २०३३ सालमा दोलखा जिल्लामा जन्मनुभएका सानै उमेरदेखी इमानदार, मेहनती र सामाजिक कामदेखि विकासको सुनौलो सपना देख्ने व्यक्ति आज साँच्चै नै विपनामा भौतिक संरचना निर्माण गर्ने बल्डवाइड कन्ट्रक्शन प्रा.लिका सञ्चालक हुनुहुन्छ रामशरण बुढाथोकी ।
उहाँले काठमाडौंको बौद्ध फुलबारी मा.वि.बाट एसएलसी र पशुपति बहुमुखी क्याम्पसबाट आईए शिक्षा हासिल गर्नुभएको छ भने दुईदशक अगाडिदेखि निर्माण क्षेत्रमा काम गर्दै आउनु भएको र साथसाथै निर्माण क्षेत्रका व्यवसायीहरुमा देखिएका समस्याहरुलाई आफ्नै पहलमा सहयोग गर्दै आउनु भएको छ भने काठमाडौं निर्माण व्यवसायी संघको पूर्व महासचिव पदमा रहँदा सबै व्यवसायीहरुको आस्थाको केन्द्रमा रही भरपर्दो काम गर्न सक्ने, छलकपट नगर्ने, मिलनसार, सत्य कुरा प्रष्ट राख्ने प्रष्ट वक्ता हुनुहुन्छ । आज तिनै व्यक्तिलाई व्यवसायीहरुले काठमाडौं उपत्यका व्यवसायी संघको अध्यक्ष उठाएका छन् । चुनावको सन्ध्यामा हामीले विषयवस्तुलाई जोड्न यस अंकमा उहाँको धारणा लिएका छौं । उहाँको धारण जस्ताको तस्तै ।
० अहिले काठमाडौं उपत्यका निर्माण व्यवसायीहरुको साधारणसभा तथा निर्वाचन हुँदैछ । तपाइले प्यानलै बनाएर अध्यक्षको उम्मेदवारी दिँदै हुनुहुन्छ तपाइकै अध्यक्षता किन ?
यो मेरो रहर नभएर बाध्यता हो । मैले निर्माण व्यवसायमा झण्डै दुई दशक विताइसके, यो दौरानमा हामी निर्माण व्यवसायीहरुमा थुप्रैै खालका समस्याहरु छन् । ती समस्याहरुलाई समाधान गर्न काठमाडौं उपत्यका निर्माण व्यवसायीहरुले विगतका नेतृत्वले निर्माण व्यवसायीहरुका दुःख, पिठा, अप्ठ्यारो फुकाउन सकेनन् । वर्तमानको अध्यक्षको नेतृत्वले त झनै कुनै त्यस्ता ठोस काम केही पनि गर्न नसकेको देखियो । त्यसकारण व्यवसायीहरुले यो कार्यकाल भन्दा अगाडी मैले महासचिवमा निर्वाचित भई महासचिवको पदीय जिम्मेवारी राम्रो निर्वाह गरी निर्माण व्यवसायी काठमाडांैलाई कार्यालय सञ्चालन व्यवसायीहरुको एकता र निर्माण क्षेत्र काठमाडौंका सबै व्यवसायीहरुको सहभागीता गराउने काम मैले गरेको थिएँ । त्यो कामबाट निर्माण व्यवसायी काठमाडौंका साथीहरुले मलाई नेतृत् वगर्न रामशरण बुढाथोकी सक्षम छ भनी विश्वास गरेर अगाडी सार्नु भएको छ । उहाँहरुकै सल्लाह, सुझाव उहाँहरुकै आग्रहमा मैले अध्यक्षमा उम्मेदवारी दिएको हो ।
तपाइले माथि सोध्नु भएको प्रश्न मेरो उम्मेदवारी नै किन भने निर्माण व्यवसायीका समस्याहरुलाई सामुहिक रुपमा सम्बोधन गर्न सरकार मातहतका र सम्बन्धित निकायसँग समन्वयकारी भूमिका साथै आवश्यक परेमा संयुक्त निर्माण व्यवसायीहरुको एकता, संस्थाको नीति, विधि प्रक्रिया अुनसार दबाबमूलक कार्यक्रमलाई समेत प्रभावकारी बनाई व्यवसायीहरुमा देखिएको समस्याको निकासदिन जस्तै काठमाडौ ंमहानगरपालिकाभित्र बिलपास भएको छ महिनासम्म भुक्तिानी रोकिएको छ । त्यसको पहलकदमी लिन जबकी सरकारी नियममा नै बिल पेश गरेको २८ दिनभित्र भुक्तानी दिइसक्नु पर्ने नियम छ तर ७ महिना, आठ महिनासम्म भुक्तानी रोकेर दुःख दिइराखेका छन् यो सत्य तथ्य कुरा सार्वजनिक गरी घुस दिने चलनको अन्त्य गर्न, देश निर्माण गर्ने हामी व्यवसायीहरु पारदर्शी र जवाफदेही बन्न, बनाउन मेरो उम्मेदवारी हो । मलाई विश्वास छ यो काम मेरो नेतृत्वमा गर्न सक्छु । साना व्यवसायीदेखि ठूला व्यवसायी सबैलाई समेट्न पनि मेरो उम्मेदवारी हो ।
० अहिलेका वर्तमान अध्यक्ष पुनः अध्यक्षमा दाबी गरिराख्नु भएको छ, किन होला ?
यो विषय उहाँलाई सोध्नुभयो भने उत्तर पाउनुहुन्छ । तर मलाई सोध्नुभएको हो भने वर्तमान अध्यक्षको कार्यकालमा कुनै पनि उल्लेखनीय निर्माण व्यवसायीहरुका लागि काम गर्न सक्नुभएको छैन । मलाई लाग्छ उहाँले उम्मेदवारी छोडेर सर्वसहमत ढंगबाट मेरो नेतृत्वमा हाम्रो टिमलाई समर्थन गर्नुहुन्छ भन्ने विश्वासमा हामी छौं । यदि त्यस्तो हुन सकेन भने उहाँ भारी मतले पराजित हुनुहुनेछ । किनकी उहाँ संघको अध्यक्ष हुने कुर्सीमा बस्नेभन्दा केही काम नगरेको हुनाले उहाँप्रति सन्तुष्ट छैनन् । त्यसकारण उहाँले नैतिकताको आधारमा पनि हामीलाई सर्वसहमतमा छोड्नु हुन्छ भन्ने लागेको छ ।
० तपाई सर्वसहमतिबाट अध्यक्ष हुनुभयो वा निर्वाचित भएर अध्यक्ष हुनुभयो भने काठमाडौं उपत्यका निर्माण व्यवसायीहरुको हितका लागि के के उल्लेखनीय काम गरेर देखाउन सक्नुहुन्छ ?
पहिलो त व्यवसायीहरु अनियन्त्रित भएका छन् । सबैलाई एकतामा संयुक्त हुन वातावरण बनाउँछु । अर्को साना व्यवसायीहरुमा भरपूर टेक्निकलहरु पर्याप्त छैनन् त्यसलाई पूर्ति गर्न कन्सल्ट्यान्ट हायर गर्ने साना व्यवसायीले बनाउन नसकेको बील बनाइदिने, सुपरभिजन गरिदिने सर्टेन बिल एमाउण्ट लिएर फि तिरेर व्यवसायी गर्न वातारण क्रिएट गर्ने अर्को हेल्प डेस्क राख्ने हेल्प डेस्क राखेर व्यवसायीहरुको समस्या के छ । हेल्प डेस्कबाट जानकारी गराउने उनीहरुको समस्या सुन्ने र समस्याको मूल्यांकन गरी समाधान गर्नेछौं । अर्को लिगल एड्भाइजर कानूनी सल्लाहकार समेत छैन । अहिले लाखौं, करोडौं काम गरेका हुन्छन् बील पेश गरेका हुन्छन्, ५,६ महिनासम्म बिलको भुक्तानी पाएका हुँदैनन् । नियममा स्वतः बिल पेश गरेको २८ दिनभित्रमा भुक्तानी नदिएमा व्यवसायीलाई सरकारले १० प्रतिशत ब्याज थपेर भुक्तानी तिर्नुपर्छ । यस्ता कानूनी विषयमा तालिम दिएर व्यवसायीलाई दक्ष बनाउने छौं । र कानूनी सल्लाहकारको सहायतामा त्यो काम गर्नेछौं । अर्को प्राविधिक इन्जिनियरहरु हायर गरी कसलाई दक्ष इन्जिनियर आवश्यक छ संघबाट सम्पर्कमा राखी सजिलै भनेको बेलामा उपलब्ध गराइनेछ ।
० तपाइहरुलाई आरोप लाग्ने गरेको छ व्यवसायीहरुको संस्थाहरु पार्टीका भातृ संगठन जस्ता भएका छन् भन्ने छ यो सत्य हो ?
कतिपय संस्थामा त्यस्तो भएको पनि होला तर म हाम्रो यस निर्माण व्यवसायीहरुको संस्था काठमाडौंलाई व्यवसायीहरुको स्वतन्त्र संस्था बनाउन दिनरात खटेको छु । राजनीतिक आस्था विभिन्न पार्टीमा साथीहरुको होला तर व्यवसायमा त्यो राजनीतिकरण हुनुहुँदैन । कुनै राजनीतिक पार्टीमा आस्था राखेकै कारण व्यवसायीहरुमा भेदभाव, मनमुटाव हुनुहुँदैन विगतमा त्यस्ता घटनाहरु पनि भएका छन् । तर मेरो नेतृत्वमा त्यस्तो भेदभाव हुन दिन्न बरु व्यवसायीको नाममा गलत काम गर्ने र एउटाले गर्दा व्यवसायीहरुमा बदनाम हुने गलत काम गर्नेलाई भने छुट दिनुहुँदैन भन्ने प्रतिबद्धता छ ।
० निर्माण व्यवसायी, ठेकेदारहरुले बनाएको पीच २–३ दिनमै भत्किन्छ । तोकेको समयमा काम कहिल्यै पूरा हुँदैन यसको वास्तविकता के हो ?
पहिलो नं. यहाँहरुजस्तै मिडिया साथीहरुले हामीलाई ठेकेदार नभनि दिनुहोला, हामी निर्माण व्यवसायी हौं । हामीले कम्पनी दर्ता गरेर राष्ट्रलाई कर तिरेर कुनै पनि कन्ट्र्याक लिँदा पनि घर, जग्गा, श्रीमतीको सुन धितो राखेर देशको संरचना बनाउने काम गरिराखेका छौं भने देशका युवाहरुलाई आफ्नै देशभित्र रोजगार दिँदै दक्ष पनि बनाइराखेका छौं । हामी यति जिम्मेवारीपूर्वक काम गर्दागर्दै पनि मान्छेहरुले कुरा काटेको सुन्छु ठेकेदारले खायो बाटो खाल्डा खुल्डी भयो भनेर । त्यो एकदुई वटाले कतै गलत पनि गरेका होलान तर सबैले त्यस्तो गरेका छैनन् । अर्को इस्टिमेट बनाउँदा नै दीर्घकालीन हुने गरि बनाउनु प¥यो नी ? म २५–२६ वटा देश पनि घुमेको छु । त्यहाँ बाटो बनाउँदा केके गर्दा रहेछन् भनेर हेरेर आउने गरेको छु त्यहाँ खाल्डाखुल्डी भयो, बाटो बनाउनु प¥यो भने निरन्तर ४–५ दिनसम्म माटो हालेको ठाउँमा मेशिनले थिचेर काम गर्दा रहेछन् त्यो थिचि सकेपछि गुणस्तरीय सामानहरु प्रयोग गरेर दीर्घकालीन बनाउँछन् र बाटो बनाउने ठाउँहरुमा क्याम्पेन राखेर माटो कतैपनि नजानेगरी प्रविधिहरु प्रयोग गर्छन् । हाम्रोमा अहिले काठमाडौंमा धुलो, हिलोले हैरानी छ । यो जथाभावी गरिएको काम हो । अर्को हाम्रोमा गुणस्तरीय गिटी, माटो नै पाइँदैन । सरकराले पिक आवसरमा खानी बन्द गरिदिन्छ । भनेको बेला सामान पाइँदैन । अर्को निर्माण ढिलो भयो भन्ने कुरा छ, निर्माण कार्य भइरहेको क्षेत्रमा अनावश्यक विवाद आइदिन्छ, त्यही विषयलाई लिएर मान्छे अदालत गइदिन्छ, अदालतबाट ‘स्टे अर्डर’ ल्याइदिन्छ अनि काम रोक्नुपर्छ । बल्लबल्ला अदालतले फैसला गर्छ काम शुरु गर्दा ढिला भइसकेको हुन्छ । निर्माण व्यवसायीहरुले कहिल्यै पनि काम ढिलो गर्न चाहेका हुँदैनन् । जति छिटो काम ग¥यो त्यति फाइदा हुन्छ नत्र कन्ट्रयाक लिँदा सस्तो भएको फलामे डण्डी, उपकरण कामदारको ज्याला अर्कोवर्ष बढेर दोब्बर भइसक्छ त्यसकारण व्यवसायीहरु कहिल्यै काम ढिलो गर्न चाहेका हुँदैनन् । परिस्थितिले त्यस्तो बनाइदिन्छ आम नागरिकहरुलाई यस मिडियामार्फत राम्रोसँग बुझेर मात्रै विरोध गरिदिनु होला । अनावश्यक निर्माण कम्पनीलाई गाली नगर्न अनुरोध गर्दछु ।
० निर्माण व्यवसायी महासंघसँग काठमाडौं उपत्यका निर्माण व्यवसायीसँग कस्तो सम्बन्ध छ ?
विगतमा राम्रो थियो म काठमाडौंको महासचिव हुँदा । महासंघमा पेम्बा लामा अध्यक्ष हुनुहुन्थ्यो हाम्रो कुनै समस्या भयो भने मैले पेम्बामार्फत पहल गर्थे सम्बोधन पनि हुन्थ्यो । अहिले वर्तमान काठमाडौंको अध्यक्षले महासंघसँग समन्वय गरेको पाएका छैनौं ।
० तपाइहरुले देश निर्माणको काम गरिरहनु भएको छ, सरकारबाट के कस्तो सहयोग पाउनु भएको छ ?
हामीले सरकारबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा भनेको जसरी पाउनु पर्ने हो त्यसरी पाएका छैनौं । टेण्डरको प्रक्रिया ई–भ्यालुएशन भन्नेहुन्छ त्यो एक महिनामा पूरा गर्ने भन्ने छ तर ५–६ महिना लागेको अवस्था छ । जब पिक आवरमा आएर काम स्वीकृत गरेको हुन्छ त्यो अवस्थामा काम गर्न सक्ने अवस्था हुँदैन । ढिलो स्वीकृत दिनुहुन्छ अनि छिटोछिटो भन्दै दबाब पनि दिनुहुन्छ तर भुक्तानी भने टाइममा दिँदैनन् । त्यसो हुँदा व्यवसायीले ऋण गरेर काम चलाएका हुन्छन् । हामीले ‘क्लेम’ गर्ने भनेको १० प्रतिशत तर यता, ५–६ महिनामा ३६ प्रतिशतले ब्याज तिर्दा व्यवसायीको ढाड सेकिसकेको हुन्छ, यस्तो अवस्था छ । यस्तो अवस्थालाई सहयोग भन्ने कि के भन्ने ? तपाई आफै भन्नुस् । काठमाडौं महानगरपालिकामा त झन जनप्रतिनिधिहरु आएपछि राम्रो हुन्छ भनेको साथीहरुको ५–६ महिनाको अहिलेसम्म भुक्तानी भएको छैन । यति धेरै पैसाको हामीले केही नपाए किन दिने भन्ने सोचाइले गर्दा समस्या भइराखेको छ । दिनहुँ हामी डेलिगेशन गइरहेका छौं । निर्माण व्यवसायी त मान्छे नै होइन जस्तो भएको छ ।
० काठमाडांै उपत्यका निर्माण व्यवसायीहरुलाई तपाइको आग्रह के छ ?
उहाँहरुलाई मेरो अनुरोध छ । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा व्यवसायीहरुको मुद्धा, माग सुन्न सक्ने, बुझ्न सक्ने समस्याको समाधान निकाल्न सक्ने सक्षम नेतृत्व आउनुपर्छ । त्यस्तो सक्षम नेतृत्व छान्नुहोस् र निर्माण व्यवसायीहरुको संयुक्त प्रयासमा संघ चल्न सक्ने वातावरण हामी सबै मिलेर बनाऔं भन्ने मेरो आग्रह छ र मेरो अध्यक्ष समूहलाई विजयी
गराउन पनि अनुरोध गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend