जन आकाश
–इन्दिरा बुढाथोकी, द्वितीय उपाध्यक्ष
रामशरण बुढाथोकी समूह
इन्दिरा बुढाथोकी महिला भएपनि समाजमा राष्ट्र विकासको लागि वा जुनसुकै काम किन नहोस पुरूष जतिकै महिलापनि सक्षम छन् भन्ने उदाहरण पेश गर्न सफल महिला उद्यमी हुनुहुन्छ । रामेछाप जिल्लाको गेलु गा.वि.स. मा नै रहेको शारदा माविमा कक्षा १० सम्म अध्ययन गर्नुभएको छ उहाँले । त्यतिबेला छोरी पढि भने छिट्टै पोइल जान्छन् भन्ने गलत सँस्कार बोकेको समयमा पनि इन्दिराको पढ्ने चाहनालाई कसैले रोक्न सकेन भने उहाँलाई शिक्षा आर्जन गर्न वातावरण भने आफ्नै बुबा शिक्षक भएको हुँदा झनै सहज भएको थियो ।
सानै उमेर देखि हक्की स्वभाव, कर्ममा विश्वास गर्ने, पीडितहरूको सेवा गर्ने र पछि धेरै पैसा कमाएर समाजसेवा गर्ने सानै उमेरको उहाँको सपना रहेछ । त्यो सपनालाई साकार पार्न गाउँमै घरेलु सीप सिकेर जानेको सीप गाउँका दिदी बहिनीहरूलाई सिकाउँदै आउनुभएको इन्दिरालाई गाउँको त्यति बेलाको छोरी बढ्ने वित्तिक्कै विवाह गरिदिनुपर्छ भन्ने चलनलाई भने उहाँले तोड्न सक्नुभएन र त्यसपछि काठमाडौं आई बसोबास गर्ने क्रममा विभिन्न पेसा व्यवसायको अनुभव लिदै आज भन्दा १३ वर्ष अगाडि महिमा विल्डर्स स्थापना गरेर काम गर्दै आउनु भएको छ । साथै आठौं महाधिवेशनमा द्धितिय उपाध्यक्षको प्रत्याशी हुनुहुन्छ । उहाँसँग गरिएको कुराकानीको सारसंक्षेप यसप्रकार छ ।
० तपाईले द्वितिय उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ कस्तो लागिराखेको छ ।
मलाई अत्यन्तै जिम्मेवारी बढ्न गइराखेको महसुस हुदैछ । म महिला पनि हँु, महिलाहरूले जहिले पनि चुलो, चौकामा मात्र सिमित हुन्छन् भन्ने भनाईलाई गलत सावित गर्न मजस्तै थुप्रै महिला दिदी बहिनीहरूले उदारणीय काम गरेर देखाइसक्नु भएको छ भने म पनि १३ वर्ष अगाडिदेखि यस निर्माण व्यवसायी क्षेत्रमा व्यवसाय गरिराखेको छु । अहिले काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको निर्वाचन हुदैछ त्यसमा मैले महत्वपूर्ण द्वितीय उपाध्यक्षमा उम्मेद्ववारी दिएको छु । यस आठौं महाधिवेशनमा प्रतिस्पर्धा गरेर महिलाहरूको लागि साथै निर्माण व्यवसायीहरूको प्रतिनिधित्व गर्न रामशरण बुढाथोकी अध्यक्षको समुहबाट उम्मेदारी दिन पाउँदा खुसी लागेको छ भने निर्वाचनमा सबै व्यसायीहरूले मलाई यो द्धितीय उपाध्यक्षको जिम्मेवारी वहन गर्न अत्याधिक मत दिएर जिताउनु हुन्छ भन्ने विश्वास बढीराखेको छ ।
० तपाई द्वितीय उपाध्यक्षमा जितेर गइसकेपछि काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा आवद्ध विशेष गरेर महिला व्यवसायीहरूको हक हितको लागि के के गर्नुहुन्छ ?
संघको पदाधिकारी भइसकेपछि महिला÷पुरूष भनेर भेदभाव गर्न मिल्दैन । म सबैलाई सम्मान दृष्टिकोण राखेर काम गर्नेछु । तर महिला दिदी बहिनीहरूको हकमा महिला भएकै कारणले कतै हेपिनु भएको छ, कसैले हेप्छन् दुरभाव राखेर व्यवसायीको प्रतिष्ठालाई प्रश्न उठाउँछन् भने त्यतिखेर संघको नीतिमा रहेर मैले महिला दिदी बहिनीहरूको लागि जहाँ गएर जस्तोसुकै जोखिम उठाउन परे पनि यो इन्दिरा तयार रहन्छे भन्ने दिदीबहिनीहरूमा प्रतिवद्धता नै जायर गर्दछु । सँगसँगै आफैले भोगेको पीडाहरूलाई सम्झेर महिलाहरूलाई पनि समेटेर यस क्षेत्रमा पनि महिलाहरूले काम गर्नुपर्छ, महिला सशक्तिकरण गरेर अगाडी बढ्नुपर्छ भन्ने कार्यक्रम ल्याउनेछु ।
० तपाई महिला व्यवसायीका साथै विकास निर्माणका क्षेत्रमा समेत हुनुहुन्छ । काम गर्ने सिलसिलामा कतिको सहजता छ ।
अहिलेसम्म त्यस्तो कुनै कठिनाई त आई लागेको छैन । त्यस्तो सहजै पनि छैन । काम गर्दै जाँदा महिलाहरूलाई अप्ठ्यारै हुने गर्छ । त्यस्ता अप्ठ्याराहरूलाई पन्छाएर जानुपर्छ चुनौतीहरूको सामना गर्नुपर्छ त्यस्ता चुनौतीहरू महिलाहरूले सामना गरेका छन् । म पनि सक्छु भन्ने दृढ विश्वास लिएर अगाडि बढिराखेको छु ।
० निर्माण व्यवसायी संघमा निर्वाचित भएपछि महिला व्यवसायीहरूलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त उहाँहरूलाई काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा स्वागत छ । त्यहाँ पुरूषहरू मात्र होइन संघमा महिलाहरूले पनि प्रतिनिधित्व नेतृत्व गर्न सक्छन् र सक्छौ । त्यसकारण एकदमै हृदयदेखि महिला व्यवसायीहरूलाई संघमा धेरै भन्दा धेरै महिला निर्माण व्यवसायीहरूलाई प्रोत्साहन गर्ने मेरो योजना रहेको छ ।
० निर्माण व्यवसायीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
निर्माण व्यवसायीहरूका विभिन्न खालका समस्याहरू छन् । भुक्तानी समयमा नपाएका कुरा, टेण्डरमा ढिलाइ भएका कुरा, काम जिम्मा लिएका तर स्थानीयको अवरोध, कहिल्य प्रशासनिक समस्या जस्ता समस्या रहेका छन् । ति समस्याहरूलाई समाधान गर्न निर्माण व्यवसायीहरूको एकता आवश्यक पर्छ त्यसैले व्यवसायीहरू एकढिक्का भई काम गर्ने वातावरण बनाउने व्यक्तिहरूलाई मतदान गरेर तपाईहरूले जिताउनुस । म पनि यस पटक द्धितिय उपाध्यक्षमा उठेको छु । मलाई तपाईहरूको एक–एक मत महत्वपूर्ण छ । त्यो तपाईहरूको महत्वपूर्ण मतलाई म सदुपयोग गरेर तपाई हामी मिलेर निर्माण व्यसायी क्षेत्रको विकास संघमार्फत गर्नुपर्छ त्यसैले पुरातनवादी चिन्तनलाई छोडेर नयाँ नेतृत्व नयाँ सोच योजना व्यवसायीका दुखः पीडा बुझ्न सक्ने नेतृत्वलाई जिताऔं भन्ने आग्रह गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend