logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वदेशी कम्पनीहरुनै राष्ट्र निर्माण गर्न सक्षम छन्


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

विष्णुभाइ श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघ
निर्माण व्यवसायी महासंघ देशको विकास निर्माणमा महत्वपूर्ण योगदान गर्ने १७ हजारभन्दा बढी निर्माण व्यवसायीहरुको नेतृत्व गर्ने संस्था हो । यही संस्थाको १९औं साधारणसभा यही आउँदो भदौ १७ गते हुन गइरहेको छ । त्यस साधारणसभाले निर्णय गरेपछि अधिवेशन हुनेछ । त्यस अधिवेशनबाट सर्वसहमत अध्यक्ष चुन्ने अवसर रहेछ । सर्वसहमतिबाट अध्यक्ष चयन गर्न नसकेमा विधानको नियमअनुसार अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिस्पर्धा हुनेछ । त्यो १९ औं साधारणसभा नजिकिँदै गइरहेको बेलामा यतिबेला सर्वसहमतिबाट नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठको नाम यतिबेला निक्कै चर्चामा रहेको छ । उहाँसँग जन आकाश राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादकले यस अवसरमा उहाँसँग गर्नुभएको कुराकानीको सारसंक्षेप ।
० नेपाल निर्माण व्यवसायी महासंघको १९औं साधारणसभा हुन गइरहेको छ । तपाइ महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतबाट के के तयारी गर्दै हुनुहुन्छ र महासंघले के गर्दैछ ?
नेपाल निर्माण व्यवसायी महासंघले १९औं साधारणसभालाई सफल बनाउनको लागि ब्यापक तयारी गरिराखेका छौं । विगतमा महासंघको साधारणसभा उपत्यका बाहिर गर्दै आएका थियौं यसपटक काठमाडौंमा नै गर्ने भएका छौं त्यसकालागि सोल्टी होटलमा व्यवस्थित, सभ्य, भव्य, व्यवसायीहरुको एकतालाई आभाष पुग्नेगरी, विभिन्न खालका आवश्यक बन्दोबस्तीहरु तयार गरिसकेका छौं महासंघका अध्यक्षलगायत मेरो पनि कुरा गर्नुभयो तपाइले मेरो पदीय जिम्मेवारी अनुसार कुनै पनि कसर बाँकी नराखिकन व्यवस्थापन गर्न साथीहरुलाई खटाइसकेका छु । साथीहरु निरन्तर खटिराख्नु भएको छ । यसरी हामी साधारणसभा सम्पन्न गर्दैछौं ।
० तपाई वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ तपाइलाई सर्वसहमतिबाट अध्यक्षमा चयन गर्ने चर्चा व्यापक छ । वास्तविकता के हो ?
हो वास्तावमा मैले निर्माण व्यवसायी क्षेत्रमा साधारण सदस्यदेखि शुरु गरेर २ पटक एसोसिएटको सदस्य त्यसपछि एसोशियटको उपाध्यक्ष भएर अहिले महासंघको वरिष्ठ उपाध्यक्ष भएको छु । वरिष्ठउपाध्यक्ष भनेको अध्यक्ष पछिको जिम्मेवारी पद हो । हरेक संस्थाहरुमा वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्षमा बढुवा गर्ने चलनचल्ती रही आएको छ । म चाहन्छु यो व्यवस्था हाम्रो महासंघभित्र पनि रहोस् ताकी यो पोलिटिकल सिष्टम नभइकन स्वतन्त्र व्यवसायीहरुको साझा संस्था सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने संस्था भएकोले राजनीतिक परिपाटीमा नगइकन पद्धतिबाट जाँदा वरिष्ठ उपाध्यक्षले लामो समय महासंघको नेतृत्व गरेको अनुभव हुन्छ । त्यो अनुभव र क्षमताको आधारमा वरिष्ठ उपाध्यक्ष, अध्यक्षमा पुगेर महासंघलाई हाँक्न सक्छ भनेर नै साथीहरुले मेरो चर्चा गर्नुभएको हो जस्तो मलाई लाग्छ । त्यो स्वभाविक पनि हो । मैले झण्डै तीनदशक भन्दा बढी निर्माण व्यवसायी क्षेत्रमा पु¥याएको योगदान देखेर पनि साथीहरुले मेरो नाम लिनुभएको होला मलाई पनि भेटघाटका क्रममा तपाइको नेतृत्व महासंघमा आवश्यक छ भन्ने गर्नुभएको छ । यही वास्तविकता हो ।
० यो निर्माण व्यवसायी महासंघ स्वतन्त्र निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्न भनेर स्थापना भएको संस्था हो । यसभित्र दलीय भागवण्डाको राजनीतिकरण कत्तिको छ ?
म अरु व्याख्यातिर जाँदिन हामी राजनीतिक भागवण्डालाई न्यूनीकरणतिर लान्छौं । राजनीतिक प्रभाव, भागवण्डा व्यवसायिक साझा संस्थाभित्र पर्नुहुँदैन । यस्तो गरिमा बोकेका स्वतन्त्र व्यवसायिक संस्थाभित्र राजनीतिक प्रभाव र दबाब प¥यो भने विभिन्न राजनीतिक पार्टीहरुलाई रिझाउनु पर्ने हुन्छ । उनीहरुलाई खुसी बनाएर चुनाव लड्नु पर्ने हुन्छ । त्यसो गर्दा स्वतन्त्र व्यवसायीहरुको अधिकार सुनिश्चित हुन सक्दैन त्यहाँ विभिन्न खालका अमर्यादित चलखेल हुन्छन् हामी त्यस्तो चलखेल हुन दिँदैनौ र स्वतन्त्र व्यवसायीका हकहितको पक्षमा भयरहित वातावरण बनाएर नेपाल निर्माण व्यवसायी महासंघ अगाडी बढाउँछौं । यसै मिडियामार्फत पनि सबै व्यवसायीहरुलाई मेरो अनुरोध छ । महासंघलाई सबल, सक्षम, व्यवसायीलाई मर्यादित, दक्ष बनाउनु दलप्रतिको आस्था आआफ्नै होलान् त्यो आस्था महासंघ भित्र हुनुहुँदैन र महासंघलाचई निर्माण व्यवसायीहरुको साझा आस्थाको धरोहर बनाऔं भन्ने मेरो आग्रह छ ।
० काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको निर्वाचन सम्पन्न भइसकेको छ । तपाइलाई कतिको आशा जगाएको छ ?
एकदमै राम्रो आशा जगाएको छ । म उत्साहित छु । जित्नेहरुलाई बधाई तथा हार्नेहरु पनि व्यवसायीहरु नै हुन हार्दिकता व्यक्त गर्छु । जित्ने टिमले सबैलाई मिलाएर लैजान्छ भन्ने मलाई विश्वास छ । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघमा पुरानै अनुभवी व्यक्तित्वहरु आएका छन् पुराना व्यक्तिहरु धेरै परेका छन् भने नयाँ अनुहार व्यवसायीहरु पनि उत्साह जोसजाँगर बोकेर संघमा विजयी भएका छन्, उनीहरुबाट निर्माण व्यवसायीहरुले आशा गरेका छन् उनीहरुले पनि व्यवसायीको काम गर्छन् मलाई पनि सहयोग गर्छन् म पनि मेरो क्षेत्र महासंघबाट सकेको सहयोग गर्छु ।,
० निर्माण व्यवसायी महासंघको स्थापना भएपछि नेपालका ठुला प्रोजेक्टहरु नेपाली निर्माण कम्पनीहरुले नै बनाउन सक्छन् भन्ने उदाहरण पेश गरिसकेका छन् तर ठुला योजनाहरु विदेशीलाई दिइन्छ तपाइको राय के छ ?
यो अत्यन्तै राम्रो कुरा उठाउनुभयो जो मान्छे जुन देशमा जन्म्यो त्यहीको हावापानी माटोसँग लडीबुढी खेलेर हुुक्र्यो बढ्यो त्यो मानिसलाई त्यो देशको माया कति होला । तपाई आफै कल्पना गर्नुस् । हामी निर्माण व्यवसायीले संस्थागत रुपमा काम गर्न थालेपछि अहिले हामी धेरै सक्षम भइसकेका छौं । तर विदेशी कम्पनीलाई अहिले पनि काम जिम्मा दिइन्छ ती विदेशी कम्पनीलाई अर्काको देशको के माया हेर्नुस् राहुघाट जलविद्युत आयोजना, चिलिमे, डढेलधुरा, मेलम्ची, तिनले ठेक्का ओगटेर कमिशन लाने हुन् काम त नेपालीले नगरेसम्म हुँदैन । म यो भन्न चाहन्छु कि विदेशी निर्माण व्यवसायीहरुको ठाउँमा स्वदेशी कम्पनीहरुलाई नै काम दिनुपर्छ स्वदेशी निर्माण कम्पनीहरुलाई प्रोत्साहन दिइओस्, सीप स्वदेशी कम्पनीहरुलाई सिकाइओस् त्यस्तो भयो भने नेपालबाट विदेशिने रकम नेपालमा नै रहन्छ स्वदेशी कम्पनी स्वदेशी कामदार लाभान्वित हुन्छन् । नेपाली कम्पनी, नेपालका कामदारहरुको गुणस्तर दक्षता, क्षमतामा बृद्धि हुन्छ र नेपाली कम्पनीले पनि प्रतिष्ठा आर्जन नगरी विदेशमा समेत निर्माणका कामहरु गरेर नेपालमा धनराशी भित्र्याउन सक्छन् भन्ने हाम्रो बुझाई रहेको छ ।
० तपाइले उदाहरण पनि दिनुभयो अहिले नेपालमा बनिरहेका राहुघाट, त्रिशुली थ्री, चिलिमे, कुलेखानी तेश्रो, मेलम्ची खानेपानी आयोजना यो समयमा नबन्नुको कारण के होला ? सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ ?
अघि मैले माथि पनि भने विदेशीले काम जिम्मा लिन्छ कमिशन राख्छ, नेपाली कम्पनीलाई नै काम लगाउँछ यही तालमेल मिल्दैन अर्को उनीहरुको देशको वातावरण र हाम्रो देशको भौगोलिक अवस्था फरक हुन्छ त्यहाँ पनि समस्या हुन्छ । त्यसकारण सम्बन्धित निकायलाई म के भन्न चाहन्छु भने सम्पूर्ण कामहरु छिटो राम्रो भरपर्दो गर्नु छ भने स्वदेशी कम्पनीलाई नै दिनुपर्छ हामी हाम्रो देशको विकाश निर्माण गर्न सक्षम छौं ।
० हामी फेरी फर्कौ महाधिवेशनमा तपाइलाई अध्यक्ष बनाउने विषयमा कार्य समितिका साथीहरुको भनाई के आएको छ ?
सकारात्मक छन् कार्य समितिहरु उहाँहरुको भनाई मलाई भने अनुसार महासंघमा अनुभवी नेतृत्व चाहिन्छ वरिष्ठलाई अध्यक्ष बनाउने वरिष्ठले तलदेखि माथिसम्म अनुभव बटुलेर आउने सिष्टम बनाउने भन्ने कुरा आएको छ । यति ठुलो महासंघमा एक दुईजनाले चलखेल गरेको हुनसक्छ । त्यसलाई म ठूलो ठान्दिन यस्तो चलखेल नहोस् भन्नाका लागि वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा बढुवा गरियोस् र आउँदो कार्य समितिलाई समेत सिष्टम सजिलो होस् भन्ने मेरो प्रस्ताव छ ।
० तपाइको चाहना सिष्टम बनाउने भन्ने रह्यो तर त्यो भएन भने ?
त्यो भएन भने लोकतान्त्रिक पद्धति अनुसार संघको प्रतिष्ठाको लागि १७ हजार निर्माण व्यवसायीहरुको हकहितको लागि अध्यक्षको प्रत्यासीमा म प्रवेश गर्छु । महासंघमा मेरो सक्षम नेतृत्व हेर्न व्यवसायीहरु मलाई स्वागत गर्न बसिराख्नुभएको छ भन्ने विश्वास लागिरहेको छ । उहाँहरुको विश्वासको मत लिएर महासंघको नेतृत्व गर्न सबैको साथ हौसला सल्लाहमा अध्यक्षको जिम्मेवारीको हैसियतमा निर्वाचित हुनेछु भन्ने लाग्छ । साथै देशभरीका व्यवसायीहरुले माया गरेका छन् तपाई आउनुपर्छ भन्नुभएको छ यो महत्वपूर्ण आधार हो ।
० तपाइ केही महिना अगाडीदेखि देशव्यापी रुपमा व्यवसायीसँग भेटघाटमा हुनुहुन्छ तपाइको भेटघाटको उद्देश्य के हो ?
मेरो उद्देश्य भनेको व्यवसायीका समस्या के छन् निर्माण व्यवसायी जिल्ला संघहरुको अवस्था कस्तो छ । समस्याका समाधान गर्ने उपायहरु के–के हुनसक्छन् । सरकारी तर्फबाट कस्तो समस्या छ । आफ्नो निर्माण तर्फबाट कस्तो समस्या छ यो समग्र विषयलाई मैले बेला–बेलामा जिल्लाहरुमा गएर काम गर्ने गरेको छु । त्यसैमध्ये अहिले पनि व्यवसायीका समस्या कै विषयमा भेटघाट गरेको छु र यो साधारणसभा लाई भव्य र सभ्य बनाउनको लागि पनि मेरो अभियान हो । मैले उहाँहरुको समस्या, अवस्था बुझिसकेको छु । उहाँहरुको समस्या म निराकरण गर्न लाग्छु, लागिरहनेछु ।
० यति ठुला जलविद्युत आयोजना, पुल, बाटो, भवन नेपालका निर्माण व्यवसायीले बनाएर सक्षमता देखाई सकेका छन् । यो अवस्थामा सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ ?
म सम्बन्धित निकाय भन्दा पनि नेपाल सरकारलाई नै भन्न चाहन्छु । नेपाली व्यवसायीलाई पत्याउनु प¥यो । नेपाली व्यवसायीलाई काम दिनुप¥यो अहलिे नेपाली व्यवसायीले चाहिने जति धेरैभन्दा धेरै इक्युपमेन्ट, मेनपावरहरु पनि प्रशस्त मात्रामा लिइसकेको छ । हामीसँग २ लाखदेखि ३ लाखसम्म बार्षिक तलब खाने इन्जिनियरहरु समेत हुनुहुन्छ यस्तो दक्ष जनशक्ति छ । एउटा कन्ट्रयाक्टरले ५०औं भन्दा बढी हेभी इक्युपमेन्ट खरिद गरेर आफ्नो निर्माण बृद्धि गर्न सक्ने क्षमता बढाएका छन् । यसबाट के देखिन्छ भने नेपाल सरकराले यहिँका स्वदेशी निर्माण व्यवसायीलाई पत्याएर नेपालको निर्माण विकासमा सरकारले काम दिनुपर्छ त्यसपछि नयाँ नेपाल निर्माण, समृद्ध नेपाल निर्माण व्यवसायीमार्फत गर्न सक्छौं तर, सरकारले वातावरण बनाएर निर्माण व्यवसायीलाई विश्वास गर्नुपर्छ ।
० झण्डै १७ हजार निर्माण व्यवसायी छन् ती निर्माण व्यवसायीहरुलाई यो अवसरमा के भन्न चाहनुहुन्छ ?
म १७ हजार व्यवसायीहरुलाई यस्तो सन्देश दिन चाहन्छु । तपाइहरु क्षमता अभिवद्धि गर्नुस् तपाइले हरेक निर्माण क्वालिटीमा बनाउनुस् लो विट नगर्नुस् दुई पैसा कमाउनुपर्छ राम्रो काम गर्नु होस राम्रो रेट लिनुस र समाजमा, देशमा एउटा म्यासेज दिनुस्की नेपालका निर्माण व्यवसायीहरु अबको पूराना रहेनन् नयाँ टेक्नोलोजीबाट राम्रो काम गर्छन् समाजको देशको विकास गर्छन् भन्ने विश्वास बनाउने काम हामीले गर्नुपर्छ देशलाई निर्माण व्यवसायीहरुले नै समृद्ध बनाओस् भन्ने म सन्देश दिन्छु ।
० पूराना व्यवस्थाको कुरा ग¥यौं यो १७ हजारभित्र अहिले विषयगत अध्ययन गरेर नयाँ पुस्ता इन्जिनियरहरु पनि निर्माण क्षेत्रमा आएका छन् उहाँहरुलाई के भन्नु हुन्छ ?
पहिला नेपालमा इन्जिनियर कम थिए पहिला–पहिला त भारतबाट आएका थिए नेपालमा अहिले धेरै इन्जिनियर उत्पादन भइसकेका छन्, व्यवसायमा पनि छन् ती इन्जिनियरहरुलाई सरकारी जागीर खाने भनेरमात्र बस्ने होइन प्राइभेट कम्पनीहरुमा पनि अवसर छ भन्ने ज्ञान राख्नुपर्छ । अर्काको मुलुकमा काम गर्न जाने पनि होइन मेरो सन्देश के छ भने आफ्नो मुलुकमा निर्माण व्यवसायको फर्म खोलेर अगाडी बढेर नयाँ योजना नयाँ टेक्नोलोजी प्रयोग गरेर राष्ट्र निर्माण गर्न जुट्नुपर्छ भन्ने रहेको छ । युवापुस्ताले विस्तारै त्यो आशा जगाउँदै पनि लगेका छन् ।
अन्तमाः तपाइलाई धन्यवाद सबै निर्माण व्यवसायीलाई क्षमता अभिवृद्धि गरी आओस् भन्ने शुभकामना दिन चाहन्छु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend