जन आकाश
नेपालमा गणतन्त्र स्थापना भइसकेको छ । त्यही गणतन्त्रको अभ्यासमा अहिले स्थानीय तेस्रो चरणको निर्वाचन हुँदैछ । त्यसमध्ये औद्योगिक नगरी वीरगञ्जको मेयरमा एकसय एक व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये पनि स्थानीय निर्वाचनमा सबैभन्दा बढी सिट जित्ने पार्टी एमालेबाट वीरगञ्जको मेयरमा बशरुद्दिन अन्सारी यो अवधिमा वीरगञ्जबासीको माझमा निक्कै लोकप्रिय भइराख्नुभएको छ । उहाँ कसरी लोकप्रिय हुनुभयो त भन्ने उत्तर उहाँबाट नै जानौं ।
० तपाइ देशको स्थानीय निर्वाचनमा सबैभन्दा बढी सिट जितेको पार्टी एमालेबाट महानगरको मेयरमा मनोनयन दर्ता गर्नुभएको छ ? तपाइले चुनाव जित्ने आधार के छ ?
म वीरगञ्जको भूमिपूत्र हुँ मेरो बाउ, बाजे सबैले यो वीरगञ्जमा पसिना बगाए, खेत खने, किसानी गरे यो समाज र वीरगञ्जका मानिसहरुका लागि दुःख सुखमा हामीले सहयोग गर्दै आएका छौं । त्यो सहयोग पाउनु भएका हाम्रो गाउँघरका दाजुभाई, दिदी बहिनी को पहाड, को मधेसी सबै नेपाली मिलर एक अर्कालाई हामी सद्भावपूर्ण काम गरिराखेका छौं । त्यसकारण मलाई उहाँहरुले विगतदेखी नै मलाई माया गर्नु भएको छ । त्यही वीरगञ्जवासीहरुको माया, भरोस, विश्वास पाएको देखेर नै नेकपा एमालेले मलाई मेयर जस्तो महत्वपूर्ण पदमा विश्वास गरेको हो । यसमा स्थानीयस्तरमा वीरगञ्जमा मेरो जन समर्थन र पार्टीको नीति, विचार साथै योजना स्थानीय जनताको घरदैलो देखी सरकार संचालनसम्म पुग्ने नीतिलाई जनताले यो भन्दा अगाडीका पहिलो, दोस्रो निर्वाचनमा जनताले गरेको विश्वास अहिले भइराखेको २ नं. प्रदेशमा पनि कायम रहन्छ । र वीरगञ्जमा त हामी अत्याधिक सबै गाउँपालिका, वडा महानगरपालिका जित्छौं भन्ने आधार जनताको माया हो त्यो माया एमाले पार्टी र मैले पाएको छु । यिनै आधार हुन् ।
० जनताको माया अथाहा पाउनुभएको रहेछ वीरगञ्जलाई विकास गर्ने योजनाहरु के के बनाउनु भएको छ ?
वीरगञ्ज औद्योगिक नगरी हो । यहाँ धेरै उद्योगहरु छन् । ती उद्योगहरु बर्षौदेखि बन्द छन् । त्यसमध्ये कुनै बेला विदेशमा समेत निर्यात गर्न सक्ने क्षमताको वीरगञ्ज चिनी उद्योग बन्द अवस्थामा छ । कति दुःख लाग्दो छ । चाडवाड आउँदा विदेशबाट चिनी आयात गर्नुपर्छ यो त एउटा उदाहरणमात्र दिएको मैले यहाँ सयौं उद्योगहरु यसैगरी बन्द अवस्थामा छन् ती उद्योग संचालन गर्न पहिलो योजना रहेको छ । त्यसमा उद्योग मालिक र मजदुरबीचको सम्बन्ध सुधार्न स्थानीय युवाहरुलाई रोजगार सृजना गरी उद्योगमैत्री वातावरण त्यो सुरक्षा र लगानीको ग्यारेण्टी वीरगञ्ज महानगरले गर्नेछ । अर्को वीरगञ्जको आफ्नो अथाहा जमिन भइकन पनि चेतनाको अभावका कारण फोहोर, मैला पोखरीमा फालेर कुरुप बनाएका छन् ती पोखरीहरुलाई अझै व्यवस्थित र विस्तार गरेर सफा हराभर सुन्दर पोखरीहरु निर्माण गरी बालबालिका, बृद्ध साथै वीरगञ्ज आउने पर्यटकहरुको लागि समेत आकर्षणको केन्द्रविन्दू वीरगञ्ज बनाउने योजना रहेको छ । त्यसमा कुनै मेयरमा जित्ने वित्तिकै आपतकालीन योजना जस्तो पानी पर्दा हिलो, घाम लाग्दा धुलो भई सडकमा शहरको समस्या रहेको छ । त्यो समस्यालाई तत्कालै इमरजेन्सी उपाय लगाएर समाधान गर्ने, दोश्रो योजना निश्चित समयभित्र स्मार्ट सिटी निर्माण गरेर जनतालाई वितरण गर्ने, म अहिले पनि हेल्थ सम्बन्धी नेपाल नेशनल मेडिकल कलेजबाट यहाँका जनतालाई भरपर्दो सेवा दिइराखेको छु । मैले जित्ने वित्तिकै बृद्धाहरुलाई मेरो अस्पतालमा वा अरु अस्पतालमा उपचार गराए पनि त्यो निःशुल्क स्वास्थ्य सेवा दिनेछु । बृद्धबृद्धाहरुको लागि महानगरको पैसाबाट होइन बसुरदिन अन्सारीको व्यक्तिगत लगानीमा वीरगञ्जका सवै वडाहरुमा बृद्धाश्रम बनाउने छु । हाम्रै एमाले पार्टीको ९ महिने कार्यकालमा जसरी यो देशमा बृद्धाहरुले सुविधा पाएका छन् । हाम्रो महानगरपालिकामा २ हजारको ठाउँमा हामी डब्बल बनाएर वा त्यो भन्दा बढी बृद्धबृद्धाहरुलाई बृद्धाभत्ता दिनेछौं । सार्वजनिक शौचालय बनाउँछौं । वीरगञ्जलाई चक्रपथको आवश्यकता छ । चक्रपथको दीर्घकालीन योजनामा राखेका छौं । अब केही समयमा नै प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यसमा एमालेले सबैभन्दा धेरै सिट जितेर सरकार चलाउँछ त्यसकारण यी कामहरु गर्न हामी सक्षम छौं जनता नेकपा एमालेले जनप्रतिनिधित्व गरेको हेर्न भोट हाल्न आतुर छन् । ती जनताको अमूल्य भोटलाई हामी वीरगञ्जको विकासमा लाने योजना बनाएका छौं । मानिसहरुमा नभई नहुने रोटी, कपडा, मसला, (गाँस, बास, कपास) स्वास्थ्य, शिक्षा, रोजगार यो महत्वपूर्ण कुरालाई तुरुन्तै कार्यान्वयनमा ल्याउने छौं । सफा शहर वीरगञ्जवासीको रहर हाम्रो योजनामा छ ।
० एमाले पार्टीलाई तराइमा कसै कसैले मधेश विरोधी भनेर कुनै बेला आरोप लगाए तर १ नं. प्रदेशमा एमाले नै बढी सीट जित्यो यहाँ वीरगञ्जमा बसुरदिनको कार्यक्रममा पनि उल्लेखनीय जनता देखिन्छ कुरा के हो ?
कुरा प्रष्ट छ । जनताले एमाले पार्टीलाई विश्वास गरेका छन् । जनताको आधा र भरोसाको पार्टी नै एमाले हो । त्यसकारण कुनै कुनै पार्टीका केही त्यस्ता राजनीतिक नबुझेकाहरुले लोकतन्त्र के हो भन्ने नबुझेकाहरुले गरेको कुरा हो । एमालेलाई बदनाम गराउने नियतले तर मधेशका वास्तविक जनताले अझै भन्ने हो भने वीरगञ्जमा त वीरगञ्जबासीहरुले एमाले पार्टी भन्दा अरु पार्टी नै रोज्दैनन् । किनभने काँग्रेसले धेरै पटक यहाँ सभासद् जित्यो । केही पनि काम गरेन अन्य तराइवादी भन्नेहरु तपाइहरुले देखि राख्नुभएको छ । हिजो भर्खरै एउटा पार्टीमा भएको मान्छे अर्को पार्टीबाट चुनाव लड्दै छ । जनताले कसरी विश्वास गरुन । कुरा प्रष्ट छ एमाले पार्टीले जे योजनाहरु ल्याउँछ त्यो गर्छ भन्ने जनतामा विश्वास छ । जसरी पार्टीको चिन्ह एमालेको सूर्य हो । त्यस्तै बसुरदिनको अटल विश्वास जनता हो जनताको अधिकार प्राप्त गर्नलाई सूर्य चिन्ह नै जनताको लागि चिन्ह हो । त्यही भएर झापा, मोरङ्ग, सुनसरी लगायत जिल्लामा एमालेले सबैभन्दा स्थानीय तहको जनप्रतिनिधि जितेर मधेशविरोधी भनेर आरोप लगाउनेहरुलाई जनताले एमालेलाई भोट हालेर जवाफ दिइसकेका छन् । वीरगञ्जवासी पनि एमालेलाई भोट हालेर जवाफ दिन तयार भएर बसेका छन् । जनताहरुले मलाई उत्साह थपी रहनुभएको छ । टोलटोलबाट वडावडाबाट स्वस्फूर्त वीरगञ्ज महानगरमा बसुरदिन जस्तो अशल व्यवस्थापन महानगरमा आउनुपर्छ उहाँहरुले एउटा राम्रो इन्टरनेशनलस्तरको कलेज व्यवस्थापन गर्न सक्ने र व्यवस्थापन सम्बन्धी एमए पढेको वीरगञ्जको अहिलेको मेयरमा बसुरदिन मात्रै हो । अरुले त्यो विषय पढेका छैनन् भन्ने जनताको प्रष्ट धारणा आएको छ । हेर्नुहोला २ नं. प्रदेशमा पनि एमाले पार्टी अग्रस्थानमा निर्वाचनमा जित्दैछ । तिनीहरुले भन्दैमा एमालेलाई मधेश विरोधी लेख्दैमा एउटा पोष्टर टास्दैमा एमालेलाई केही फरक पर्दैन । वास्तविक त्यस्तो छैन । यहाँ कसैले एमालेलाई हटाउने त सपना नदेखे पनि हुन्छ । यहाँका जनताले एमाले रोजिसकेका छन् हामीसँग प्रतिस्पर्धा गर्न सक्ने कुनै पार्टी नै छैन, म त देख्दिन । त्यसकारण हामीले स्पष्ट बहुमत ल्याएर जित्ने कुरामा ढुक्क छौ ।
० तपाइले बृहत्तर २ नं. प्रदेशको समेत अवधारणा ल्याउनुभयो त्यसमा कुन खालको मोडल दिन खोज्दै हुुनुहुन्छ ?
निश्चित रुपमा उता हाम्रो निजगढ, जनकपुर, पर्सालगायत नगरपालिकाहरुमा एमालेले जित्दै छ । त्यो भएपछि हामीले बृहत्तर २ नं. प्रदेशका विकास गर्न सजिलो छ । हाम्रो वीरगञ्जमा नै वल्र्ड अफ गिनिजबुक रेकर्ड भएको गढीमाई मन्दिर छ । यसलाई पर्यटकीय रुपमा विकास गर्ने, पर्सा राष्ट्रिय निकुञ्ज छ त्यहाँ पनि पर्यटकीय जोनको रुपमा विकास गर्ने र उद्योगहरुलाई कम प्रदुषण गराउन मापदण्ड अनुसार व्यवस्थित गराउने, सिचाइको व्यवस्थापन गरेर १२ महिना खेती उत्पादन गराउन ठूला सिचाई आयोजनाहरु निर्माण गर्ने । सिचाई बनाउँदा विद्युत पनि निकाल्ने गरी डिजाइन गर्ने र उद्योगहरुलाई त्यही विजुली सस्तोमा बेच्ने, हाम्रो तराइमा जहिले पनि बाढीको समस्या आएको छ । त्यसलाई तटबन्धनहरु निर्माण गर्ने र नदीहरुमा थुप्रिन गएको बालुवा माटो नापेर समय समयमा नापेर बाहिर निकाल्ने यस्ता थुप्रै सम्भावनाहरु मैले देखेको छु । यसमा सप्तरीदेखि महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा एक अर्को जिल्ला नगरपालिकाभित्र रहेका उत्पादित बस्तु आदान प्रदान गरेर बृहत्तर विकसित २ नं. प्रदेशको विकास गर्ने योजना समेत हामीले छलफलमा राखेका छौं । साथै यही वीरगञ्ज भन्सार कार्यालय छ, यसबाट उठ्ने रकम स्थानीय तहमा व्यवस्थित ढंगबाट परिचालन गरी धेरैभन्दा धेरे स्थानीयलाई रोजगारी आत्मनिर्भर बढाउने गरी कार्यक्रम अगाडी बढाउने छौं ।
० वीरगञ्जलगायत २ नं. प्रदेश छिमेकी राष्ट्र भारतसँग जोडिएको छ । भारतसँगको सम्बन्ध कस्तो रहनेछ ?
नेपाल र भारतको खुल्ला सीमाना छ । यहाँ रोटीबेटीको पनि सम्बन्ध छ । तर यो होइन कि रोटी बेटीको सम्बन्ध छ भन्दैमा हामीले आफ्नो राष्ट्रियता विर्सनु हुँदैन । हामी तराइमा बस्ने कुनै पनि नेपालीले हाम्रो देश नेपाल कहिल्यै कसैबाट हेपिएको, चेपिएको हेर्न सक्दैनौ यो माटोको माया जति अरु नेपालीहरुलाई छ त्यति नै २ नं. प्रदेशका जनतालाई पनि माया छ । त्यसकारण मानवीय हितमा आधारित अन्तराष्ट्रिय कानूनमा आधारित मूल्य मान्यतामा रहेर साथै व्यवहारिक पक्षलाई समेत जोडेर हामी छिमेकी राष्ट्र भारतसँग सम्बन्ध राख्नेछौं ।
० युवाहरु धेरै विदेश गएका छन् उनीहरुको लागि विशेष योजना के छ ?
मैले माथि पनि भने युवाहरुलाई व्यवस्थापन गर्न, वीरञ्जमा रहेका सबै उद्योगहरुलाई सुरक्षा दिएर लगानीको ग्यारेन्टी गरेर पूर्ण क्षमतामा सञ्चालन गराउने छौं । त्यो पूर्ण क्षमतामा उद्योगहरु सञ्चालन भएपछि वीरगञ्जका सबै युवाहरुलाई श्रमको उचित तलबमा काम गर्नेछन् भने अर्कोतर्फ आधुनिक खेतीको विकास गर्न सिचाइको व्यवस्था गरेर यही वीरगञ्जमा नै रहेको मल कारखानालाई आधुनिकीकरण गरेर धेरैभन्दा धेरै युवाहरुलाई रोजगार सृजना गर्न सकिन्छ भन्ने निष्कर्ष सहित हामीले योजना बनाएका छौं । युवा मात्र होइन महिलाहरुकालागि विहान बेलुका खाना पकाउने र बच्चा स्कुल पु¥याउने त्यसपछि कुनै काम नहुने महिलाहरुकालागि लक्षित गरेर योजनाहरु बनाएका छौं ।
० अन्तमा के भन्न चाहनुहुन्छ ?
म सबै बीरगञ्जबासीहरुमा अनुरोध आग्रह गर्दछु । यो तेस्रो स्थानीय निर्वाचन शान्तिपुर्ण, जनताले चाहेको, रोजेको मतले खाएको, वीरगञ्जबासीको विकास चाहने म बशुरदिन अन्सारी एमाले पार्टीबाट वीरगञ्जको मेयरमा उठेको छु । म लगायत एमाले पार्टीका उपमेयर तथा वडा अध्यक्ष, सदस्य सबैलाई अमूल्य भोट हालिदिनु हुन बिनम्र अनुरोध छ । साथै मेरो भनाई यस पत्रिकमा राख्ने मौका दिनु भएकोमा तपाइहरुको टिमलाई धन्यवाद ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend