जन आकाश
पूर्व सहायकरथी तेजप्रकाश बानिया
गत माघ २० गते आधुनिक साहित्य परिषद् काठमाडौंले होटेल रोज गार्डेनमा भब्य समारोह आयोजना ग¥यो । सभापति संस्थाका अध्यक्ष मुरलीप्रसाद ढकाल तथा प्रमुख अतिथि डा. घनश्याम परिश्रमी र विशिष्ट अतिथिमा नेपाली र संस्कृत वाङ्मयका विद्वान तिलकप्रसाद लुइटेल रहनुभएको उक्त समारोहमा डा घनश्याम परिश्रमीद्वारा विमोचित साहित्यकार पूर्णबहादुर थापा को उपन्यास अरबकी अप्सरा पढ्ने मौका पाएँ । खुशी लाग्यो । पुस्तकमा विषय प्रसङ्ग मिलाएर तीन सय असीको हाराहारीमा उखान टुक्काको प्रयोग गरिएको छ । वास्तवमा भन्ने हो भने यसलाई उखान टुक्काको वाक्यमा प्रयोग भने पनि अत्युक्ति नहोला ।
गौरी पब्लिक रिलेसन एन पब्लिकेशनले बजार ल्याएको यो पुस्तक निकै आकर्षक छ । आवरणको अग्रपृष्टमा आधुनिक सुन्दरीको पछाडि फर्किएको फोटो तथा पृष्ठ पृष्टमा फोटो सहित लेखकको चिनारी देख्दै मनमोहक अरबका गगनचुम्बी महलहरु र आकाशमा उडिरहेको प्लेनको दृष्यले अझै सौन्दर्य थपिएको छ । विद्वान तिलकप्रसाद लुइटेलले व्यक्त गर्नुभएको मन्तव्य सहित उपन्यासको सफलताको कामना र विषयवस्तुको सारले पुस्तकको उचाई बढेको छ । लेखकले आफ्नो भनाई शीर्षकमा उपन्यास तयार गर्न प्रत्यक्ष र परोक्ष सहयोग गर्ने विशेष व्यक्तिहरूलाई प्रदान गर्नुभएको धन्यवादले शोभा बढाएको छ ।
मन्तव्यकै क्रममा प्रकाशक गौरी पब्लिकका अध्यक्ष दामोदर ढकालले प्रकाशकीय शीर्षकमा उपन्यासको अन्र्तवस्तु र उपादेयता प्रकाश पार्दै वैदेशिक रोजगारीमा गई सङ्घर्ष गर्नेहरुको कृति पनि अध्ययन गर्ने बानी बसाल्नुपर्छ भन्दै उपन्यास प्रकाशन गर्ने जिम्मेवारी पाएकोमा कृतज्ञता व्यक्त गर्नुभएको छ ।
उपन्यासमा लेखकले केही वर्ष यता देखि युवा शक्ति प्रति बढ्दै गएको आर्थिक समृद्धिको चाहना र चाहना परिपूर्तिका लागि देश विकास निशेष भएपनि वैदेशिक रोजगारीलाई विशेष बनाएको कथा ब्यथालाई पस्कनुभएको छ । मुख्य पात्र शिवराम र अप्सरा मार्फत विकासका अनेकौँ उपलब्धि हासिल गरेका देशहरूसँग बेला बखत नेपालको तुलना गराएर हेर्दा हरेक पक्षमा पिछडिएको पाउँनु भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले गर्दा नेपालको अर्थतन्त्रको नामै रेमिट्यान्स अर्थतन्त्र भनिएको धेरै वर्ष भइसक्यो तर आजसम्म वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ध्यान दिएको छैन ।
कृषि प्रदान देश भनेर परिभाषित गरिएको नेपालमा भएको कच्चा पदार्थलाई कौडीको भाउमा निर्यात गरेर विदेशबाट तयारी मालबस्तु सुनको भाउमा खरिद गर्ने परिपाटी हटाई रोजगारका अवसर सिर्जना गरी उत्पादन र उत्पादकत्व बढाउदै कृषिजन्य पशुपक्षि, जडीबुटी तथा खाद्यान्न आदि निर्यात गर्नुपर्नेमा हामी त मानव तस्करी निर्यातमा चिनिने भयौ । रोजगारीको निहँुमा विचरा सोझा नेपालीलाई म्यानपावरले गर्ने ठगी, राम्रो काममा पठाउछु भनेर खराब काम दिने, चाहे घरेलु कामदार महिला होस् वा कम्पनी मजदुर, पासपोर्ट खोसिदिने जोखीमपूर्ण काम लगाउने, वर्षैको तलब खाइदिने , अझ घरेलु कामका महिलालाई त मालिकहरुले दिने यातना उत्पीडन, अनेकौं सकसका बावजुत घरका पुरुष सदस्य र पाहुना समेतलाई यौन चहाना परिपूर्ति गर्नुपर्ने, र काम गरेबापत उपहार स्वरुप नेपाल फर्कदा बच्चा काखी च्यापेर आउँने, कतिले पेट बोकेर आउने ,कति मानसिक सन्तुलन गुमाउने, कति अपाङ्ग बन्ने, कति आत्महत्या गर्न बाध्य हुने अवस्था बन्दछ ।
यस्तो बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएर पनि कुनै तरहले जीवितै स्वदेश फिर्ता भएकाहरूबाट नेपाल सरकारमा दलाल तथा म्यानपावर समेतको नाम किटेर उजुरी दिदाँ पनि हालसम्म कसैलाई कारबाही भएको छैन । उदाहरणको लागि २०६१ भाद्र १२ गते इराकमा मारिएका १२ नेपालीलाई लिन सकिन्छ । मारिनुभन्दा पहिले उनिहरूले आ–आफूलाई अनेकौं प्रलोभन देखाएर विदेश पठाउने दलाल र म्यानपावरको नाम कारबाही गर्न मिडिया मार्फत भनेर मात्र मारिएका थिए । तर सरकारबाट कारबाही हुनुको सट्टा क्षतिपूर्ति वापत मृतकका परिवारलाई जनही रु दश लाख राष्ट्रको ढुकुटीबाट व्यहोरियो । यस्तो कामबाट लेखक चिन्तित हुनुहुन्छ । शिवराम र अप्सरा त केवल प्रतिनिधि पात्र मात्र हुन् ।
यो पक्ति लेख्दा लेख्दै कति जना विदेशमा बेवारिसे भएको खबर आइरहेको छ । ३० फागुनको कान्तिपुरमा पनि चार महिना कतारमा पर्खदा पनि एजेन्टले भने बमोजिम काम नदिएपछि बंगलादेश हुँदै बाङ्ला एयरबाट काठमाडौँ आउदा एयरपोर्टमा २०७४ फागुन २८ गते भएको जहाज दुर्घटनामा परेर तेत्तिस वर्षिय अवद्येशकुमार यादवको मृत्यु भएको समाचार छापिएको छ । थापाजीले वैदेशिक रोजगारीबाट नेपाललाई हुनसक्ने अल्पकालीन र दिर्घकालिन फाइदा र बेफाइदाहरू र रोजगारीमा जानेलाई विदेशमा हुने हैरानी तथा विभिन्न कारणले विदेशमा मृत्यु हुने तीन चारजना अभागी नेपालीको दैनिकजसो एयरपोर्टमा आउने कफिन बाक्सालाई नजिकबाट निहालेर तयार पार्नु भएको यो उपन्यास महत्वपूर्ण छ । यसलाई एकप्रकारको ऐतिहासिक दस्तावेजको रूपमा पनि लिन सकिन्छ । लेखक स्वयं पनि उच्च शिक्षा हासिल गरेर नेपालका केही महत्वपूर्ण निकायमा जिम्मेवार पदमा रही प्राप्त भएको अनुभवका साथ हाल दुबईमा चित्त बुझ्दो पदमा कार्यरत हुनुहुन्छ ।
साहित्यका धेरै विधामा कलम चलाउने उहाँका फुटकर लेखहरू पत्रपत्रिकामा आइरहेका छन्, गीतहरू मिडियामा बजिरहेका छन् । तर उपन्यास विधामा यो पहिलो सामाजिक उपन्यास हो । उहाँ सफल उपन्यासकार हुनुहुन्छ । वर्तमान परिपेक्षमा लाखौं लाख परिवारका नेपाली जनताको सामाजिक जीवनका भोगाइ र भावनालाई उपन्यासले प्रतिबिम्बीत गरेको छ । उहाँका सबै अनुभव समेतका आधारमा तयार पार्नुभएको यो उपन्यास वैदेशिक रोजगारीसँग अत्यन्त सान्दर्भिक भएको हुनाले नेपालमा बढ्दै गएको भ्रष्टिकरण र मोल तोल बिना फाएल पर नर्साने प्रवृत्तिले गुज्रेको प्रशासनिक यन्त्र र श्रम विभागका सबै कर्मचारीहरू, म्यानपावर , दलाल, विचौलिया र रोजगारीमा जाने समेतले यो पुस्तक एकपटक अध्ययन गर्नु उपयुक्त देखिन्छ ।
उपन्यासकार विदेशमा रहेर पनि नेपाली भाषा साहित्य र देशप्रति चिन्तित हुनुहुन्छ । यो प्रशंसनीय कार्य हो । उहाँको उपन्यास हात परेपछि एकै बसाईमा कसरी पढीसकौँ भन्ने कौतुहल पैदा गर्दछ । यी सबै उपन्यासका सबल पक्षहरू हुन् । कमजोर पक्ष वा भनौ त्रुटि रहित कृति पाउँन असम्भव छ । यस अर्थमा यो उपन्यास पनि अछुत्तो रहेन । व्याकरणका हिसाबले छपाईमा नगन्य त्रुटिहरू छन् । एकाद ठाउँमा पात्रको नाम फरक परेको छ । उखान टुक्काहरू दोहोरिएका छन् । कतै तेहेरिएका पनि छन् । जे होस् यी झिना मसिना कुराका पछि नलागी योगदानलाई कदर गर्नुपर्छ । आगामी दिनमा पुनः प्रकाशन हुँदा यी सबै त्रुटिहरू परिमार्जन हुने आशा सहित साहित्य जगतमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । उहाँको साहित्य यात्राले सफलता पावस् । उहाँका कृतिहरूको अंगे्रजीमा उल्था भएर विश्व साहित्यमा समेत स्थान लिन सफल होस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।
कृतिः अरबकी अप्सरा
लेखकः पूर्णबहादरु थापा (काजी)
प्रकाशक ः गौरी पब्लिक
मूल्यः रु. २५५
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend