जन आकाश
प्रधुम्नज· कार्की, केन्द्रीय अध्यक्ष तरुण दल (वि.पी.)
विपी कोइराला नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक समाजवादको प्रवर्तक हुन् । उनकै अनुयायीहरु नेपालमा थुप्रै छन् तर विपीले देखेको प्रजातान्त्रिक समाजवाद नेपाली काँग्रेस पार्टीले पूरा गर्न सकेन र नेपाली काँग्रेस पार्टीबाट असहमत भई नेपाली काँग्रेस (विपी) नामक पार्टी हरिबोल भट्टराइको सभापतित्वमा पार्टी स्थापना गरी विपीले देखेको सपना साकार पार्न अनुयायीहरु लागिपरेको बताइरहेका छन् । त्यही पार्टीका भातृ संगठन तरुण दल (विपी)का केन्द्रीय अध्यक्ष प्रधुम्नज· कार्की पनि बिपीको असली अनुयायी भएको जिकिर गर्छन् । उनको राजनीतिक पृष्ठभूमि पनि नेपाली काँग्रेसको भातृ सगठन ने.वि.संघमा २०४२ सालबाट आबद्ध भएर विभिन्न भूमिकामा ने.वि.संघको लागि अब्बल काम गरेर देखाउँदै तरुण दलको काठमाडों जिल्ला उपाध्यक्ष, तरुण दलको केन्द्रीय सदस्य भइसकेका व्यक्ति थिए । हाल उनी नेपाली काँग्रेस (बिपी)को भातृ संगठन तरुण दलको केन्द्रीय अध्यक्षको हैसियतमा छन् भने २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट प्रतिनिधिसभाको उम्मेदवार भई आफ्नो गतिलो उपस्थिति बनाएर प्रस्तुत भइसकेका व्यक्ति हुन् । उनै कार्कीसँग जन आकाश टिमले यो अंकमा कुराकानी गरेका छौं ।
० पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनु भएको छ ?
जति राजनीतिक रुपमा सहज हुन पर्ने हो त्यस्तो भइराखेको छैन । अहिले पनि राजनीतिक संक्रमणकालीन अवस्थाकै जस्तो भान भइराखेको छ । तथापि आशा गर्ने ठाउँ राजनीतिमा रही हाल्छ ।
० तपाइहरुको पार्टीको नाम विपीसँग जोडिएको छ यसको भित्री कुरा के हो ?
विपी कोइराला प्रजातान्त्रिक व्यवस्थाका प्रवर्तक हुन् । उहाँको विचार बेचेर थुप्रै नेता भए तर जनता र देशको अवस्था ज्यूँकात्यूँ रह्यो । म पनि लामो समय नेपाली काँग्रेस पार्टीमा आबद्ध भइरहे तर विपीको समाजवादी चिन्तन नेपाली काँग्रेसले अगाडी लान सकेन वा छोड्यो त्यसकारण अशल सिद्धान्त, विचार र पद्धतिलाई सही रुपमा लान नसक्दा प्रत्येक राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस अग्रणी भूमिकामा रहे पनि कार्यान्वयन र व्यवस्थापनमा क्रान्तिको जस लिन चुकेको देखियो । किनकी २००७, ०४६, ०६२÷०६३ को जनआन्दोलनको नेतृत्व काँग्रेसले लिएयता देशलाई प्रजातान्त्रिककरण गर्न सकेन त्यसकारण नेपाली काँग्रेसभित्र रहेका विपीका सिद्धान्त, विचार, आदर्श बोकेर हिँडेका तमाम कार्याकर्तामा असन्तोष बढ्दै गयो त्यो असन्तोष बिपीको बिचारलाई पार्टीले सम्बोधन गर्न सकेन त्यो स्थिति उत्पन्न भएपछि प्रजातन्त्र नै खतरामा पर्ने देखियो र हामीले विपीको प्रजातान्त्रिक समाजवादलाई समाजमा शहरदेखि गाउँसम्म जनतामाझमा लगेर (विपी)को समाजवाद स्थापना गर्ने उद्देश्य राखेर नेपाली काँग्रेस (विपी) पार्टीको स्थापना गरेका छौं ।
० यस पार्टीले २०७४ सालको निर्वाचनमा भाग लियो तर कुनै सिट जितेन अहिले के गर्दैछ ?
यसमा हामीलाई विस्मात छैन । हाम्रो पार्टी ढिलै जनतामाझ आयो । जे जसरी जनताहरुले निर्वाचनमा हामीलाई साथ दिनुभयो त्यो हाम्रो पार्टीको मुद्धा, सिद्धान्तको आधारमा उहाँहरुले समर्थन गर्नुभएको हो । सँगसँगै हामीले विपीको समाजवादी कार्यक्रम जनता माझमा लिएर गएका छौं । जुन कार्यक्रम विपीको निधनपछि नेपाली काँग्रेसले लुकाई राखेको थियो । चुनाव जितहार एउटा प्रक्रिया हो । विपीले पनि २०३६ सालको जनमत संग्रहमा हार व्यहोर्नु पर्दा प्रजातान्त्रिक पद्धतिलाई यस्तो हारजित हुन्छ । तर हामीले चुनाव हारेर पनि हाम्रो एजेण्डाले जितेको छ भन्नुभएको थियो । अहिले हामीले चुनाव हारे पनि एजेण्डाले जितेका छौं । निकट भविष्यमा हाम्रो जीत सुनिश्चित छ । हाम्रो जीत निश्चित हुने वित्तिकै विपीले तय गरेको समाजवादको स्थापना गर्दै कार्यान्वयन गर्नेछौं । त्यो कार्यान्वयन भएपछि गरिबभन्दा गरिब रहेका नेपालीलाई समग्रमा समृद्धिमा उठाउन सक्ने हाम्रो विश्वास छ । पार्टीले सिट जितेन भन्ने विषयभन्दा महत्वपूर्ण नेपाली समाजको आवश्यकता हो ।
० निर्वाचनपछि विपीको पार्टीले के गर्दैछ ?
हाम्रो पार्टीको बैठकले चुनावको समिक्षा सहित भोलिका दिनमा जनतामाझमा विपीको नीति, विधि, प्रक्रिया, तरिका लिएर जाने निर्णय गरेको छ । साथै संगठनलाई विस्तारका साथ चुस्त, दुरुस्त बनाउने कार्यमा जुट्ने निर्णय गरेको छ । हामी जुटी राखेका पनि छौं । जस्तै भातृ संगठनहरुको निर्माण, शुभेच्छुक संस्थाहरुको निर्माण र सल्लाहहरु लिँदै आउँदो दिनमा जनताको प्रतिनिधित्व लिने सम्मको गृहकार्य गर्दै अगाडी बढी राखेका छौं । नेपालको भौगोलिक, सांस्कृतिक, परम्परा, विविधताले भरिएको कारण जातजाति, भाषाभाषि, धर्म संस्कार र संस्कृति एकरुपता र सद्भावशील बनाउन नेपाललाई हिन्दुहरुको आस्थाको लागि पशुपतिनाथलाई हिन्दुहरुको आस्थाको केन्द्र र लुम्बिनीलाई बुद्धिष्ठ केन्द्रको रुपमा विकास गर्नुपर्छ यो आवश्यकता छ । राष्ट्रियताको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो पार्टीले यसमा पनि ध्यान दिएको छ ।
० संघीयतालाई कसरी लिएको छ ?
यो संविधानले नै विषय अन्तर गरिसकेको र तीन तहको निर्वाचन भएर कार्यान्वयनको अवस्थामा छ । तथापि व्यवस्थापनमा धेरै जटिलता पनि छ । यस विषयमा नेतृत्ववर्ग गम्भीर हुन जरुरी छ । कारण सुशासन र भ्रष्टाचार शुन्य सहनशीलता अपनाउन सकिएन भने प्रदेशको राजधानी सबैलाई मान्य हुने गरी र पायक पर्ने गरी राख्ने विषयमा ध्यान दिइएन भने हामीले परिकल्पना गरिएजस्तो समृद्ध नेपाल बनाउन कठिन हुन सक्छ त्यसकारण सबैको बुद्धिमत्ता पुग्नुपर्छ ।
० प्रजातान्त्रिक पार्टी हुँदाहुँदै तपाइहरुले किन अर्को पार्टी खोल्नु भएको नेपाली काँग्रेस छँदै थियो ?
यसमा उहाँहरुले जनतासँग जोडिएर काम गर्न र प्रजातान्त्रिक संस्कार, चरित्र अनुसार विपीको समाजवादलाई गरिब जनतासँग नजिकै रहेर काम गर्न नसकेको अवस्था हो । कारण पटक पटकको सरकारको नेतृत्व नेपाली काँग्रेसले ग¥यो तर सही ट्र्याक दिन नसक्नुुको परिणति र कहिले कता कहिले कता भोट हाल्न समेत आफ्नो कार्यकर्तालाई निर्देशन दिनुपर्ने अवस्था आयो यो भनेको प्रजातान्त्रिक विचलनको चरम रुप हो । ढिलै भएपनि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको परिस्थितिमा जनतामाझ पु¥याउन हाम्रो दायित्व बन्यो, त्यसकारण पार्टी खोल्नु परेको हो । हामी पनि प्रजातन्त्रवादी नै हौँ । प्रजातन्त्रबाट नै देशलाई शान्ति र समृद्धि दिन सकिन्छ भन्ने हाम्रो मान्यता रहेको छ ।
० २०४६ सालपछि देशको विकासको गति सुस्त छ तपाईहरुको पार्टीले विकास निर्माणमा कस्तो भूमिका खेल्छ ?
२०४६ को परिवर्तनपछि शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तन भएको अवस्था हो । यद्यपि जनताले महसुस गर्ने गरी ठोस रुपमा कामहरु हुन सकेको छैन । यो कुरा जनताहरुले पटक पटक राजनीतिक परिवर्तनको आशय खोजिरहेको अवस्थाले देखाउँछ । परिवर्तनसँग हामीले जनताको जीवन उपयोगी र आवश्यकता चाहना नेतृत्वले महशुस गर्न सकेको अवस्था देखिएन भौतिक पूर्वाधार मात्रै विकास होइन । आवश्यकता अनुसारको पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र वातावरण सँगसँगै सुशासन र भ्रष्टाचारमुत्त समाज निर्माणको दिशामा पनि अघि बढ्नु जरुरी छ । किनकी मूल सफा नभइकन धाराको पानी स्वच्छ हुँदैन । भन्न खोजेको के हो भने पद्धति ठिक नहुँदा यसको व्यवस्थापन ट्राफिक जाम, धुलो, धुँवा, जनताको स्वास्थ्यमा सिधै खेलवाड यसको जिम्मेवार को हुने वातावरण सुधार आवश्यक छैन । विकासका लागि चेतनास्तरका कुरा आउँछन् त्यसमा हाम्रो समाजलाई समग्रमा विकास गर्ने योजना राखेका छौं ।
० परिवर्तन पछि विकास भएका देशको उदाहरण धेरै छन्, जस्तै चिन, श्रीलंका, युरोप, जापान तर हाम्रोमा त्यस्तो किन भइराखेको छैन ?
नेतृत्व प्रति आशा र विश्वास गर्नैपर्छ भर्खर सरकार बनेको अवस्था छ । राज्यको स्टेटमेन्सीप लिन पद्धतिले गाइड गर्नुपर्छ तर हाम्रोमा यस्तो भएको देखिएन । विधि र नीतिको शासन होस् भन्ने जनचाहना छ । जनताले काम चाहेका छन् देखिहाल्नुभयो जनतालाई शिक्षा र स्वास्थ्यमा राज्यले व्यवस्थापन गर्ने हो भने भ्रष्टाचारको कल्पना पनि नगरे हुन्छ । भएको छ के भन्दा मानिसलाई इगोले गाइड गरेको अवस्था छ । त्यसैले नेतृत्व पंक्तिले सुशासनमा जोड दिँदै राज्यको पहुँचमा जनतालाई शिक्षा र स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्छ ।
० समृद्धि र विकासका कुरा आएका छन् कस्तो लाग्छ तपाइलाई ?
सही प्रश्न उठान गर्नुभो । समृद्धि सम्भव छ । हाम्रो देश भौगोलिक र प्राकृतिक हिसाबले पनि समृद्धशाली छ । जल, जमिन, जंगल र जडिबुटी तथा संस्कार, संस्कृति, सम्पादाले भरिपूर्ण देश हुँदा हुँदै पनि हामी किन गरिब भयौ भन्दा भएका स्रोत–साधनलाई सही रुपमा उपयोग गर्न नसक्दा युवाहरु विदेशिनु परेको महिलाहरुले दुव्यर्ववहार सहनु परेको, बृद्धा बृद्धाहरुको स्यहार सुसार हुन नसकिरहेको अवस्था छ । युवा पलायनलाई रोक्न, जलविद्युतको विकास, जडीबुटीको सही प्रशोधन जंगलको सही सदुपयोग, धेरैभन्दा धेरै मानिसहरुलाई रोजगार सृजन गर्न सरकारले वातावरण तयार गरी साथै औद्योगिक नीतिको तर्जुमा गरी बढीभन्दा बढी युवालाई सीप, क्षमता विकास गरी उपयोग गर्ने नीति लिनुपर्छ । त्यसैमा राष्ट्रको कल्याण छ । समृद्ध नेपाल सम्भव छ ।
० अन्त्यमा
देश कुन गन्तव्यमा जाने हो भन्ने कुरा नेतृत्वपंक्ति गम्भीर हुन जरुरी छ । आज ३ करोड जनतालाई व्यवस्थापन गर्न नसक्ने र सरकार जिम्मेवार हुन नसक्ने लज्जाको विषय हो । साथसाथै राष्ट्रिय नीति सही नहुँदा सरकार परिर्वतनसँगै कुटनीतिक सवालमा राज्य चुकेको अवस्था छ । त्यसैले राष्ट्रिय नीति तयार गर्न जरुरी छ । यसले अशल परराष्ट्र,आर्थिक नीतिलाई दरो रुपमा निर्देशन गर्छ । हाम्रो कुटनीतिक धरातल कमजोर देखिएको अवस्थामा यसले मद्धत पु¥याउने छ ।
अन्तमा मेरो सबै नेपाली दाजुभाई तथा पार्टीका आदरणीय नेताहरु, कार्यकर्ता, व्यवसायी मित्रहरु लगायत सबैलाई २०७५ सालको हार्दिक मंगलमय शुभकामना यसै पत्रिकामार्फत व्यक्त गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend