जन आकाश
,
काठमाडौँ । अखिल क्रान्तिकारीले सिटीईभिटीका कर्मचारीको मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानविन गरी कार्वाही गर्न माग गरेको छ । उसले पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्य समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी गरेर साउन १२ गते धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परीक्षा केन्द्रमा सिटिईभिटीबाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको बताएका छन् ।
कमिसन खाएर आसेपासेहरुको नाम छात्रवृत्ति कोटामा निकाल्न घृणित कार्य भएको र त्यसमा सिटिईभिटीकै कर्मचारीको पनि संलग्नता भएको भन्दै संयोजक बिकले बताएका छन् । उनले आफ्नो संगठनले गरेको अनुसान्धानले उक्त कुराको पुष्टि भएको भन्दै पुनः प्रवेश परीक्षा लिन पनि माग गरेका छन् ।
“यस शैक्षिक सत्रको साउन १२ गते लिएको प्रमाणपत्र तह तथा डिप्लोमा तहको पूर्ण छात्रबृत्ति तर्फको प्रबेश परिक्षा अन्तर्गत धनगढी उपमहानगरपालिकाको पञ्च्योदय परिक्षा केन्द्रमा CTEVT बाट खटिएका कर्मचारीको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको र आफ्ना आसेपासे, आफन्तको नाम निकाल्नका लागि र केही बिद्यार्थीहरुबाट कमिसन खाएर नाम निकाल्ने षड्यन्त्रअनुरुप प्रश्नपत्र बाहिरिएको तथ्य परीक्षामा सहभागी विद्यार्थी सरोकारवाला र अभिभाबकहरुले हाम्रो संगठनलाई जानकारी गराइएको र केही मिडियामा समेत प्रकाशन तथा प्रशारण भएकोछ । साथै हाम्रो संगठनद्धारा गरिएको अनुसन्धानले पनि सो घटनालाई पुष्टि गर्दछ” बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पदिय शक्तिको चरम दुरुपयोग गरेर गरिब बिपन्न वर्गका अध्ययनशील तथा जेहेन्दार विद्यार्थीहरुको भविश्यमाथि खेलबाड गरेकोप्रति आपत्ति जनाउँदै संयोजक बिकले दोषीलाई सम्बन्धीत निकायले कारवाही नगरे आफ्नो संगठनले कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
“सिटिईभिटीका कमचारी, परिक्षा केन्द्रका कर्मचारीलगायत संलग्न सबैलाई कडा कार्बाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । साथै, उक्त परिक्षा खारेज गरि पुनः प्रबेश परीक्षा सञ्चालन गर्न माग गर्दछौं । पदीय शक्तिको चरम दुरुपयोग गरी गरिब बिपन्न बर्गका अध्ययनशिल तथा इमान्दार हजारौं विद्यार्थीहरुको भविश्यमाथि खेलबाड गर्ने, कमिसनको लोभमा परीक्षा प्रणाली बिपरित अत्यन्तै घृणित कार्य गर्ने त्यस्ता दलाल, भ्रष्ट र माफीयाहरुप्रति संगठनले निर्मम कार्बाही थाल्ने समेत जानकारी गराउँदछौं” विज्ञप्तिमा भनिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend