logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सञ्चारकेन्द्रमा सम्पन्न


  • जन आकाश
  • बिहिबार, साउन ३१ २०७५

 



काठमाडौ । देशमा लागु औषधको दुव्र्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै आज सञ्चारकेन्द्र नेपालले ‘लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गृह मन्त्रालयका लागु औषध नियन्त्रण महाशाखा प्रमुख एवं सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले लागू औषध कारोबारी देश द्रोही भएको धारणा व्यक्त गर्दै देशका युवा मस्तिष्कहरुलाई दुव्र्यसनमा फसाउने लागु औषध कारोबारीहरुलाई समाजले माफी दिन नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै समाजमा जटिल बन्दै गएको लागु औषध दुव्र्यसन नियन्त्रण गर्न सबैले हातेमालो गरेर अगाडि बढ्न जरुरी भएको बताउनुभयो । मुलुक सम्बृद्धिको मार्गतर्फ अगाडि बढिरहेको बेला लागु औषध बाधक सामाजिक उत्तरदायित्व बहन गर्ने सन्दर्भमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै गृह मन्त्रालयले सुधार गर्नको लागि सबै पक्षबाट सुझाव दिन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सहसचिव दवाडीले सभ्य समाज निर्माणका लागि सकारात्मक सोचका साथ सचेतनाका लागि सञ्चारकर्मीहरुलाई जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लागू औषध व्यूरो प्रमुख तथा प्रहरी डिआइजी ठुले राईले लागु औषधका दुव्र्यसनीका कारण समाजमा अपराध बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि विद्यालय तहदेखि नै सबै तहबाट सहयोग नभए यसले विकराल अवस्था सिर्जना हुने बताउनुभयो । उहाँले हाल प्राकृतिक मानिने लागु औषध गाँजा, चरेश, भाङ्ग, धतुरोको दुव्र्यसनी भन्दा कन्ट्रोल मेडिसन (ज्याभा, आइस)जस्ता विदेशबाट भित्रिने लागु औषधहरु पनि लागु औषधका दुव्र्यसनी बढिरहेको जानकारी गराउनहुँदै यस्ता दुव्र्यसन रोक्न लागू औषध व्यूरो सक्रिय रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा लागु औषध दुव्र्यसनी विरुद्धको सचेतनामा क्रियाशिल छाता संगठन (एफडिडिआर)का अध्यक्ष प्रशान्त शर्माले आफूँहरु लागू औषधको सचेतनामा देशको विभिन्न भागमा क्रियाशिल रहेको बताउँदै यसको रोकथाममा सबै पक्षको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नार्कोनोनका डाइरेक्टर पुँजा कुँवरले दुव्र्यसनीहरुलाई पुर्नस्थापना केन्द्रमार्फत समाजमा सभ्य नागरिक बनाउने अभियानमा आफूँहरु जुटिरहेको बताउनुभयो । तर, आफूँहरुले देशव्यापी रुपमा लागु औषध नियन्त्रणका लागि अभियान चलाउँदा स्कुल कलेजहरुले खासै सहयोगी भूमिका नदेखाएकोमा दुःख व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो अहिले ६ कक्षा देखि लागू औषधमा फस्ने हुँदा अभिभावक र स्कुल परिवारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष दिपिका थापा, एनप्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही, हिसानका सचिव रामहरि सिलवाल, वरिष्ठ पत्रकार विष्णु प्रसाईलगायतले आफ्नो धारणा राख्नुभएको थियो । प्रेस काउन्सिल नेपालका सदस्य तथा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईले जनसरोकारको विषयमा सञ्चार केन्द्रले आफ्नो कार्यक्रम गर्दै आएकाले यसपटक लाखौं युवा दुव्र्यसनीमा फस्दै गएको प्रसङ्गले आफूँहरुको ध्यान केन्द्रित भएकोले यस कार्यक्रम गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार सागर पण्डितले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा प्याब्सन केन्द्रीय सचिवालयका पूर्व सदस्य शम्भु पोखरेललगायत दर्जनौं सञ्चारकर्मीहरुले अन्तरक्रियामा भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend