logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाल प्रयोगशाला हुन दिनु हुँदैन गोपी सिवाकोटी नेता, नेपाल विद्यार्थी संघ


  • जन आकाश
  • बिहिबार, भाद्र १४ २०७५

 



नेपाली काँग्रेसको भातृ संगठन नेविसंघमा बेला–बेलामा विवाद, बहस र गुटका कुराहरु निक्कै हुने गर्दछन् । त्यसमाथि पनि २०७४ को प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले नराम्रोसँग पराजय भएपछि नेतृत्वप्रति औला उठाउनेको त जमातनै बनिरहेको छ । तर त्यो भन्दा फरक ढंगबाट पार्टीभित्र आन्तरिक लोकतन्त्रको लागि खबरदारी गर्नुपर्छ र पार्टी बलियो बनाउन विद्यार्थीको अहम भूमिका हुनुपर्छ भन्ने विचार राख्छन् नेविसंघका नेता गोपी सिवाकोटी । उनीसँग गरेको कुराकानीको सारसक्षेप ।
० पछिल्लो राजनीतिलाई कुन रुपमा लिनु भएको छ ?
देशमा अहिले दुईथरी दृष्टि देखिन थालेको छ । एउटा कम्युनिष्ट अधिनायकवादी र अर्को प्रजातन्त्रको सुरुवात यसमा प्रजातन्त्रका लागि लड्ने की कम्युनिष्ट अधिनायकवादीमा लाग्ने यसरी दुई धु्रवीय कित्तामा पछिल्लो राजनीतिक विकास भइरहेको छ । जस्तो मलाई लाग्छ । त्यसमा वर्तमान सरकारको काम गर्ने तरिका र सामान्य जनतामाथि पनि थोपरेको कर र देशका विभिन्न ठाउँमा भएका बलात्कारका घटना र त्यस्ता जघन्य खालका अपराध लुकाउन भएका प्रयास, त्यहाँ जनताले सत्यतथ्य छानविन गर्न गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका किशोर सुन्नी खुना भाईहरु जस्तै निर्दोष माथि गोली बर्षाएर यो सरकारले वास्तवमै कम्युनिष्ट अधिनायकवाद लादेको प्रमाणित गरेको छ । यो अधिनायकवाद विरुद्ध हाम्रो युवा संघले चरणबद्ध आन्दोलन गर्दै जानेछ । हामी वास्तविक लोकतन्त्रको लागि लड्दैछौं ।
० यसरी देशको व्यवस्थाकै धु्रवीकरण भइरहेको बेला तपाईहरुको नेविसंघमा चाहिँ विभाजन जस्तो देखिएको छ यहाँ कार्यालय नै खोलेर अर्को समानात्र नेविसंघ चलाउनु भएको छ । तपाइहरुको विवाद केका लागि हो ?
आन्तरिक लोकतन्त्रको लागि मतमतान्तरहरु हुन्छन् । ती मतमतान्तरहरु हुने क्रममा हामीसँग सहमत हुने नेविसंघका साथीहरु एकीकृत हुन सक्छन् । हामीभन्दा भिन्न मत राख्ने थोरै संख्याका साथीहरुको भिन्न मत राख्न सक्छन् । त्यसैले आन्तरिक लोकतन्त्रको लागि बहस गर्नु वैचारिक भूमि हो । वैचारिक द्वन्द हुन्छ यो स्वभाविक हो । पार्टीभित्र गुट, उपगुट भएर मन्थन हुन्छ मन्थन भएपछि एउटा सुन्दर निष्कर्ष निस्कन्छ ।
अर्को नेपाली काँग्रेस विधि र विधानमा चल्ने पार्टी भएको हुनाले अधिवेशनबाट फ्रेस म्यान्डेट बोकेर स्थापित हुनुपर्ने व्यवस्था छ । त्यसमा आआफ्नो तर्फबाट एजेण्डा बोकेर कार्यक्रम सञ्चालन गर्नु स्वभाविक हो । समानात्र कार्यालय खोलेको होइन नेपाली काँग्रेस पार्टीको रक्षाको लागि नेविसंघ निर्माणमा योगदान गर्नको लागि लागिपरेका छौं ।
० तपाइ यो भन्दा अघिल्लो अधिवेशनमा पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो त्यसपछि नेविसंघलाइ कसरी लिएर गई राख्नुभएको छ ?
मैले महाधिवेशन पछाडि नेविसंघलाई विगतभन्दा पनि अझै नयाँ ढंगबाट देशैभरीबाट उच्च शिक्षा हासिल गर्ने उद्देश्य बोकेर कलेजहरुमा पढि रहनुभएका विद्यार्थीका हकहितका लागि व्यवहारिक ढंगबाट काम गर्नु पर्छ भनेर साथीहरुसँग नीतिगत योजना बनाएर नेविसंघको विकास गर्दै आएको छु । जसमा नेविसंघका सबै साथीहरुले मलाई साथ दिँदै आउनु भएको छ । अर्को पक्ष भनेको पद र राजनीति भनेको फरक कुरा हो । त्यसैले मैले जित्नु हार्नुमा भन्दा पनि संगठन हार्नु हुँदैन भन्ने मेरो मूल भावना रहेको छ । यही विचार, नीति लिएर म अगाडी बढिरहेको छु ।
० तपाइको लक्ष्य के छ ?
समृद्ध नेपालको लागि सबल लोकतन्त्रका निमित्त विद्यार्थी आवाज बुलन्द गर्न विद्यार्थीहरुलाई एकीकृत गरेर, प्रशिक्षित गराउँदै अगाडी बढाउनु पर्छ जस्तो मलाई लाग्छ । त्यो लक्ष्यका निम्ति हामी अहिले केही पाइला मात्र देखिन सक्ला हजार पाइला पुग्न एक पाइला बाट नै शुरु हुन्छ । हाम्रो देश समृद्धि यही ढंगबाट हुँदैन । नेपाल देश सधैं प्रयोगशाला बन्यो कम्युनिष्ट अर्को कोको यहाँका नेताहरु प्रयोग भए नेपाली जनता यो कुरामा क्रियाशील हुनुप¥यो नेपाल साँच्चै परिवर्तन गर्ने र समृद्ध बनाउन लोभ लालचमा फस्नु भएन र सत्य र सबल नेतृत्व जो विदेशबाट निर्देशित छैनन् त्यस्ता योग्य, सक्षम नेतृत्व छान्न सक्ने सचेत नागरिक बन्नु प¥यो । त्यसो भयो भने हाम्रो देश कसैको प्रयोगशाला हुँदैन र समृद्ध नेपाल बनाउन सकिन्छ ।
० तपाईले प्रयोगशाला भन्नु भो यो कतापट्टी इंगीत गर्न खोज्नुभएको हो ?
यो प्रयोगशाला नेपालको विगतको इतिहास हेर्दा अहिलेसम्म दक्षिणको प्रयोगशाला भएको देखिन्छ भने नेपालका नेताहरु दक्षिणको प्रभावमा परेको र दक्षिणको दूतावासहरुमा दौडिरहेको देखिन्छ । एउटा कुरा अर्को नेताहरु सत्तामा नपुगुनजेलसम्म राष्ट्रियताको कुरा गर्ने, सार्वभौमसत्ताको कुरा गर्ने, सत्तामा पुगेपछि राष्ट्रियता नै थाहा नहुने भन्न खोजेको अरुले परिचालन गरेको पात्रहरु त आज चारस्टेप भएको भोलि पाँच स्टेपमा ब्रेक बन्दिन सक्छ । त्यसैले उनीहरुले प्रयोगशालाको रुपमा प्रयोग गरेका छन् । त्यो जनतालाई हामी प्रयोग भएका छैनौ भनेर स्पष्टीकरण दिन पनि सकेका छैनन् । त्यसकारण देश प्रयोगशाला भएको देखिन्छ ।
० तपाई त विद्यार्थी नेता नेविसंघका नेतृत्व हाँकेकाहरु नेपाली काँग्रेसबाट थुप्रै मन्त्री, प्रधानमन्त्री भई सके उनीहरुलाई राष्ट्रियताको पक्षमा के गर्यौ के गरेनौ अनुभूति पक्कै भएकै होला तपाइहरुले चाहिँ राष्ट्रको लागि के सोच्नु भएको छ ?
हाम्रो पार्टीमा त्यतिबेलाका सभापति वि.पी.कोइरालाले आफ्नो राष्ट्रियता जोगाउन राजासँग घाँटी जोड्नुपर्छ भनेर राष्ट्रिय अस्तित्व जोगाउन लागि पर्नु भयो तर पछिल्ला नेतृत्वमा केही समस्या आएको देखिन्छ । त्यो पार्टीले चुनाव हार्दै गर्दा संविधान लेखन, चुनाव शान्तिपूर्ण ढंगले पूरा गर्नुपर्ने दायित्व जस्ता कुरामा केन्द्रीत हुँदा जनताले सोचे जस्तो राष्ट्रियताको लडाई बाहिर देखिएन तर भारतले नेपालको नयाँ संविधान नचाहँदा नचाहँदै पनि सुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भएको छ । राष्ट्रियताको पक्षमा अन्य पार्टीभन्दा व्यवहारमा काँग्रेस इमान्दार छ भन्ने मलाई लाग्छ । हामी युवाहरुले आउँदा दिनमा अझै आत्मनिर्भरमुखी राष्ट्रियताको योजना बनाएर काम गर्ने नयाँ पुस्ताको तयारी छ ।
० काँग्रेसले निर्वाचनको बेला यतिधेरै नराम्रो पराजय व्यहोर्नु परेको तितोसत्य छ । काँग्रेसकै पार्टीभित्र विभिन्न गुट उपगुट र तपाइहरुनै भनौ न मलाई त्यस्तै लाग्यो वास्तविकता के हो ?
पार्टीलाई जीवन्त बनाउने कुरामा गुट, उपगुट देखिन्छ तर त्यसले पार्टीलाई क्षयीकरण ग¥यो कि मजबुद बनायो भन्ने कुरा महत्वपूर्ण रहन्छ जसमा पार्टीलाई बनाउन नै भूमिका रहेको छ । तर नेतृत्वले नै समन्वय गरेन की ? काँग्रेसका गुट उपगुटमा भएका विचारहरु, गुटगुटमा भएका मन्थनहरु विचार विमर्शहरुलाई पार्टी नेतृत्वले सबै गुटको के के अवस्था छ, केके सल्लाह सुझाव दिइराखेको छ । काँग्रेसलाई मजबुद बनाउने सल्लाहहरु लिएको नेतृत्वमा देखिँदैन ।
० तपाइको राजनीतिक यात्रा कहाँसम्म हुन्छ ?
राजनीति विशुद्ध समाजसेवा हो । राजनीति विशेष गरेर आफ्ना एजेण्डा लागु गर्न नेतृत्वमा पुगेपछि सम्भव हुन्छ । नेतृत्व गर्छु भन्ने लक्ष्य हुन्छ । यो यात्रा यहीसम्म पुग्छ भन्ने पनि हुँदैन यही सिद्धिन्त भन्ने पनि हुँदैन । म यो राष्ट्रको पापड बेल्न सक्छु भन्ने आँट गरेर आएको व्यक्ति हुँ ।
अन्तमा म विद्यार्थी राजनीतिको पात्रको हेसियतबाट जुनसुकै राजनीतिक पार्टीमा हुन यो हाम्रो देश कसरी राम्रो बनाउने हो । देश किन बनिराखेको छैन । सबैतिर आत्मआलोचित राजनीति भइरहेको छ । चिया पसलका चिया बेच्नेदेखि महत्वपूर्ण शिक्षित वर्गले समेत राजनीतिलाई गाली गरिराखेका छन् । त्यसकारण राजनीतिले पूरा गर्नुपर्ने दायित्व कसरी पूरा गर्ने हुनुपर्यो, राज्यले मलाई के दियो होइनकी राज्यलाई मैले के दिए भन्ने विषय भयो भने मात्र निकास पाउँछ होला । अर्को राजनीीत कमाई खाने भाँडो भएको छ, राजनीति कमाइखाने भाँडो नभएर त्याग, तपस्या गर्ने र राज्यको नीति निर्माण गरेर देशको मुहार फेर्न सक्ने क्षेत्र हो भन्ने जनतामा देखाउन सक्ने काम गर्नुपर्छ । त्यस्तो वातावरण बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend