जन आकाश
धनलाल थापा मगर
रामेछाप । रामेछापका अधिकाँश ग्रामीण भेगका सडकहरु वर्षातले क्षतविक्षत भएका छन् । स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरु चयन भएसँगै गाउँगाउँमा छिटो काम देखाउने गरी कुनै प्रक्रिया पूरा नगरी रकममात्र सक्ने होडबाजीमा खनिएका सडकहरु यसवर्ष कुनै पनि गाडी गुड्न नसक्ने गरी बिग्रिएका छन् ।
यसको ज्वलन्त उदाहरण दोरम्बा गाउँपालिकामा स्थानीय गाउँपालिकालाई हेर्न सकिन्छ । बजेटको ठुलो हिस्सा सडकमै गत वर्ष खर्च गरेको भएपनि करोडौं खर्चिएर निर्माण गरिएका अधिकाँश दोरम्बा गाउँपालिका वडाका सडकहरु अहिले गाडी गुडाउन लायक छैनन् । त्यसैमा ३ महिनादेखि दोरम्बा गाउँपालिकामा यातायात सञ्चालनमा छैन । रामेछापको कुनामा रहेको दोरम्बा गाउँपालिकाको वडा नं. ४ गौश्वारामा उत्पादित आलु, मुला, साग तरकारी यातायातको सुविधा नहुँदा बारीमा किसानले उत्पादन गरेका बस्तुहरुको उचित मूल्यबाट वञ्चित हुनु परेको उपभोक्ता ठुलाचुली बन समूहका अञ्जन थापा मगरले दुखेसो पोखे ।
गौश्वाराका जनताले आफै गाडी रिजर्भ गरेर देउराली मुडेसम्म पु¥याएपनि बाटोको समस्याका कारण बाटोमै गाडी फसेर बस्दा ४–५ घण्टाको कठिनपूर्ण पैदल यात्रा गर्नु परेको गौश्वाराबासीहरुको भनाई रहेको छ ।
देशमा जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै गत वर्ष पुरानो कच्ची बाटो ढुंगे चैचावसम्म सजिलै अरनिको बस चल्ने गरेको थियो । तर सोही बाटो फराकिलो बनाउने स्तर उन्नति गर्ने नाममा उपभोक्ता समिति र प्राविधिक टोलीहरुले बाटोलाई जथाभावी रकम सक्न भत्काएर विगारेपछि यस वर्षबाट गौश्वाराका जनता यातायात सुविधाबाट वञ्चित भइरहेका छन् । जसले गर्दा नजिकिँदै गरेको नेपालीहरुको महान चाड वडा दशैं तिहारमा बृद्धबृद्धाहरुलाई समस्या पर्ने र आफन्तहरुसँग खुसी साट्न नपाउने पीरले सताएको गौश्वाराका समाजसेवी समूहका सुप्रिम थापा मगरले गुनासो गरेका छन् ।
त्यसैगरी रामेछापकै उमाकुण्ड, सुनापाति गाउँपालिका सडकहरुको पनि त्यस्तै हालत रहेको छ । उमाकुण्ड गाउँपालिकामा गाडी नपुगेको त ४ महिना भइसकेको छ । गुम्देल, बाम्ती, कुमुकास्ताली, प्रिति, पेकनासलगायतका जनताहरु सडक अबरुद्ध हुँदा शिवालय, ठोसेबाट पैदल यात्रा गर्न बाध्य छन् । कुनैबेला भैपरी आउने इमरजेन्सी पर्दा गाउँमा बिरामीहरुलाई एम्बुलेन्समा लानुपर्ने हुन्छ । त्यस्तो बेलामा सडकको अवस्था जिर्ण भएकाले कतिपय रामेछापमा ग्रामीण क्षेत्रका जनताले अकालमै मृत्यु व्यहोर्नु परेको छ । दुःखको कुरा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमालसिं तामाङ (मोक्तान) मन्थली सदरमुकामबाट काम सकेर मन्थली नगरपालिका भित्रै पर्ने फोरहिल गाडीमा किर्नेटार–कुख्रेआल हुँदै जाने क्रममा आरुबोटे सडकखण्डमा खाल्डा र खुल्डीका कारण गाडीको टंैकी ठोक्किएर बीच बाटोबाटै नै फर्किनु परेको उदाहरण रामेछाप जिल्लामा देखिन थालेको छ ।
त्यसकारण स्थानीय जन प्रतिनिधिहरुले ग्रामीण क्षेत्रका सडकको विकास दीर्घकालीन रुपमा दिगो हुने गरी बनाउने र स्थानीय उपभोक्ताले पनि आफ्नो गाउँको बाटो राम्रो बनायो भने आफैलाई सुविधा पुग्ने सम्झेर काम गर्नुपर्ने हुन्छ । अन्यथा दोरम्बा गाउँपालिकाका अध्यक्षजस्तै बीचबाटोबाट कार्यालय पुग्न नसकेर फर्कनु पर्ने बाध्यता आउँछ । त्यसतिर सबैको ध्यान पुग्नुपर्छ ।
रामेछाप जिल्लाको विकासको लागि भनेर चुनाव जिती गएका सांसद, प्रदेश सभासद जिल्लाको विकासमा यतिखेरै कुनैले ध्यान दिएको पाइँदैन । चुनावमा बाँड्ने आश्वासन र चुनाव जितेर गइसकेपछि गरिने व्यवहार रामेछाप जिल्लाका नेताहरुको नियती नै भएको छ, यस घटनाबाट रामछापवासीहरुले थप पाठ सिकेर आश्वासन दिनेलाई भन्दा व्यवहारमा काम गरेर देखाउनेलाई आउँदा दिनमा चुन्न सकेको खण्डमामात्र रामेछापको विकास सम्भव होला कि ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend