जन आकाश
१७ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।
मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले सन्चारकर्मीहरु संग भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्यको हो ।’
उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ(आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
नेपाल चिकित्सक संघका महासचिव डा । लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend