logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विद्यालय राजनीतिक प्रयोगशाला बन्दै


  • जन आकाश
  • बिहिबार, असोज ४ २०७५

मिलनकुमार लामा
काभ्रे । तेमाल गाउँपालिका वडा न. ६ ठुलो पर्सेलमा अवस्थित श्री पन्चकन्या उ. मा. वि. हाल राजनीतिक दलहरुको प्रयोगशाला बनेको छ । श्री पन्चकन्या उ. मा. वि. को निर्माण हुँदै गरेको नयाँ भवनको विषयलाई लिएर राजनीतिक दलहरु बिच विवाद चर्केको हो ।
शैक्षिक संस्था जस्तो पवित्र स्थलमा स्थानीय तहका राजनीतिक दलहरुले आ–आफ्नो स्वार्थ अनुरुप कार्य गर्न नपाउँदा श्री पन्चकन्या उ.मा.वि.को २१ औं अभिवाभक दिवस नै बहिष्कारको शिकारमा परेको छ ।
विद्यालयका प्र. अ. नविन श्रेष्ठलाई राजनीतिक दलका नेता र अन्य अभिवाभकहरुको उपस्थिति किन हुन सकेन भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ ’ हामीले सम्पुर्ण राजनीतिक दलका नेता तथा अभिवाभकहरुलाई पत्रचार गरेरै बोलाएका हौ । तर उहाँहरु किन उपस्थित हुनु भएन मलाई पनि थाहा भएन ।’
विद्यालय कसरी प्रयोगशाला बन्दै छ त ?
२०७२ सालको महाभूकम्पले पन्चकन्या उ.मा.वि.को पुरानो भवन क्षतिग्रष्त हुनपुगेको थियो ।
स्थानीय समाजसेवी कान्छामान लामाले २०१४ सालमा विद्यालय स्थापना गर्नको लागि जग्गा दान गर्नु भएको थियो भने पूर्व प्रधानपञ्च तथा समाजसेवी कमान सिं लामाको पहलमा पन्चकन्या विद्यालयलाई मा. वि. तह सम्म निर्माण तथा सुधारका लागि पहल गर्नु भएको थियो। यो विद्यालय तेमाल गाउँपालिका भरिमा नै पुरानो हो ।
जिल्ला आयोजना कार्यन्वयन इकाईको परियोजनामा शुरु भएको उक्त भवनको लागि हालसम्म एक करोड बजेट पठाइ सकेको काभ्रेका अध्यक्ष निर्मल घिमिरेले जानकारी दिनुभएको छ । २०७५ को असार मसान्तसम्म निर्माण हुनु पर्ने निर्देशन रहेता पनि भदौको पहिलो हप्ता शुरु भएता पनि निर्माण कार्य पुरा भए नभएको जानकारी नआएको अध्यक्ष घिमिरेले बताउनु भयो । तर म्याद थपको लागि पनि माग नगरेको अध्यक्ष घिमिरेले बताउनु भएको छ ।
तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङको नेतृत्वमा हाल पन्चकन्या उ.मा.वि. को नयाँ भवन निर्माण भइरहेको छ । तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ नै उक्त विद्यालय व्यवस्थापन समितिका पनि अध्यक्ष हुन् । निर्माण हुँदै गरेको भवनको बारेमा विवाद शुरु हुन थाले पछि विवाद किन भएको हो भनेर हामीले स्थलगत रिपोर्ट गर्दा वास्तविक कुरा बाहिर आएको छ ।
तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले विद्यालय भवन निर्माणको क्रममा विद्यालयको कोषमा रहेका दश लाख रुपियाँ चलाएको स्वीकार्नु भएको छ । यसै गरी वडा अध्यक्ष विकुलाल तामाङ (मोक्तान)लाई विद्यालयको रकम गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले प्रयोग गरेको बारेमा सोध्दा ’ म स्वयम पनि व्यवस्थापन समितिको सदस्य हो तर मलाई नै यो बारेमा जानकारी छैन । कानुनी रुपमा यो गलत प्रक्रिया हो । ’उहाँले बताउनु भयो ।
व्यस्थापन समितिका अध्यक्ष सलाम सिं तामाङले कानुनी रुपमा गलत भएता पनि विद्यालय व्यस्थापन समितिको बहुमतले निर्णय गरेको बताउनु भएको छ तर सोहि विद्यालयका शिक्षक टंक लामाले भने ’असहमती जनाउँदा(जनाउँदै पनि जानकारी नै नदिई रकम प्रयोग गरेको ’ बताउनु भयो ।
बन्दै गरेको भवनको बारेमा भन्दा पनि साझा संस्था विद्यालयको कोषमा रहेका रकम अध्यक्षले पदको दुरुपयोग गरी प्रयोग गरेको विपक्ष दलले आरोप लगाएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend