logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अनामणिको ‘खस्रो हात’ भित्र पस्दा


  • जन आकाश
  • मंगलबार, मंसिर ४ २०७५

 



 

तेजप्रकाश बानिया पुर्व साहायक रथिको कलमवाट ।

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक ‘खस्रो हात’ लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो ।
बहुआयामिक प्रतिभाका धनी साहित्यकार अनामणिलाई खालि हात कुनै पनि बेला बसेको देख्न पाईदैन। कुनै न कुनै काममा आफुलाई व्यस्त राख्दछन्। नवआगन्तुकले जुन बिषयमा उहालाई व्यस्त देख्दछ त्यसैको बिज्ञ हो कि भन्ने भान हुन्छ तर बास्तबिकता त्यो होईन। हामी परिचितहरुका लागि उनी धेरै बिषयमा बिज्ञ छन्। एकल व्यक्तिले धेरै बिषयमा हात हालेर पूर्ण सफलता प्राप्त गर्नु भनेको एक प्रकारको चमत्कार नै हो ।
अनामणिद्वारा उत्पादन र बिक्री समेत ६ वटा महत्वपूर्ण उद्योगहरु सफलता पूर्वक संचालन भैरहेका छन्। साहित्य साधनालाई एउटा उद्योगको रुपमा थप गरेर ७ वटा उद्योगलाई काँधमा बोकेर गन्तब्य तर्फ लम्किरहेका छन् । साहित्य,ब्यापार,उद्योग र समाजलाई समायोजन गरि संगै लैजाने क्षमता राख्ने अनामणि नेपाली साहित्य जगतमा उदाउँदो ताराका रुपमा देखा परेका छन् । उनको भविष्य उज्वल छ । उनले आफ्नो पहिचान स्थापित गरिसकेका छन्। साहित्यलाई नै जीवनको लक्ष्य बनाएर अनवरत रुपमा साधनामा लाग्नेहरुलाइ पनि साहित्यका सबै विधामा निपूण हुन गाह्रो पर्ने भएकोले एकदुई विधामा मात्र गहिराईसम्म अध्ययन गर्ने र बाकि विधालाई सतही अध्ययन गर्ने गरेका छन् तर अनामणिको सवालमा यो धारणा लागु हुदैन। उनी साहित्यका सबै विधामा कुशलता पूर्वक कलम चलाउछन्। धेरै मानिसहरु उच्चताका लागि सफलताको पछाडि दौडीरहेका हुन्छन तर अनामणिको हकमा सफलाता नै पछि लागेर आउछ । यतिमात्र नभएर उनी ललितकला विद पनि हुन् । चित्र कोर्ने काम बेलाबेलामा गरि नै राखेका हुन्छन। समाज सेवामा पनि अनामणि भनेर परिचित भैसकेका छन्। पशु तथा चराहरुको आवाज दुरुस्त निकालेर नक्कल गर्न पनि त्यतिकै माहिर छन्। कुनै कार्यक्रमका लागि नौलो ठाउमा गएको बखत कुशल उद्घोषणका साथ विभिन्न आवाज निकालेर मनोरंजन दिई नै राखेका हुन्छन।
गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेशनद्वारा बजारमा ल्याएको ‘खस्रो हात’ अनामणिको २१औ प्रकाशित कृति हो। यस अघि गजल, हाईकु, गीत, कविता, मुक्तक, चुट्किला, भूमिका संकलन,गीताको सार,आयुर्बेद,३० दिने अंग्रेजी समेत गरि २० वटा पुस्तकहरु प्रकाशित भई पाठक सामु पस्किसकेका छन्। यस पुस्तकमा लामो र छोटो गरि २१ ओटा गध्य कबिताहरु समाविष्ट छन्। पुस्तकको सुरुमा भूमिकाको रुपमा विद्वान डा.शैलेन्द्रुप्रकाश नेपालले लेख्नु भएको ‘खस्रो हात’को मार्मिक कथा शिर्षकको सारगर्भिक लेखले पुस्तकको गरिमा अझै बढाएको छ।
पुस्तकमा संग्रहित कविताहरु सरसर्ती हेर्दा चुलोचौको,घरधन्दा देखि गाउँ समाजमा घटेका र अनुभुत गरेका घटनाक्रम र सामाजिक बिकृतिलाई कलात्मक ढंगले कबिता मार्फत पाठक सामु पस्केका छन्। यसै गरी धर्मसंस्कृति , दर्शन,राजनीति,गाउमा रहेका खेतबारीको अवस्था र बिग्रिएको व्यवहार,बुढाबुढीको बेहाल,बिदेसिएको छोराछोरीले बाबुआमा प्रति देखाएको गैरजिम्मेवारीपन आदि कारणले देशमा नैतिक शिक्षा र श्रवण कुमारहरुको अभाव खड्किएको महसुस गर्छन। यसैगरी समाजमा बढेको ढोंगीपना, एन.जी.ओ. र आई.एन.जी.ओ. हरुले गरेको बिकाश र सहयोगको नाममा भित्र्याएको बिकृति,समाजको बिखण्डन, धर्मसंस्कृति प्रति अतिक्रमण, पश्चिमाहरुको चालबाजी, सदियौंदेखि भाईचाराका साथ अडेको हाम्रो मिस्रित बसोबास, सामाजिक बनोट प्रति इष्र्या, भ्रस्टाचार,अनियमितता एवं जीवनका आरोहअवरोह जस्ता गहन बिषय समावेश गरिएकोले यो पुस्तक पठनीय तथा संग्रहनीय छ । सरल,सरस र सहज भएका यी कबिताहरु वास्तबमा मानवीय संवेगसँग निक्कै नजिक रहेको पाईन्छ ।
पुस्तक प्रकाशन गर्न अलि हतार गरेजस्तो छ। हुन त हतार नगरे काम भ्याउन पनि सकिदैन। हतारकै कारणले होला छपाईमा पनि केही त्रुटीहरु छन्। पुस्तकमा २१ वटा कविताहरु संग्रहित भएपनि भूमिका लेखनमा भने १५ वटा मात्र भनिएको छ। बहुआयामिक प्रतिभाका धनी अनामणि सार्है लगनशील छन्। नेवारी र नेपाली भाषामा उनको कलम सरर चल्छ,साहित्य सुधापानलाइ नशा सेवनका रुपमा लिने उनी साधना मै व्यस्त र मस्त रहने व्यक्ति हुन्। उनलाई कुनै कुरा सम्झाउन,अह्राउन हुदैन,बोल्यो कि पोल्यो भने जस्तै उनको आदत छ। कुनै बिषयमा लेख्न मन लाग्यो की २र३ दिनमा त्यो बिषयले पुस्तकाकार लिइसकेको हुन्छ। बहुआयामिक क्षेत्रमा लागेर नथाक्ने स्रस्टामा उनको नाम अग्रणी भैसकेको छ। उनको साहित्य लेखन घनीभूत रुपमा अगाडी बढोस् र नेपाली साहित्यले उनको सेवा पाईरहोस्। भविष्यमा पाठक वर्गमा उनका कृतिहरु अझै रुचिकर बन्दै जाउन् भन्ने शुभकामनाका साथ कलम बन्द गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend