logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

संगठित हुँदै जाने क्रममा क्षेत्रीका थुप्रै संगठन देखिएका छन् ती एउटै क्षेत्रीहरुको संगठन हो


  • जन आकाश
  • बिहिबार, पुष २६ २०७५

 



नेपालमा सबैले आआफ्नो जातको झुण्डमा झुण्डिसकेका छन् । तर नेपालको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्री जातिले कहिल्यै जातिको कुरा गरेन बरु नेपालमा हिंसा भड्किन लाग्दा समेत राष्ट्रिय सद्भाव र एकताको आवाज उठाएर सबै नेपाली एकै हौँ । सबै नेपालीले सम्पन्न र सुखी हुनुपर्छ भन्ने आवाज उठाएर देशमा हुन लागेको सम्प्रादायिक हिंसालाई रोक्न सफल भएको थियो । त्यतिबेला प्रा.डा. दिल बहादुर क्षेत्री, योगेन्द्र कार्की,  लगायतको नेतृत्वमा क्षेत्री लगायत सम्पूर्ण नेपालका जातिहरुलाई एकतामा जोड्ने काम गरेका थिए । त्यसैमध्यका योगेन्द्र कार्की त्यस क्षत्री समाज नेपालका उपाध्यक्ष थिए उनै कार्कीसँग यस पटक हामीले कुराकानी गरेका छौं ।

० स्वागत छ जनआकाश मिडियामा ?
धन्यवाद
० तपाई क्षेत्री समाज नेपालको उपाध्यक्ष हुनुहुन्छ, क्षेत्री समाज नेपालले अहिलेसम्म गरेका कार्यक्रमको बारेमा भनिदिनुस न ?
क्षत्री समाज नेपालको स्थापना नै क्षेत्रीहरुको हक, अधिकार स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको हो । विगतलाई सम्झिँदा २०६२।०६३ को जन आन्दोलन पछि स्थापित सरकराले अधिकार बाँड्ने नाममा क्षेत्रीहरुलाई अन्य भनेर राखेको थियो त्यो अधिकारबाट वञ्चित भएका क्षेत्रीहरुले खस, आर्य भनेर एउटा अधिकार पायौँ तर त्यहाँ खस र आर्य एउटैमा राख्दा बाहुनहरुले सम्पूर्ण कोटा ओगट्दा त्यो अहिले अभ्यासमा बाहुनले मात्र सुविधा पाए । त्यसकारण यो खस कमा र बाहुन भनेर त्यसलाई छुट्याउनुपर्छ अनिमात्र त्यसको सार्थकता हुन्छ ।
अर्को २०६२।०६३ को आन्दोलन पछि २०६५ मा संविधानसभाको निर्वाचन पश्चात देशमा एक खालको अन्यौलता उत्पन्न भएको थियो । त्यतिबेला जातीय, सम्प्रदायिक हिंसा भड्कन लागेको बेला क्षेत्रीहरुले आफ्नो जातिय संगठन बनाए पनि मुलुक बचाए र इतिहास राख्न सफल भएका छन् । त्यतिबेलाका नेकपा माओवादीका प्रचण्ड र डा. बाबुराम भट्टराईहरुले विभिन्न ठाउँमा जातिहरुको नाममा राज्य बाँड्दै जाँदा क्षत्रीहरुले यो मुलुक जातीय राज्य हुनु हुँदैन जातीय राज्य भयो भने यो मुलुक बिखण्डन हुन्छ । त्यसरी जातीय राज्य बनाउन दिनु हुँदैन भनेर क्षत्रीहरुले अडान लिएका थिए । उनीहरु आज सफल पनि भए र क्षत्रीहरुको हक अधिकार सुनिश्चित गर्न मात्र नभई मुलुकको अखण्डता बचाउन पनि अहम् भूमिका निर्वाह गरेका छन् ।
यही सकारात्मक भावना राष्ट्रिय एकता धार्मिक सहिष्णुता कायम गरेर पोखराबाट शुरु भएको क्षत्री समाज नेपालको सन्देश देशैभरी प्रवाह भयो र देशैभरीका क्षेत्रीहरुले आआफ्नो ठाउँबाट नेपाल राष्ट्रको लागि सबै नेपाली समान अधिकार कुनै नेपालीलाई पनि गर्नुहुन्न भेदभाव भन्ने नाराले सबै नेपालका जातजाति भाषाभाषीहरुमा भड्कीसकेको मनलाई भावनात्मक एकतामा बाँड्ने काम गर्यो । परिणामस्वरुप देश शान्तिपूर्ण निकासमा गयो र आजसम्म आइपुग्दा क्षेत्रीहरुको सुझबुझपूर्ण संभ्यता, तरिकाले नै नेपालको शान्ति स्थायित्व साथै राष्ट्रको एकता बाँचेको छ ।
त्यही क्षेत्रीहरुको साहस, संयमता, सुझबुझपूर्ण राष्ट्रको लागि योगदानको सकारात्मक इतिहासलाई वर्तमान सम्म र भविष्यमा समेत नेपाल राष्ट्रका लागि जतिबेला आवश्यकता पर्छ त्यतिबेला क्षेत्रीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपालका ७७ वटै जिल्लामा क्षत्री समाज नेपालले आफ्नो संंगठन मार्फत सन्देश, कार्यक्रम, व्यवस्थित ढंगबाट अगाडि बढाइरहेको छ ।
० क्षेत्रीहरुको सद्भाव र एकताले देश बचाएको तर्क त तपाइले बताउनुभयो तर क्षत्रीहरुका थुप्रै संगठन देखिन्छन् उनीहरुमा एक ठाउँमा नहुनुको कारण चाहिँ के देख्नुहुन्छ ?
म तपाइलाई के प्रष्ट पार्न चाहन्छु भने क्षेत्रीहरुको विभिन्न संगठन छन् भन्ने समाजमा बुझाई छ । त्यो भ्रममात्र हो । किन हो भने त्यतिखेर क्षत्रीहरु संगठित हुने क्रममा पूर्वबाट युवराज कार्कीले नेतृत्व गरिराखेका थिए भने पश्चिमबाट प्रा.डा. दिलबहादुर क्षत्रीले नेतृत्व गरिरहेका थिए, उपत्यकाभित्रबाट योगेन्द्र कार्की म स्वयं थिए । यसरी सबैतिरबाट मिलाएर संगठन निर्माण गरेका थियौ । सुदुरपश्चिमबाट, दाङबाट विभिन्न ठाउँहरुबाट प्रतिनिधित्व भएको थियो । अहिले सबै जिल्लामा सक्रिय संगठन भएको एउटैमात्र संगठन क्षेत्री समाज नेपाल हो । क्षेत्रीहरु स्वतस्फूर्त विभिन्न स्थानीयमा समेत संगठित हुँदै जाने क्रममा मात्र थुप्रै संगठन देखिएको हो तर ती सबै क्षत्री संगठन हुन ती एउटै क्षेत्रीहरुको संगठन हो । हामी एकताबद्ध छौं एउटै छौँ ।
० क्षत्रीहरु सबै पार्टीहरुमा छन् तर क्षत्रीहरु मूल नेतृत्वमा देखिँदैनन् यसको कारण के होला ?
सबैभन्दा महत्वपूर्ण के जानकारी गराउँ भने एकसयभन्दा धेरै जाति भएको देश नेपालमा सबैभन्दा बढी जनसंख्या भएको जाति क्षत्री हो । यसको जनसंख्या करिब करिव ४५ लाख छ । यो पहिलो धेरै जनसंख्या भएको जाति हो । क्षत्रीहरु किन पछाडि परे भन्ने यो वडा अध्ययनको विषय भयो । अध्ययन गर्दा शिक्षाको पछाडि पर्दा नै पछाडि परेका रहेछौं विगतलाई हेर्दा पहिला बाहुनहरु पूजापाठ गर्नको लागि संस्कृति पढ्थे क्षेत्रीहरुको पुरेत बाहुन हुने चलन अहिले पनि छ । राणाहरुले पनि क्षेत्रीहरुलाई शिक्षित हुनबाट वञ्चित गरे सदरमुकाम तिर बस्ने व्यापारी नेवार, समुदाय अनि शिक्षित भएको देखिन्छ पृथ्वीनारायण शाहको पालमा देश एकीकरण गर्ने क्रममा डाँडाकाँडामा लड्न भिड्न पठए कतै कतै काजीसाजी बनाएका थिए । यसो हेर्दा क्षेत्रीहरुले नै क्षेत्रीलाई शिक्षाबाट वञ्चित गराएको मैले पाउँछु । अव त क्षेत्रीहरुको दिमागमा लागेको विर्को खोलिनुपर्छ । क्षेत्रीले क्षेत्रीलाई शिक्षित गराउने कुरामा पछि हट्नु हुँदैन ।
० २०७२ नयाँ संविधान जारी भएको छ । त्यस संविधानमा सबै जातिका आरक्षण कोटाहरु छन् । तर सबैभन्दा बढी जनसंख्या भएको क्षत्री जातिको कुनै पनि कुरामा संरक्षण गरेको छैन अव के हुन्छ ?
यहाँ अत्यन्तै भेदभाव भएको छ । अन्याय भएको छ । हामीले जनसंख्याको आधारमा समानुपातिक कोटा प्रणाली लागु गर भनेका छौं । आरक्षण कोटा नै लागु गर्ने हो भने जात छुट्याएर होइन ति जुनसुकै जातका हुन् गरिबीका रेखामुनि रहेकाहरुले आरक्षण पाउनुपर्छ । होइन जातका नाममा आरक्षण दिने हो भने जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गराउन हाम्रो क्षत्री समाज नेपाल लडाई लड्न तयार छ । सम्बन्धित निकायले यो देशको महत्वपूर्ण सर्वमान्य सिद्धान्तलाई बेलैमा बुझ्नुपर्छ । अन्यथा क्षत्रीहरुको आन्दोलनको लडाइले जितेर आफ्नै ढंगको कानुन बनाउन क्षत्रीहरु बाध्य हुनेछौं । त्यसकालागि हामी नयाँ चरणको आन्दोलनको तयारीमा छौं ।
० त्यो आन्दोलन कहिलेबाट शुरु हुन्छ भनिदिनुस न ?
समय आएपछि सार्वजनिक गर्छौ । अहिले भनि हाल्न मिल्दैन ।
० अन्त्यमा
यो मुलुकमा सबै जातिजातिहरु मिलेर बनेको मुलुक हो । हिमाल पहाड तराई मिलेर बनेको भूगोल । हजारौं हजार वर्ष अगाडिदेखि सद्भाव र एकतामा बाँधिएर नेपाल राष्ट्रको लागि सबै नेपाली एक भएर हाम्रो अस्तित्व जोगाएका थिए । आज केही वैमनस्यताहरु रोपेर निकै खतरापूर्ण कामहरु भइरहेका छन् । विगतमा जस्तै सबै नेपालीहरु मिलेर एकतामा बाँधिएर विकास निर्माणको कामहरु गर्दै अगाडि बढ्यौ भने हाम्रो भौतिक पूर्वाधारहरु पनि बन्छन् । आर्थिक उन्नति पनि हुन्छ र समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्ने लाग्छ । तपाइहरुको यो जन आकाश साप्ताहिकलाई मेरो चिवार राख्न दिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend