जन आकाश
काठमाडौं । काठमाडौं उपत्यकावासीहरुलाई स्वच्छ, शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले झण्डै २८ वर्ष अगाडि शुरु भएका मेलम्ची खानेपानी योजना २०७५ सालको चैतको सुख्खा मौसममा समेत काठमाडौंमा सुकेर बसेका धारामा जोड्न सकेको छैन । २०७६ साल वैशाख महिना झनै सुख्खा मौसम बन्दैछ । हरेक वर्ष चैत र वैशाख महिनामा जताततै भएका पानीका मुहानहरु सुक्ने गर्छन् त्यसमाथि पनि काठमाडों उपत्यका भित्र त बढ्दो मानव घनत्व र भौतिक संरचना तिब्र भइरहँदा जमिनमुनीबाट तानिएका इनार, पम्पिङ प्लान्टहरु सुक्दै गइरहेका छन् ।
अचेल दिनहुँजसो खानेपानीको अभावमा काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरु खानेपानी खोज्न खाली ग्यालिन, गाग्री बोकेर यताउता हिँडिरहेको देखिन्छ । कतैकतै मात्र खानेपानी आउने धारामा पानीको लागि तछाँड मछाँड गर्दै झैझगडा समेत गरेको देखिन्छ । जहाँ अभाव त्यहाँ तनाव खानेपानीको अभावमा राजधानीमा बसोबास गर्ने धेरैजति मानिसहरुमा तनाव भइरहेको छ । मानिसको अति आवश्यक नभइ नहुने खानेपानी जस्तो संवेदनशील विषयमा नेपाल सरकारले ध्यान नदिँदा जलस्रोतको धनी देश नेपालमा शुद्ध खानेपानीको अभावमा विभिन्न खालका रोगहरु उत्पन्न भई विकराल रुप लिन सक्ने देखिन्छ । यसरी सिंगो देशलाई नै असर पार्ने गरी खानेपानीको अभाव भइरहेको बेलामा छिटोछिटो काम गरेर मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी उपत्यकावासीहरुलाई राहत दिनु पर्ने देखिन्छ । तर प्रत्येक महिनामा मेलम्ची खानेपानी आयोजनाको प्रगति ९० प्रतिशत भन्दै प्रतिवेदन बनाको बनाई गरेको एक बर्ष बितिसक्यो सबैभन्दा कठिन मानिएको २७.२ किलोमिटर अध्ययन सुन्दरीजल शुरुङ्गमार्ग ब्रेक थु्र भएको पनि डेढ वर्ष हुन लागिसक्यो । तर पनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा आइपुग्न सकेको छैन । यसको भित्री रहस्य के छ ? कहाँ किन कस्ले विलम्ब गरिरहेको छ । यसको खोजीनिति गरी मेलम्ची खानेपानी आयोजनाको निर्माण चाँडै सम्पन्न भएर तातो यो गर्मीमा चिसो पानी कलकल पिउने आशा उपत्यकाबासीहरुले गरिरहेका छन् त्यो आशा नेपाल सरकारले कहिले पूरा गर्छ हेर्न बाँकी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend