जन आकाश
काठमाडौं । नेपालमा हुने ठूला व्यापारिक प्रर्दशनी मध्य ठूलो प्रर्दशनी मानिने ‘नाडा अटो शो–२०१९’ यहि भदौ १० देखि १५ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजानामा १४औँ संस्करणको नाडा अटो शो संचालन हुन गइरहेकोे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रदर्शनीले यस वर्ष भृकुटीमण्डपको कभर्ड हल, ठूलो चौर तथा बगैंचासमेतको क्षेत्रफल ओगट्ने नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए । प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुटटै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
नेपाली महान चाड–पर्वहरुको पूर्वाद्धमा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास लिइएको छ । प्रर्दशनीमा साना–ठूला गरी एक सय ६० वटा स्टलहरु रहने नाडाले जनाएको छ ।
सर्वो वल्र्ड लुब्रिकेन्ट्सको प्रायोजन र ग्लोबल एक्स्पोजिसनको व्यवस्थापनमा हुन लागेको प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे सवारी, १९ वटा ब्राण्डका २ पाङ्ग्रे सवारी, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पाटपुर्जा र ग्यारेजका उपकरणहरु रहने छन् भने १३ वटा वित्तिय संस्थाहरुको पनि सहभागिता रहने नाडा तयारी सममितिका संयोजक निराकर श्रेष्ठले जानकारी दिए । यस वर्ष विद्युतीय र हाईब्रिड गरी ५ वटा कम्पनीहरुले सहभागिता जनाउँदै छन् भने यसवर्ष केही नयाँ कम्पनीले समेत आफ्नो प्रडक्ट ल्याउने तयारी गरेको संयोजक श्रेष्ठले बताए ।
बिगतका नाडा अटो शो भन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरुको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतकालागि यस वर्ष अस्थाई आकाशे पुलको निर्माण पनि गरिने भएको छ । पार्किङ्ग स्थलको चरम अभाव भएता पनि प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी शुल्कसहितको पर्याप्त पार्किङको व्यवस्था गरिएको छ ।
६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जिपिएक्स जेन्टलमेन २०० सिसि क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ । प्रवेश शुल्क विद्यार्थीलाई १५० रुपैंयाँ र अरुलाई २०० रुपैंयाँ तोकिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend