जन आकाश
चितवन,असोज ४ गते
चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने र साविककै शुल्कमा लिने सहमति भएको छ ।विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उहाँले बताउनुभयो । बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यती नैछ भन्ने यकिन हुने प्रजिअ बस्नेतले बताउनुभयो ।मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्द लगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायत बीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको हो।सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलन भएकै कारण १९ दिनदेखि पठनपाठन बन्द थियो । कलेजको २६ वटा सङ्कायमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो सोही र्निदेशनपछि चितवन मेडिकल कलेज लचिलो बनेको हो देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend