जन आकाश
काठमाडौं, ३ असोज । भारतको कोलकत्तामा हुनगइरहेको प्रोफेशनल के वान किक बक्सिङ्ग च्याम्पियनशिप प्रतियोगितामा भाग लिनजान लागेका नेपाली खेलाडीलाई बिदाई गरिएको छ ।
यही अक्टोबर १८, १९ र २० तारिख भारतको कोलकत्तामा हुनगइरहेको प्रतियोगितामा सहभागीता जनाउने खेलाडीहरुलाई मंगलबार एक कार्यक्रमका बिच बुशिडो कोन्सेइकाई एमएए म्युये थाईले गौरिशंकर पाटी प्यालेसमा प्रदेश सभाका सदस्य राधा घलेको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनको लागि नेपालको तर्फबाट मन्दीप राना मगर, विश्वास राई, सविन लामा, रावल ठकुरी, बरुण घले, सन्तोस साउथ, विशाल तामाङ्ग र रोजेश खड्का रहेका छन् । सो प्रतियोगितामा टिम प्रशिक्षकमा बिशाल तामाङ्ग र टिम म्यानेजरको भूभिका अस्मिता रायमाझीले गर्नेछन् ।
खेलाडीको लागि आवश्यक प्रक्षिण, आउने जाने तथा व्यवस्थापन खर्च समेत क्लबले नै व्यहोरेको बुशिडो कोन्सेइकाई एमएए म्युये थाइका अध्यक्ष उमेश गुरुङ्गले कार्यक्रममा जानकारी दिए । उनले खेलाडी व्यवसायीकरण गर्न अझै पनि राज्य चुकिरहेको गुनासो व्यक्त गरे ।
प्रमुख अतिथि तथा प्रदेश सभासद राधा घलेले खेलाडीको आत्मबल बलियो बनाउन र खेलाडीका हक–अधिकारको लागि राज्यले धेरै काम गर्न बाँकी रहेको बताइन । केन्द्रदेखि स्थानीय स्तरमा रंगशाला बनाउनु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा प्रदेश सभासद् दिपेन्द्र श्रेष्ठ, प्रशिक्षक रामजी बज्राचार्य, सशस्त्र प्रहरीबलका प्रहरी उपरिक्षक केपी बराल लगायत विभिन्न सभासद् तथा प्रशिक्षकहरुले खेलाडीहरुको सक्छु भन्ने आत्मबल बलियो बनाइ खेल मैदानमा गए सफलता हात पर्ने बताए ।
कोलकत्तामा हुने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा १० राष्ट्रका खेलाडीहरु सहभागिता रहने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend