जन आकाश
सिमा अतिक्रमण भएदेखि नै सरकारले भारतसँग कुटनीतिक पहल जारी राखेको भए नेपालले यस्तो अवस्था भोग्नुपर्ने थिएन । एक अर्कालाई दोषारोपण गर्दै कलहको विऊ रोप्नु भन्दा समझदारीको माध्यमबाट नै समस्या हल हुने उत्तम विकल्प हो । यस्तो कुटनीतिक चातुर्यता पंचायतकालिन सरकार र दलिय सरकारले देखाउन सकेनन् । पंचायत शुरु भएको करिव एक वर्ष पछि अर्थात २०१८ सालमा भारतीय सुरक्षाकर्मीको चेकपोष्ट बस्यो कालापानीमा । पछि विस्तार गर्दै भारतले आफ्ना सुरक्षाकर्मीको संख्या बढाउँदै लगेको हुँदा हुँदा ०७६ सालसम्म आइपुग्दा भारतले कालापानी सहित लिम्पियाधुरा र लिपुलेक समेत ख्वात्तै निल्दै आफ्नो नक्सामा सामेल गरायो । यस प्रवृत्तिलाई सानो देश नेपाल प्रतिको हेपाहा प्रबृत्ति मात्र नभएर सिक्किमी करणको नयाँ शैली भारतले प्रस्तुत गरेको प्रष्टसँग देख्न सकिन्छ ।
भारत र पाकिस्तानको युद्धताका राजा महेन्द्रले भारतीय सेनालाई केही समयका लागि भन्दै कालापानी क्षेत्रमा अस्थायी पोष्ट राख्न अनुमति दिएको र युद्धको अन्त्य भएसँगै भारतीय सेना कालापानीबाट हट्नु पर्नेमा नहटी अझै मजबुद किसिमले सुरक्षा बन्दोबस्त गरी बसेर भारतीय सेना हटाउने पहल सरकारले नगरेका कारण यस्तो दुःख लाग्दो नतिजा नेपालीहरुले बेहोर्नु परेको छ ।
नगुम्नु पर्ने भूभाग गुमेको छ । यसलाई फिर्ता ल्याउन पनि कठिन छ किनकी भारतले नयाँ नक्सालाई आफ्नो आधिकारिक नयाँ नक्सा भनेको छ । जतिसुकै कुटनीतिक बल प्रयोग गरे पनि र जतिसुकै प्रमाण जुटाएर प्रस्तुत भए पनि भारतसँग गुमेको भूमि फिर्ता लिन महाभारत सावित हुने डरलाग्दो स्थिति छ । किनकी राजतन्त्रको महेन्द्रकालिन युगमा नभएको प्रगति घुसखोरी र भ्रष्टाचारी प्रबृत्ति भएका हाम्रा दलीय नेतासँग भूमि फिर्ता लिने क्षमता छैन । ६० वर्ष पछिसम्म पनि यस्ता घटना ज्युँकात्यूँ रहनुले नेपाल सरकारको कूटनीतिक असमर्थतालाई राम्रोसँग प्रष्ट्याउँछ ।
तर हिम्मत हार्नु हुँदैन भन्ने मान्यता सत्तारुढ पार्टी तथा अन्य सबै पार्टीका नेतामा रहनु पर्दछ । अब ढिला गर्नु हुँदैन, रात छिप्पिइसकेको छ र अग्राख पनि पलाइसकेको छ । थप दुर्दशा हुन नदिन कटिबद्ध भएर लाग्नुपर्ने बेला छ । जङग बाहादुर राणा जस्तो गुमेको भुभाग फिर्ता लिन सक्ने आट भएको नेर्तत्व चाहिएको छ । किनभने सिक्किमीकरणको नयाँ मिनी शैली नेपालमा प्रस्तुत भइसकेको छ । नयाँ लेन्डुप दोर्जेको नेपालमा खोजी भइसकेको जस्तो देखिएको छ । “होली वाइन” खाएर एकलाख डलर पुरस्कार लिएजस्तो गरी करोडौं, अर्बौ धनराशीमा भारतले नयाँ लेन्डुपको खोजी नगर्ला भन्न सकिन्न । “सबैलाई चेतना भया ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend