जन आकाश
नेपालमा निर्वाचनहरु खर्चिलो र भड्किलो हुँदै गएका छन् । जसले गर्दा समाजमा योगदान पु¥याएका व्यक्ति भन्दा समाजमा उदण्ड मच्याएर बलजफ्ती समाजलाई तर्साएर पैसा कमाएकाहरुले मात्र चुनाव जित्ने प्रचलन पछिल्लो २०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाले त्यही देखाएको छ ।
त्यो समस्या कुनै एउटा पार्टीमा मात्र नभएर अधिकाँश पार्टीहरुमा त्यस्तो प्रबृत्ति देखियो र जुन पार्टीबाट जनप्रतिनिधि आए पनि समाजलाई, राष्ट्रलाई योगदान गर्न सक्ने व्यक्तिहरु नेतृत्वदायी भूमिकामा आउन सकेनन् । त्यसैको असर अहिले देशले भोगिरहेको छ । नेपाल संघीय प्रणालीमा गइसकेपछि स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकारमा अधिकार बाँडफाँड गरेर कार्य प्रणाली सुचारु भइरहेको छ । त्यस अधिकारको समुचित सदुपयोग गर्नुको साटो स्थानीय सरकार प्रमुखहरुले गर्ने गरेको भ्रष्टाचार, मनोमानी ढंगबाट गर्ने गरेको काम र स्थानीय प्रदेशमा स्थायी कर्मचारी र जनप्रतिनिधिहरुवीचको फाटो टकराव र २–२ महिना प्रशासकीय अधिकृत सरुवा भइरहनु पर्ने समस्या देखिएका छन् । त्यो समस्या निर्वाचनका बेला पढेलेखेका, समाज बुझेका योग्य दक्ष नभएका व्यक्तिहरुलाई पार्टीले चुनावमा पैसा खर्च गर्न सक्ने आधारमा उम्मेदवार बनाएर पठाए तिनले गर्ने गरेको क्रियाकलाप क्षमता पनि त्यही स्तरको मात्र रहेको हुनाले कानून के हो समाज के हो, विकास कसरी गरिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासहरु के छन्, त्यस्तो अध्ययन आँशिक स्थानीय सरकारले गरे पनि अधिकाँश स्थानीय सरकारले अध्ययन गरेको पाइँदैन र जनतामा यतिबेला निराशाको बादल मडारिन थालेको छ ।
हुँदाहुँदा जनप्रतिनिधि त देशका जिम्मेवार, जवाफदेही, कर्तव्यपरायण हुनुपर्ने ठाउँमा कुनै जनप्रतिनिधि जुवा खालबाट पक्राउ पर्छन्, कुनै भ्रष्टचार मुद्धा लागेर अनुसन्धानको क्रममा छन् । कुनै जनप्रतिनिधले नक्कली कागज बनाएर नागरिकता बाँडेको समाचार पढ्नुपर्छ । यी सबै घटना विगतमा पार्टीहरुले उम्मेदवार छान्दा गरेको गल्तीका परिणामहरु हुन् । त्यसैले त्यो गल्तीबाट सिकेर उपनिर्वाचनमा अलि सक्षम, योग्य दक्ष समाजप्रति जवाफदेही व्यक्तिहरुलाई उम्मेदवार बताउनु पथ्र्यो । पार्टीहरुले विगतमा भन्दा केही सुधार गरेको भएपनि कतैकतै त्यस्तै प्रबृत्तिमा अनुहारहरु देखिएका छन् । त्यसमा जनता र निर्वाचन आयोगको सक्रियतामा निर्वाचित भड्किलो हुन नदिने र स्थानीय जनताले पनि क्षणिकको स्वार्थलाई हेरेर होइन नेपाल विकासको भविष्य सम्म देख्न सक्ने नेतृत्व छानेर उपनिर्वाचनलाई सभ्य र मर्यादित बनाउनु पर्छ । तव मात्र नेपालीहरुले चाहेको स्वाभिमानी देश बनाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend