logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेलिकम र नेपाल प्रहरी क्लब पुणः सम्झौता


  • जन आकाश
  • बिहिबार, मंसिर १२ २०७६

 



काठमाडौ
मोहन कार्की
नेपाल टेलिकमले एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ । यस सम्बन्धी दुवै निकायबीच (२०७६ मंसिर ११ गते) सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेकाछन् ।

सम्झौता अनुसार नेपाल टेलिकम २०७६ मंसीर ११ गते देखि नै लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । सो प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२,००,०००।– (बत्तिस लाख) रुपैयाँ उपलब्ध गराउने छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा हिजो आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गर्नुभयो ।

सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्ने छन् । जर्सीको अगाडि भागको माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ । त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ ।

उक्त अवसरमा प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताउनु भयो । उहाँले आगामी एक वर्ष कम्पनीको व्यावसायिकता र नेपाल पुलिस क्लबका खेलाडीको खेलजीवन साथसाथै लैजान पाएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र नेपाल टेलिकम बीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवद्र्धन गर्न समेत बिशिष्ट योगदान पुग्ने बताउनु भयो । खेल र खेलाडीलाई थप व्यावसायिक बनाउन यस्ता प्रयासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशकहरु तथा अन्य वरिष्ठ अधिकृतहरु एवं नेपाल प्रहरीको तर्फबाट प्रहरीका वरिष्ठ अधिकृतहरुका साथ क्लबका पुरुष तथा महिला खेलाडी तथा प्रशिक्षकको समेत उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend