logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

म नेपाली नेता

कविता


  • जन आकाश
  • बुधबार, फाल्गुन ७ २०७६

म नेपाली नेता



छन्द(शार्दुलविक्रीडित

केही काम भएन आज घरमा एक्लै बसेको छु म
कोही साथ भएन आज दलमा छुट्टै बसेको छु म
बोलीमा अब छैन जोश अघिको झुत्रे भएको छु म
कोही त्रस्त हुदैन आज सबले हेप्ने भएको छु म।।१।।

डिग्री साथ थियो घुमेर जगमा बाँडेँ अनेकौं कला
भाला काँध भिरेर घोर रणमा काटेँ अनेकौं गला
चन्दाको सजिलो थियो चलन त्यो बर्षा भयो नोटको
त्रासै त्रास छरेर गाउँ घरमा बर्षा भयो भोटको।।२।।

मातेँ मोज गरेँ बसेँ छल छरेँ कुर्सी भएको पल
स्वामीको गुणगानमा मन गयो कुर्सी चढेको पल
लाग्यो वाँण जसै अपार मतले कुर्सी फुकाले जब
गल्लीको डुलुवा भएर जगमा डुल्दै छु छुप्दै अब।।३।।

कैले जान्छु गया बिहार पटना दिल्ली सधैं धाउँछु
केही थान दया लिएर गुरुको गाथा सधैं गाउँछु
कासीका जलले भिजाउछु जटा रोटी उतै पाउँछु
आज्ञा मालिकको शिरोपर सदा आत्मा उतै लाउँछु।।४।।

मेरो जन्म यहाँ भयो नियतिले माया छ दिल्ली तिर
यो नेपाल सधैं अशान्त रहँदा लाग्दैन केही डर
बेचौं लाख नदी कठोर म बनूँ रोक्दैन कोही यहाँ
हल्लाको भरमा कुनैदिन छिटो मिल्नेछ कुर्सी जहाँ ।।५।।

कोशीको जलमा हिमाल बहदा सुस्ता हरायो गयो
काली गण्डकमा भुलेर रहदा नेपाल जल्दै रह्यो
कुर्सी एक भएर हो मनुजको उस्तै छ चाला यहाँ
सिङ्गै बेच्न भयो कठोर जननी काटिन्छ कित्ता यहाँ ।।६।।

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend