जन आकाश
काठमाडौं – लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड एलआईसी नेपालका कर्मचारीहरुले नेपालमा गैरकानुनी रुपमा काम गरिरहेको पाइएको छ ।
नेपालको कानुन अनुसार स्थापना भएको भारतीय जीवन बीमा कम्पनी एलआईसी नेपालले नियुक्त गरेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिईओ उपप्रमुख कार्यकारी अधिकृत डेपुटी सिईओ र कम्पनीका आईटी म्यानेजरले नेपालमा गैरकानुनी रुपमा काम गरिरहेको पाइएको हो ।
कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, डिसिईओ टुनटुन बुर्नवाल र सूचना प्रविधि विज्ञ संजिव कुमार अग्रवालले नेपालको कानुन अनुसार लिन पर्ने श्रम स्वीकृति नलिएर नेपालमा गैरकानुनी काम गरिरहेका छन् । नेपालका सम्वन्धित निकायहरुमा बुझ्दा उनीहरुले श्रम स्वीकृति नलिएको पाइएको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगर्तको श्रम तथा व्यवसायजन्य सुरक्षा बिभागले एलआईसी नेपालले आजसम्म कसैको पनि श्रम स्वीकृति नलिएको जनाएको छ । बिभागको सूचना शाखाकी शाखा अधिकृत कल्पना रेग्मीका अनुसार आजसम्म एलआईसी नेपालको एउटा पनि निवेदन नपरेको बताइन् ।
भारतको सरकारी बीमा कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेशनको ५५ प्रतिशत लगानी भएको एलआईसीले नेपालको कानुन भन्दा माथि रहेर काम गरिरहेको नियामक निकाय बीमा समितिले जनाएको छ । नेपालमा जीवन बीमाको क्षेत्रमा काम गर्ने भन्दै नेपालको नियम र कानुन अनुसार स्थापना भएको उक्त कम्पनीले नेपालको कानुनको धज्जी उडाउँदै गैरकानुनी धन्दा गरिरहदा बीमा समिति निरिह भएर बसेको छ ।
समितिले एलआईसीका ३ जना कर्मचारी भारतीय नागरिक रहेको जानकारी भएपनि उनी कुन कानुन र विधि अनुसार नियुक्त भएका हुन भन्ने जानकारी नभएको जनाएको छ । बीमा समिति पुगेको सञ्चारकर्मीको टोलीसँग कुरा गर्दै समितिका माथिल्लो तहका एक कर्मचारीले आफूहरुलाई पनि संंका लागेको बताए ।
नाम उल्लेख नगर्ने सर्तमा ति कर्मचारीले श्रम ऐन नमान्नुको कारण अरु केही भए खुलाउनु पर्ने बताए । एलआईसी जस्तै गरि स्थापना भएका अन्य कम्पनीहरुका कर्मचारीहरुले भने श्रम स्वीकृति लिएरै काम गरेको बीमा समितिको भनाई छ ।
के छ नेपालको कानुनमा ?
श्रम ऐन २०७४ अनुसार, नेपालमा नेपालको कानुन अनुसार स्थापना भएका जुनसुकै संस्थामा काम गर्ने बिदेशी नागरिकले अनिवार्य श्रम स्वीकृति लिनपर्ने व्यवस्था गरेको छ । श्रम ऐन २०७४ को दफा २२ को उपदफा १ अनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम इजाजत नलिई रोजगारदाताले कुनैपनि विदेशी नागरिकलाई श्रमिकका रुपमा काममा लगाउन नपाईने उल्लेख छ ।
श्रम ऐनका अनुसार नेपालमा स्थापना भएका कम्पनीहरुले सकेसम्म विदेशी नागरिकलाई काममा नलगाउन भनेको छ । यदी काममा लगाउने भए अनिवार्य श्रम स्वीकृति लिनपर्ने कानुनी व्यवस्था हुँदा हुँदै एलआईसीले नेपालमा लुट मच्चाउनकै लागि भारतीय नागरिकलाई काममा लगाएको छ । नेपालका स्थापना भएको पव्लिक लिमिटेड कम्पनी एलआईसी नेपाल जनतामा उत्तरदायी हुनपर्नेमा कानुनै उल्लङ्घन गरेर नेपालमा गैरकानुनी धन्दा चलाइरहेको छ ।
विदेशी नागरिकलाई नेपालमा काममा लगाउनका लागि धेरै कुराहरुले बन्देज गरेको भएपनि एलआईसी नेपालले आफू भारतीय कम्पनी भएकैले गैरकानुनी काम गरेको देखिन्छ । भारतको ‘ठुल्दाई’ पारा देखाएर नेपालको कानुन विपरित एलआईसीले काम गरेको सर्बोच्व अदालतका बरिष्ठ अधिबक्ता बोर्णबहादुर कार्कीको भनाई छ । नेपालको कानुनले कसैलाई पनि छुट नदिएको भन्दै अटेरी गरे अदालती प्रक्रियामा गएर एलआईसीलाई मुद्धा चलाउनपर्ने अधिबक्ता कार्कीको भनाई छ ।
उसको गैरकानुनी धन्दाको साँछी बीमा समिति बनेको छ । बीमा समिति र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडबीच भएका लेनदेनका विषयमा तयार पारिएको बिशेष सामाग्री आगामी अंक हेर्न सक्नुहुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend