जन आकाश
प्रधानमन्त्री के.पी. ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपण गर्ने चिकित्सकहरुको टिमलाई धन्यवाद दिनैपर्छ । प्रधानमन्त्रीले नयाँ जिवन पाउदा देशवासी सबै खुशी छन् । सफल प्रत्यारोपणले अर्को के सन्देश दिएको छ भने नेपालमा पनि दक्ष चिकित्सकहरुको कुनै कमि छैन । साथ–साथै मृगौला सम्बन्धि मात्र नभएर अन्य घातक रोगहरुको पनि नेपालमा उपचार सम्भव छ र भौंतारिदै विदेशका महंगा अस्पतालमा जानु नपर्ने अर्को गतिलो सन्देश पनि दिएको छ । प्रधानमन्त्रीले स्वदेशका डाक्टरहरुलाई विश्वास मानेर नै यति ठूलो शल्यक्रिया सम्भव भएको हो । यस सफल प्रत्यारोपणबाट स्वदेशका चिकित्सकहरुको मनोवल बढेको छ । अरु भन्दा हामी कमि छैनौ भन्ने सन्देश सबै नेतागणहरुलाई हाम्रा चिकित्सकहरुले दिएका छन् । हामी सवैले प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको स्वगत गर्नैपर्दछ सानो तिनो विमार लाग्दा राज्यको ढुकुटीबाट करोडौ स्वाहा बनाएर विदेशका महंगा अस्पतालमा भर्ना हुने र त्यसपछि आफुहरुलाई गौरवान्वित ठान्ने विशिष्ट कहलिएकाहरुले प्रधामन्त्रीको सफल शल्यक्रियाबाट पाठ सिक्न सक्नु पर्दछ ।
वरिष्ठ सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली र उहासंग प्रत्यारोपणमा संलग्न डाक्टरहरुको टिम दक्ष र अनुभवशिल रहेको बुझ्न सकिन्छ । भाञ्जी नाता पर्ने समिक्षा संग्रौलाको देव्रे कोखातर्फको मृगौला झिकेर चिकित्सकको टिमले प्र.म. केपी ओलीको दोश्रो मृगौला प्रत्यारोपण सफल बनाएका छन् । यो शल्यक्रिया चानचुने किसिमको होइन किनकी दोश्रो मृगौला प्रत्यारोपण एउटा जटिल शल्यक्रिया थियो । यस अघि दिल्लीको अस्पतालमा वरिष्ठ सर्जन प्रा.डा. अनन्त कुमारले ओलीको मृगौला प्रत्यारोपण गराएका थिए । उनी पनि प्रत्यारोपणका वेला दिल्लीबाट काठमाण्डौ आएका थिए । ब्याक साइडमा बसेर शल्यक्रियामा सघाउ पु¥याएका थिए । कतै केही तल माथि हुन्छ कि भनेर डा. अनन्त कुमारको सहयोग लिनको लागि ब्याक साइडमा राखिएको थियो ।
जे होस् प्रधानमन्त्री ओलीले नयाँ जिवन पाएका छन् । मृगौलाले राम्रो संग काम गर्न थालेको खण्डमा अरु ७ वर्ष ओली स्वस्थ्य रहनेछन् । प्रधानमन्त्री ओलीले अब निर्धक्कसंग बाँकी ३ वर्षको अवधीलाई सजिलै गुजार्ने छन् । किनकी उनमा उर्जा थपिएको छ, सहानुभुती बटुलेका छन् । २ वर्षमा विग्रदै गएका कामलाई सपार्दै र आउने काम कारवाहीलाई दह्रो संग आत्मविस्वासका साथ काम गर्ने जाँगर पलाएको छ । यस घटनाले सरकारमा उर्जा थपेको छ र सरकारमा रहेका मन्त्री र पार्टीमा रहेका वरिष्ठ देखि सबै कनिष्ठ नेताबाट प्रेरणा र सहानुभुती मिल्दै जाने विश्वास लिन सकिन्छ । गुट उपगुट लाई पनि चिदै एउटै मनसायले काम गर्ने प्रेरणा यस सफल प्रत्यारोपणले दिएको छ ।
मुलुकको विग्रदो राजनीति र त्यसले विगार्दै गएको सरकारका काम कारवाहीमा र प्र.म. ओली सचेत रहदै आत्मविश्वासका साथ अघि बढ्न जरुरी छ । त्यसो त प्रधानमन्त्री नै पार्टी अध्यक्ष भएकै कारण पार्टी प्रतिको जिम्मेवारी पनि लिनु पर्ने हुन्छ । खराव काम गरेमा खराव भन्ने र राम्रो काम गरेमा राम्रो भन्ने चलन वसालेमा पार्टी र सरकार दुवै तिरको राम्रो हुन्छ । घमण्डले दाह्रा नङ्ग्रा फिजाउन थाल्ने हो भने कतै पनि केही हात लाग्ने वाला छैन । देशको हावापानी माटोले अझै निर्धक्क संग ३ वर्ष काम गर्ने मौका प्रधानमन्त्री ओलीलाई दिएको छ । यस तनाव, नैराष्यता उपगुट, गुट आदीले जेलिदै जाने हो भने मृगौलामा थप समस्या आउने डाक्टरहरुको तर्क छ ।
सधैं भरी विमारै विमारले घेरिएर अस्पताल आइरहदा सरकारमा बाधा अड्चन आइरहन्छ । विरामी सरकार प्रमुखले राष्ट्र हाक्न सक्दैन भन्ने मान्यतालाई प्र.म. ओलीले अनुशरण गर्न सिक्नु पर्दछ । मानिस सधै भरी निरोगी रहदैन र रोगी हुने उसको इच्छा पनि हुदैन । तर समय परिस्थितिले उसलाई रोगी बनाइदिन्छ । दीर्घ रोगीलाई सधै भरी अवसर हुदैन । प्रधानमन्त्री भएकै कारण भनौ या राष्ट्र प्रमुख भएकै कारण ओलीलाई यस्तो अवसर जुटेको हो । समिक्षा संग्रौलाले पनि मामा भएका कारणले होइन राष्ट्र प्रमुख भएका कारणले आफुले ओलीलाई मृगौला दान गरेको बताएकी छन् ।
यस भनाइबाट पनि प्रधानमन्त्री ओली तथा उनको पार्टी नेकपा बढी विवेकशिल र चिन्तनशिल बन्न सक्नु पर्दछ ।
अर्काको शरिरको अंग झिकेर दाता बन्नु चानचुने कुरा होइन समिक्षा संग्रौला दानी भएकी छिन् । यस्तो अविश्मरणिय दानलाई चिर पर्यन्त नेकपाका नेताहरुले कहिल्यै विर्सनु हुदैन । हाम्रो देशमा गरिवीका कारण सस्तोमा मृगौला फेल हुदा उपचार नपाएर मर्नेको संख्या धेरै छ । सरकारले विपन्न वर्ग तथा गरिवीबाट आक्रान्त नेपाली दाजु भाइ, दिदी बहिनीका लागि यसै गरी उपचार पद्धती बसाल्दै गएमा देशको मुहार बदलिने थियो ।
सबै देशवासीहरुमा सर्वसुलभ उपचार को व्यवस्था गरियो भने हाम्रो देशमा रोगबाट आत्तिएर कोही कसैको मृत्यु हुने छैन भन्ने सन्देश राज्यले दिनु परेको छ । हामी मात्रै सबै थोक हौ भन्ने मान्यतालाई सरकार हाक्नेहरुले विर्सनु पर्दछ । अनि मात्र विरामीहरुको उद्धार हुनेछ । आफ्नो शरिरको माया जसरी आफुलाई लागि रहन्छ उसैगरी विपन्न गरिवीबाट आक्रान्त विरामीहरुका लागि पनि उचित राहत दिइ सबैलाई माया गर्न जान्नु पर्दछ । यसैमा राष्ट्रको कल्याण छ ।
लेखक जन आकाश साप्ताहिकका चितवन डेस्कका प्रमुुुुुुुख हुनुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend