logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलेज अफ मेडिकल साइन्सेस्को स्पष्टिकरण (हेर्नुहोस विज्ञप्ति जस्ताको तस्तै)


  • जन आकाश
  • मंगलबार, असार ३० २०७७

चितवन
राजधानी बाहिरका जनतालाई गुणस्तरीय र सर्वसूलभ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा उपलब्ध गराउने उद्धेश्यले झण्डैं २४ बर्ष अगाडि चितवनमा, कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) स्थापना भएको हो । नेपालकै मध्यभाग चितवनमा पूर्व र पश्चिम भेगका जनतालाई सानो सानो स्वास्थ्य समस्याका लागि पनि धेरै खर्च गरेर काठमाण्डौं उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य मात्रैं यस कलेजले गरेको छैन, मेडिकल शिक्षाका लागि विदेशीने करोडौं रकम स्वदेशमा नै रहने, २० प्रतिशत निशूल्क छात्रवृत्ति उपलब्ध गराउने र हजारौंको रोजगारी सिर्जना गर्ने कामसमेत यस कलेजले गरेको यहाँहरूलाई सर्वविदितै छ ।



चिकित्सा विज्ञानले विकास गरेका नयाँ र आधुनिक स्वास्थ्य उपकरणहरू खरिद, सेवालाई विशिष्टिकृत गर्ने काममा पूरानो मेडिकल कलेज हरदम लागि परेको छ । जोखिमलाई उठाउन सक्ने, चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ नयाँ प्रयोगहरु गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा दिई हजारौं जनताको जीवनलाई जोगाउने र परिवारमा खुसी फर्काउने काम यस स्वास्थ्य संस्थाले गर्दै आएको छ ।
नेपाल सरकारबाट वि.स. २०६९ सालमा पहिलोपटक राजधानी काठमाण्डौं बाहिर मृगौला प्रत्यारोपण सम्बन्धि स्वीकृती पाएको यस स्वास्थ्य संस्थाले हालसम्म चार जनाको मृगौला पीडित बिरामीको सफल प्रत्यारोपण गरिसकेको छ । २०७२ बैंशाख ११ र १२ गते दुई जनाको र २०७६ जेठ २७ गते र सोही बर्षको माघ ६ गते थप दुई जना गरेर हालसम्म जम्मा चार जना मृगौला पीडित बिरामीहरुलाई नयाँ जीवन दिन यस कलेज सफल भएको छ ।

नेपाल सरकार स्वास्थ्य सेवा विभागबाट यस शिक्षण अस्पतालले मानव अङ्ग प्रत्यारोपण सम्बन्धि अनुमति पत्र प्राप्त गरि मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ र मानव शरिरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ को अधिनमा रहि मानव अङ्ग प्रत्यारोपण निर्देशिकाको निर्देशन अनुसारको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कानुनी सल्लाहकार, अस्पतालका प्रमुख सञ्चालन अधिकृत र अस्पतालका चिकित्सक प्रतिनिधिसहितको ‘प्रत्यारोपण स्वीकृति समिति’ गठन गरि उक्त समितिको निर्देशन अन्तर्गत रहेर अङ्ग ग्रहण कर्ता र अङ्गदानकर्ताको सम्बन्धित स्थानीय निकायबाट नाता प्रमाणित र मन्जुरीनामा, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणित गरि साथै सरकारको प्रचलित कानुनको अनुसुचिमा उल्लेख गरिए अनुसारको फारमहरू भराई सोको आधारमा तथा अङ्ग प्रत्यारोपण समितिको विभिन्न चरणको अन्तरवार्ता पछिको स्वीकृतीअनुसार कलेजका तर्पmबाट पूरा गर्नु पर्ने सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरि सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी गराउँदछौं ।

नितान्त मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभ हानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको छ ।

यसै सन्र्दभमा २०७७÷०३÷२७ गते अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको भन्दैं यस कलेजका जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाण्डौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेको छ ।

कुनै पनि घटनाका बिषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यस सम्बन्धी जानकारी गराउनु, छानविनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अङ्गग्रहण कर्ताको परिवार वा दाताका बीचमा हुने सहमती तथा तत् सम्बन्धी कामका लागि राज्यका विभिन्न निकायबाट बनाइने कागजात र सरकारी निकायको कामप्रतिको विश्वासकै आधारमा कलेजले प्रत्यारोपण सम्बन्धी काम गर्दै आएको विगतको अनुभव छ ।

अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधी कलेजका तर्फबाट नभएको हाम्रो दावी खण्डित हुने छैन भन्ने विश्वास लिएका छौं । मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान गर्ने, जीवन बचाउने स्वास्थ्य संस्था र बिषेशज्ञ चिकित्सकलाई स्वतन्त्रतापूर्वक र झन्झटरहित ढंगले काम गर्ने गराउने वातावरण सिर्जना गर्ने कानुनी व्यवस्था गर्दा मात्रैं देशमा मानव अंग प्रत्यारोपणको दर बढ्ने र पीडितहरुले नयाँ जीवन पाउने ग्यारेन्टी हुन्छ भन्ने आभाष हामीलाई भएको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पक्कै जाने नै छ । विद्यमान कानुनी जटिलताहरू फुकाउन सकेको अवस्थामा मात्रैं सुस्त गतिमा रहेको प्रत्यारोपणको अनुपात बढ्ने विश्वास हामीले लिएका छौं ।

मानव अंग प्रत्यारोपण सम्बन्धी देशको प्रचलित ऐन र कानुनको आधारमा गरिएको प्रत्यारोपण र त्यस माथि उठेका विभिन्न प्रश्नहरुमा थप अनुसन्धानका लागि यस स्वास्थ्य संस्थाका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । सरकारको सम्बन्धित निकायको अनुसन्धान यथासिघ्र सत्य तथ्यसहित सम्पन्न हुने कुरामा पूर्ण विश्वस्त छौं ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend