जन आकाश
सुसेलीको अभियानमा साहित्यकारहरू
नेपाली काव्य परम्परामा लयात्मक सिर्जनाहरूको बाहुल्य रहेको छ । यिनै लय समात्दै साहित्यका विभिन्न विधाहरू सिर्जना गरिएका छन् । भौगौलिक विविधतासँगै विभिन्न लयमा सिर्जनाहरू वाचन गरिन्छन् । हाम्रा भजन, चुट्का र लोकगीतहरू यसैका ज्वलन्त उदाहरण हुन् । ५, ७, ५ शब्दलाई सूत्र मान्दै धेरै वर्षपहिलेदेखि नै धेरै रचना सिर्जना गरिएर गाइएका छन् भट्याइएका छन् । तर त्यही शब्द सूत्रमा जापानी भाषाको लघु कविता हाइकु बन्दोरहेछ । हाइकु चीनबाट जापान गएर विकसित भएको लघु कविताको रूप भएको मान्यता पनि कहीँ कतै उल्लेख पाइन्छ । यसर्थ चीन नेपालको छिमेकी राष्ट्र हो । छिमेकी राष्ट्र भएको नाताले नेपालबाट चीन हुँदै जापान गएको अनुमान लगाउन धेरै गाह्रो छैन । यसर्थ हामीले ५, ७, ५ संरचनामा लेखिने र लोकभाकामा मज्जाले गाउन सकिने सिर्जनालाई सुसेली नामकरण गरी अभ्यासमा जुटेका छौँ । यो शब्दसूत्रमा सर्वप्रथम गायन गर्ने जस आदरणीय साहित्यकार तेजप्रकाश बानियाँलाई जान्छ । तर त्यो कोठामा सीमित रहेको थियो । यसलाई मञ्चमा लगेर फस्टाउने कार्य आदरणीय साहित्यकार दुर्गा भमरकोटेले गरिरहनुभएको छ । यो शब्द सूत्रमा लेख्न र गायन गर्न अत्यन्त सजिलो भएको कारण आगामी दिनमा यसलाई प्रत्येक साहित्यकारहरू आफ्नो सिर्जनाको विषय बनाउनुहुनेछ र सिर्जनामा तल्लीन हुनुहुनेछ । यसका संस्थापक आदरणीय साहित्यकार तेजप्रकाश बानियाँ र दुर्गा अधिकारी भमरकोटेलाई विशेष धन्यवाद दिँदै यस सम्बन्धी उहाँहरूको विचार र सुसेलीहरू यहाँ प्रस्तुत गरिन्छ ।

हार्दिक शुभकामना
डा. शैलेन्दुप्रकाश नेपाल
नेपाली कविता फाँटमा सुसेली नयाँ अनुहार लिएर मुस्काउँदै छ । जापानी प्रविधिको हाइकुकै शैलीमा अनुप्रासमय भाषामा गायनलाई सहजीकरण गर्दै प्रस्फुटित हुन थालेको सुसेलीले नेपाली भाका लिँदै छ । जसरी जापानी मित्रहरूले हाम्रो पैयुँलाई दुई सय वर्षअगाडि जापान भित्र्याएर साकुरा (चेरी) मा नवीकरण गरे त्यसैगरी जापानी हाइकुलाई केही दशकअगाडि हामीले भित्र्यायौँ र अब सुसेलीका रूपमा नवीकरण गर्दै छौँ । यो अन्यन्त सुखद सन्दर्भ हो । हार्दिक शुभकामना ।
डा. शैलेन्दुप्रकाश नेपालका केही सुसेलीहरू
सुसेली १
पानी धमिलो
माछा मार्न तम्सिँदा
मनै अमिलो ।
सुसेली २
जुके पोखरी
माछा मार्न आत्तियो
रित्तो टोकरी ।
सुसेली ३
कथा कविता
लेखौँ लेखौँ साथी हो !
हेरी रमिता ।

तेजप्रकाश बानियाँको सुसेलीमा आफ्नो भनाइ
सुसेली हङ्गामा
सुसेली नेपाली लोकधुन , लोकगीत , लोकलय भने जस्तै हो । विना यन्त्र मुखलाई गोलो पारी बीचको प्वालबाट सास बाहिर फ्याँकेर निकालिने सुरिलो र मीठो धून हो सुसेली । यो परापूर्व कालदेखि गाँउ बेंसी , उकाली ओराली गर्दा अझ विशेष गरी गोठालो जाँदा किशोर अवस्थाका पुरुषहरूले निकाल्ने धून हो । यसमा निपुर्ण व्यक्तिले मुरलीको जस्तै आवाज निकालेर आफ्नो कथा, व्यथा, पिरमर्का, हाँसो ठट्टा आदि व्यक्त गर्ने चलन गाउँघरतिर अझ पनि छँदै छ । मेरो जन्मथलो भमरकोटमा गोपाल परियारका बाबुले मुरलीको आवाजले सुसेली गाउने हुनाले ‘अरूले मुरली बजाएको र गोपेको बाबुले सुसेलेको’ भन्ने उखान बन्यो र काभ्रे जिल्लामा त्यो प्रचलित भएर अझ पनि छँदै छ । तर यो लेखमा समग्र लोकलयको प्रतिनिधित्वका लागि सुसेली शब्द प्रयोग गर्दै छौ ।
जापानी साहित्यको १७ अक्षरको त्रिपदी हाइकु नेपालीहरूलाई मनपर्दै गएको परिपेक्ष्यमा हाम्रो लोकलयमा कसरी हाइकुलाई ढाल्न सकिन्छ भन्ने सोचेर दुर्गा अधिकारी र म दुईजना भमरकोटे भएर खोज्दै जाँदा हाम्रो पौराणिक लोकगीत र भजनहरूमा पनि सत्र अक्षरको त्रिपदीय हाइकुसँग मेल खाने देखिएको हुँदा बरु नेपालबाट सुरु भएर चीन हुँदै जापान गएको हो कि भने जस्तो पनि लाग्यो । हाइकुको विषयमा अझ भन्नुपर्दा हिन्दु धर्मको अति प्राचीन वाङ्मय वेदमा पनि हाइकुसँग मेल खाने १७ अक्षरको त्रिपदी छ भन्ने फेला परेको हुँदा संस्कृतविज्ञ विद्वान्ले समेत बताउनु भएको छ । यसरी दुईजना भमरकोटेको प्रयासबाट सुरु गरिएको नेपाली लोकलयको शुभ नामकरण हुँदा दामोदर ढकालबाट ‘सुसेली’ नाम जुरेको हो । अचेल यो धेरैको प्यारो भएर लोक सुसेली हङ्गामा मच्चिएको छ ।
उहाँद्वारा रचित तीन सुसेलीहरू
सुसेली १
हाम्रो नेपाल
छिमेकिको कपाल
राम्रो सम्हाल
सुसेली २
देश भक्तिको
नारा मात्र हुनेभो
बाम शक्तिको
सुसेली ३
के के गर्ने हो
ठूलो शक्ति भए नि
लड्नै पर्ने भो ।

दुर्गा अधिकारी भमरकोटेको सुसेली सम्बन्धी धारणा
सुसेलीः
सुसेली तपाई हामीहरू माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरूले ५, ७, ५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपाली पनमा सिर्जना , वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफ्नो मौलिक , पौराणिक तथा ऐतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरूको जवाफमा ‘सुसेली’ को जन्म भएको हो ।
यो विधामा अरु कुनै विधाका नियमहरू लागु हुँदैनन् । सिर्फ पहिलो हरफ पाँच अक्षरमा , दोस्रो हरफ सात अक्षरमा र तेस्रो हरफ पाँच अक्षरमा (५,७,५) हुनुपर्छ र नेपाली लोकलयमा गाउन मिल्ने अर्थपूर्ण हुनुपर्छ । अनुप्रास नमिल्दा पनि गाउन मिल्ने हुनुपर्छ र जे जस्तो भावना लेख्दा फरक पर्दैन ।
केही सुसेलीका उदाहरणहरू
सुसेली १
सुन जुरेली
लोकभाका नेपाली
यो हो सुसेली ।
सुसेली २
हुन्छ जलन
उम्केको माछा ठूलो
भन्ने चलन ।
सुसेली ३
दाता कुनै छ ?
आमा भन्दा महान
अर्को हुँदैन ।
सुसेली ४
लोक लयमा
गरौँ शब्दचयन
नत्र भएन
सुसेली ५
वनपाखाको
विदेशी हैन हाम्रो
लोकभाका हो ।
यसका साथै यो सुसेली विधालाई जन्म दिनको लागि सहयो पु¥याउने साथीहरू निम्नानुसार सुसेली लयमा हुनुहुन्छ । उहाँहरूलाई सुसेली इतिहासले सधैँ सम्झने छ ।
लकडाउनको समयमा अनलाइन सुसेली (हाइकु) महामेला २०७७ वैशाख १३ गतेको कार्यक्रम सफल बनाउने सहयोगी मित्रहरूः
सुसेली १
राम्रा छवि हुन्
सुसेली मेला भर्ने
यिनै कवि हुन् ।
सुसेली २
अनुराधा सुशीला१
अनुराधा द्वारिका
राधा प्रतिभा
सुसेली ३
दुर्गा सुचिता
दामोदर शिखर
चन्द्र सुशीला २
सुसेली ४
लक्ष्मी कमला
तोयानाथ पुष्कर
तेज कल्पना ।
सुसेली ५
लिला विजयी
हाइकुकी पारखी
तिला लेकाली ।
सुसेली ६
कोही भजन
कसैले गाए गीत
गरे वाचन ।
सुसेली ७
धन्यवाद छ
यो सुसेली विधाको
छुट्टै स्वाद छ
सुसेली ८
मेरो नमस्ते
फेरि नि भेटघाट
हुन्छ अवश्य ।

पुर्वाञ्चल हाइकु संघ की अध्यक्ष तिला लेकालीको लोकभाकाको सुसेली (हाइकुमा )धारणा
हुन त साहित्यमा भूगोलको कुनै सिमा हुँदैन । संसार, विश्व ब्रह्माण नै यसको क्षेत्र हो । संसारका सबै भूगोल , देश , जाति , भाषाहरू यसका विषय क्षेत्र हुन् । तर पनि मानिसलाई हरेक कुराले बाँधेको हुँदोरहेछ । आफ्नै माटोले आकर्षण गर्दो रहेछ । जुन माटोमा जन्म्यो, हुक्र्यो , बढ्यो त्यो माटो निकै पृय लाग्दो रहेछ ।
प्रसङ्ग हो लोक सुसेली हाइकुहरूको । हाइकु जापानबाट आयातित विधा हो । यसका आफ्नै मान्यता छन् । आफ्नै नियम छन् । यिनै नियम अनुसार हाइकु लेखन गर्नुपर्छ । यति हुँदाहुँदै पनि कुनै भौगोलिक क्षेत्रमा फलेको बोट बिरुवा अर्को क्षेत्रमा लगेर रोप्दा सोही हावापानी अनुसार हुर्कने, बढ्ने र फल्ने भएजस्तै जापानबाट नेपाल भित्रिएपछि यहींको हावापानी, माटो अनुसारको हाइकु लेख्न सकिन्छ, सक्नुपर्छ भन्ने मान्यता पनि उत्तिकै छ । नेपाली माटो अनुकुल लोकलयमा पनि हाइकु सृजना गर्न र गाउन सकिन्छ वा सकिन्न भन्ने कुराको प्रयोग स्वरुप केही सुसेली (हाइकु) लेखन गरिएको छ । जुन यसप्रकार छन् –
सुसेलीहरू
सुसेली १
आकाश रुन्छ
हामीले बोलेको खै
कसले सुन्छ ?
सुसेली २
हरियो वन
तस्करको हातमा
रुन्छ यो मन
सुसेली ३
बादलु घेरो
पहाड बग्दा मन
आतिन्छ मेरो ।

अब केही सुसेली लेखनमा सक्रिय सर्जकहरूका सुसेलीहरू
सीता बिष्ट कार्की सीबिका
पाल्पा
सुसेली १
फूल्यो रे फूल
टिपेर कोपिला नै
नगरौं भूल
सुसेली २
रामको नाम
जपी जपी हिँडौ है
गरेर काम
सुसेली ३
के हो कहानी ?
सुनेर बस्दाबस्दै
भयो बिहानी ।

चन्द्रा न्यौपाने
टोखा–८, काठमाडौँ
सुसेली १
मेरो चाहना
सबैको भलो होओस्
भन्ने कामना ।
सुसेली २
हाम्रो जपना
सुसेलीको चौतारी
गरौं थापना ।
सुसेली ३
मायाँ गाँसेर
राम्रो काम गरेर
बाँचौं हाँसेर ।
प्रतिभादेवी न्यौपाने
लमजुङ
सुसेली १
मानव बस्ती
कोरोनामय हुँदा
ठप्प छ काम ।
सुसेली २
बान्धव नाता
विदेशीको बासले
प्रष्ट बनायो ।
सुसेली ३
बसेर घर
पुग्छ र कसरी खै
पाल्नु छ पेट ।

अनुराधा शर्मा
काठमाडौँ
सुसेली १
चुरा हरियो
रहर हो नारीको
मैना साउन ।
सुसेली २
हिमानी आभा
सुनौलो बिहानीको
दिव्य छ ज्योती ।
सुसेली ३
कालो बादल
मडारिएर आयो
लाग्यो बर्षात ।

सुशीला ढकाल अधिकारी
गोर्खा
सुसेली १
हाम्रो देशमा
सुसेली आउँदैछ
नयाँ भेषमा ।
सुसेली २
बर्खे झरीमा
गयो बाढी पहिरो
देशै भरिमा
सुसेली ३
यता आएर
छिमेकीले फसायो
माया लाएर ।

सुशीला पौडेल
अर्घाखाची
सुसेली १
घाम पानीले
सतायो रिसाउने
तिम्रो बानीले ।
सुसेली २
मन परायो
तिम्रो जिस्कने बानी
कता हरायो ।
सुसेली ३
पानी परेको
असारको मैनामा
धान रोपेको ।

ओमकुमारी रानाभाट
पोखरा
सुसेली १
आमा ढोग्दछु
सधैँभरि बाँच्दिनु
यही सोच्दछु ।
सुसेली २
आगो बल्दछ
दनदनी दन्कँदै
मन जल्दछ ।
सुसेली ३
माया गर्नुछ
आमाबाबा ईश्वर
सेवा गर्नुछ ।

लिलामाया ढकाल गौतम
भोजपुर
सुसेली १
कोरोना आयो
पृथ्वीले सास फे¥यो
गज्जव भयो ।
सुसेली २
राम्रो कार्यले
भगवानको साथ
मिल्छ सधैँ नै ।
सुसेली ३
फूल रोपेर
फूलाउ फूल सधैँ
रक्षा गरेर ।

कल्पना देवकोटा
गोर्खा
सुसेली १
गाउँ विकास
पुरै छन् खाली घर
कम निकास
सुसेली २
वनमा पाक्यो
लटरम्मै कन्दमूल्
चरीले डाक्यो ।
सुसेली ३
सौभाग्य पाए
एक्लो नहुनेहरू
स्वतन्त्र भए ।

पुष्कर अथक रेग्मी
पाल्पा
सुसेली १
कोरोना आयो
संसारमा सबको
लौ सातो खायो ।
सुसेली २
कोरोना बढ्यो
फैलाउन भनी लौ
जहाजै चढ्यो ।
सुसेली ३
कोरोना लाग्यो
राहतको नाममा
लुटेरा जाग्यो ।

द्वारिका कुईंकेल
नुवाकोट
सुसेली १
ठिक्क प¥या छ
यो लकडाउनले
गर्नु ग¥या छ ।
सुसेली २
हात धोएर
बाहिर नजाउ है
तिमी रोएर ।
सुसेली ३
सुख शान्तिको
आश गर्नु बेकार
बूढो मान्छेको ।

शिखरनाथ कवि
काठमाडौँ
सुसेली १
मेरो परान
मनभित्र बसन
दिन्छु शरण
सुसेली २
लेख लेखन
राम्रा शब्द खोजेर
गरौं सिर्जना
सुसेली ३
बुढो भएसी
हेला गर्छन् सबैले
थला परेसी ।

सुचिता काफ्ले
सुकेधारा , काठमाडौँ
सुसेली १
बज्यो बाँसुरी
आहा बाँसकै धुन
मीठो माधुरी ।
सुसेली २
झ¥यो पहिरो
पानी पर्दा ठुलै नै
क्षति गहिरो ।
सुसेली ३
कतै देखिन्न
राम्रो मान्छे खोजेर
अब भेटिन्न ।

सिद्धार्थ देवकोटा ‘जिन्दगी’
स्याङ्जा
सुसेली १
खेत बगायो
उर्लि आइछिन् गंगा
आँखा रसायो ।
सुसेली २
आयो कोरोना
महामारी मच्चायो
छिनै भरमा ।
सुसेली ३
मन दुखेछ
तिम्रा ती वचनले
ठेस पुगेछ ।

विजयीता भण्डारी
झापा
सुसेली १
हिमाल हिउँ
कलकल झरना
सुन्दर दृश्य
सुसेली २
कोरोना आयो
जन्मायो महामारी
संकट छायो ।
सुसेली ३
मन्दिर रोज्ने
बिचित्र छ प्रकृति
भगवान पुज्ने ।

राधिका पुरी ‘सानु’
ललितपुर
सुसेली १
बेलैमा होस
आफ्नै छ गल्तीहरू
धेरै छ दोष ।
सुसेली २
एकै छिनको
स्वार्थी मान्छे भएर
पीर परेको ।
सुसेली ३
धोका खाएको
प्रकृतिलाई मास्दा
रोग लागेको ।

कमला देवकोटा
पाल्पा
सुसेली १
बसौं घरैमा
विश्व भरका बन्धु
यही कामना ।
सुसेली २
असारे झरी
विल्लीबाठ जनता
बाढी पहिरो ।
सुसेली ३
सगरमाथा
उच्च गाथा बोकेको
हाम्रो गौरव ।

धरणीधर गुरागाईं
झापा
सुसेली १
कालो कपाल
लामो रैछ सम्हाल
नहोस् बेहाल ।
सुसेली २
पाके ती फल
हैन रैछन् काफल
टिप्ने सफल
सुसेली ३
पानी परेको
भिज्ने चाहा हुन्नथ्यो
व्यर्थै रुझेको ।

तोयानाथ सुवेदी
ओखलढुङ्गा
सुसेली १
रैछ साधन
गणतन्त्र नेताको
लुट्ने आँगन ।
सुसेली २
ऋण उठाए
हेलिकप्टर किनेर
आफै उडाए ।
सुसेली ३
नेता गुलामी
कुर्सी मन थालेमा
दिल्ली सलामी ।

कल्पना भुसाल
स्याङ्जा
सुसेली १
गाउँ बगायो
पहिरो गई सबै
सत्रु हँसायो ।
सुसेली २
हरिया डाँडा
मनले भन्छ छोडि
नजाउँ टाढा
सुसेली ३
पानी दर्किन्छ
डुबाउदा ती बस्ती
छाती चर्किन्छ ।

जानुका थापा रायमाझी
तनहुँ
सुसेली १
चुलो चौकामा
रमाउन पाइन्छ
बेला मौकामा ।
सुसेली २
भीर पाखामा
छोरीको ठाउँ छैन
आमा काखमा
सुसेली ३
दर खाएर
रमाइलो गर्ने हो
गीत गाएर ।

…………………………………..
लक्ष्मीप्रसाद मिश्र
लमजुङ
सुसेली १
भाषा बचाउ
साहित्यको विकास
देशै चिनाउ ।
सुसेली २
कुवा घाँसीको
प्रेरणा पाएकै हुन्
ती गोठालाको ।
सुसेली ३
रक्षा आएको
उपन्यास क्या राम्रो
पढ्न पाएको ।

दामोदर ढकाल ‘दीपक’
भोजपुर
सुसेली १
वन जंगल
शिवजीको कृपाले
सबै मंगल ।
सुसेली २
रुझिन् सुन्दरी
सिमसिम परेको
साउने झरी ।
सुसेली ३
कान्छी सालीले
फसायो भन्दैथिन
पापी जालीले ।
हामीसँग आएका धेरै सुसेली मध्य यो पटक हामीले यति नै समावेश गर्न सक्यौं । आगामी अंकमा अरू क्रमश समेटिँदै जाने छौं ।
समाप्त
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend