logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • सोमबार, साउन २६ २०७७

राजबाबुका दुई कृति विमोचन
काठमाडौं ।
साउन, २०७७ – पुष्पपराग साहित्य प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका कार्यकारी सदस्य राजबाबु श्रेष्ठ ‘सागर’ का दुई कृति ‘देशको चिना’ मुक्तक सङ्ग्रह र ‘हराएका छोराहरू’ कविता सङ्ग्रह साउन २३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभयो । उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा। जगत्प्रसाद उपाध्याय र काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेल समेत उपस्थित हुनुहुन्थ्यो ।



प्रतिष्ठानका अध्यक्ष डा। यज्ञेश्वर निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति श्री गंगाप्रसाद उप्रेतीले वर्तमान बन्दाबन्दीको समयमा व्यक्ति घरमै बसेर यस्ता स्तरीय कृति रचना गरिरहेको अरू उदाहरण दिँदै कवि राजबाबु श्रेष्ठ ‘सागर’ ले गरेको प्रसंशनीय कार्यको सह्राहना गर्नुभयो ।

सागरका प्रत्येक कविता आफैमा स्तरीय रहेका र उनले प्रयोग गरेका विम्ब तथा प्रतीकले कविता तथा मुक्तकलाई उच्चस्तरमा पुर्‍याएको भन्दै यस्तो ऊर्जाशील कलम नबिसाउन कवि सागरलाई विशेष आग्रह गर्नुभयो ।

हरेक व्यक्तिको स्रष्टा व्यक्तित्वलाई विकसित र ऊर्जामय बनाउन नै साहित्यिक संघसंस्था स्थापना भएका छन् । पुष्पपराग साहित्य प्रतिष्ठानले ऊर्जाशील स्रष्टालाई समेटेर सराहनीय कार्य गरिरहेको र राजबाबु श्रेष्ठको स्रष्टा व्यक्तित्वलाई मलजल पुर्‍याई हराभरा बनाउने कार्य गरेको स्मरण गर्दै प्रतिष्ठानलाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका डा। यज्ञेश्वर निरौलाले प्रतिष्ठानले आफूमा संलग्न साहित्यकारहरूको उन्नतिमा सधैँ साथ दिइरहेको भन्दै कवि राजबाबुको कवित्वशक्तिमाथि सङ्क्षिप्त चर्चा गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कवि राधा कार्की, साहित्यसेवी विश्वास घिमिरे तथा रविन्द्र तिमिल्सिना एवं प्राज्ञ शशि लुबुम्बु लगायतका व्यक्तित्वको उपस्थिति थियो ।

पुष्पपराग साहित्य प्रतिष्ठानका सचिव डा। प्रदीपकुमार मैनालीले कवि ‘सागर’कै कविता वाचन गरी स्वागत मन्तव्य दिनुभएको थियो भने सदस्य टी।एन। भट्ट ‘विश्वामित्र’ ले कवि राजबाबु श्रेष्ठका छानिएका कविता वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कोरोना महामारीका कारण भौतिक दुरी कायम गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममा सङ्ख्यात्मक उपस्थिति कम भए पनि गुणात्मक उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend