logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राप्रपा नेपालका अध्यक्ष तामाङ ः जातले होईन संघर्षले मानिसलाई सफल बनाउँछ ।

अध्यक्ष तामाङ ः बेलायती सेनामा असफल, राजनितिमा सफल


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०७७

काठमाण्डौँ
लाक्पा तामाङ वर्तमान राजनितिक जगतमा चिरपरिचित व्याक्ति हुन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजनितिमा प्रवेश गरेको ३ वर्ष नबित्दै राप्रपा नेपाल चोईट्याएर आफ्नै नेतृत्वमा राप्रपा नेपाल खोलेर तामाङ २८ वर्षको कलिलै उमेरमा नेपालको कान्छो पार्टी अध्यक्ष बन्न सफल भए ।
प्राय धेरै मानिसहरुले उनलाई राजनितिज्ञको रुपमा मात्रै चिन्छन् तर तामाङ राजनितिज्ञ मात्रै होईनन् उनीसँग जोडिएको अर्को पाटो हो विज्ञान, प्रवृधि र खेल ।
तामाङले अमेरिकी माईक्रोसफ्ट कम्पनीबाट माईक्रोसफ्ट सर्टिफाईड सिस्टम ईन्जिनियर गरेका छन् । राजनितिमा प्रवेश गर्नु अगाडि उनी विज्ञान र कम्प्युटर क्षेत्रमा परिचित व्यक्ति हुन् । साथै उनी तेक्वान्दो खेलका खेलाडि र ब्ल्याक बेल्ट चौथो डान पनि हुन् । तामाङ बताउछन् , राजनितिज्ञ भएपछि शारिरिक र मानसिक दुवै रुपमा तन्दुरुस्त हुन जरुरी छ । जुन विज्ञानलाई उनी आफ्नो मानसिक शक्ति र तेक्वान्दो खेललाई शारिरिक शक्ति ठान्छन् ।



बेलायती सेनामा फेल ः
शिक्षा र शारिरिक व्याममा राम्रो नतिजा ल्याउन सफल भएपनि शारिरिक उचाईको कारण उनी दुई पटक बेलायती सेनामा फेल भएका थिए । तामाङले त्यसपछि पनि पटकपटक व्यवसाय र खेतिपातीमा असफलता झेल्नु परेको थियो । अमेरिका र बेलायतका लागि दुई पटक विद्यार्थी भिषा रिजेक्ट भएपछि अन्तत ः उनी सबै कुरा त्यागेर देशको लागि केहि गर्छु भनेर राजनितिमा होमिए । त्यसपछि रातारात चमत्कार भयो उनले थोरै समयमा नै राजनितिक जगतमा आफ्नो नामको झण्डा गाडेर सबैलाई चकित पारिदिए । सायद उनी बेलायती सेनामा भर्ती भएको भए । उनी व्यवसाय र खेतीपातिमा सफल भएको भए । उनको विद्यार्थी भिषा लागेको भए सायद उनले नेपालको कान्छो पार्टी अध्यक्ष भएर देशको लागि काम गर्ने अवसर गुमाउने थिए । उनी भन्छन् , जे हुन्छ राम्रैको लागि हुन्छ । असफलताबाट जिवनमा कहिले पनि हार नखानु बरु निरन्तर प्रयास गरिरहनु । कर्म गर्नेहरुको भाग्य एकदिन अवश्य बदलिन्छ ।

दुई पटक जेल जिवन ः
राजनितिमा प्रवेश गरे सँगै प्रजातन्त्र र राजतन्त्रको वकालत गर्ने तामाङ दुई पटक गरि जम्मा १६ महिना जेल परे । सेन्टर जेल र नख्खु जेलमा रहँदा उनले जेलभित्रै पार्टीको संगठन निर्माण गरि जेलमुक्त भए लगत्तै आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी खोले ।

राजनितिक उदेश्य ः
नेपालमा पहिलो पटक राप्रपा नेपाल पार्टीबाट चुनाव चिन्ह गोरु लिएर बुद्धराष्ट्रको एजेण्डा बोक्ने व्याक्ति लाक्पा तामाङ नै हुन् । उनी भन्छन् , बुद्धलाई चिन्न नसकेर देश गरिब भएको हो । कुनै जाति र धर्मको आधारमा नभई बुद्ध जन्मिएको आधारमा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको बुद्धराष्ट्र घोषणा गर्न सके देश धनी हुनेमा उनी विश्वास गर्छन् । उनी भन्छन् , जसरी मुस्लिमहरु विश्वको जुनसुकै कुनामा जन्मिए पनि उनीहरुमा एकपटक हजको लागि मक्का मदिन (साउदी) जाने ईच्छा हुन्छ ठिक त्यसरी नै विश्वभरिका बुद्धिस्ट लगायत शान्तिको खोजिमा भौतारिरहेका मानवहरुलाई एकपटक बुद्धको देश नेपाल आउने भावना जागृत गराउन सके नेपाल आफै धनी बन्छ । रेमिटेन्सको अर्थ अरुको देशमा गएर ५० डिग्रीको तातो घाममा काम गरेर देशमा पैसा पठाउनु मात्रै होईन । रेमिटेन्सको अर्थ आफ्नै देशको स्रोत सम्पत्ती परिचालन गरेर देशलाई धनी बनाउनु हो ।

भविष्यको कार्ययोजना ः
पार्टी दर्ता गरेको १ वर्षको अन्तरालमै ३५ वटा जिल्लाहरुमा संगठन निर्माण गर्न सफल तामाङ अबको १५ वर्षपछि राप्रपा नेपाल देशकै शक्तिशाली पार्टी भएर उदाउनेमा विश्वस्त छन् । साथै हाल उनी राजनितिशास्त्रबाट बि.ए. तेस्रो वर्षमा अध्यनरत विद्यार्थी पनि हुन् । भविष्यमा राजनितिशास्त्रबाट पि.एच.डि. गर्ने उनको धोको रहेको उनी बताउछन् । उनी थप जनआकाश मिडियासँग कुराकानी गर्दै भन्नूहुन्छ , प्रिय मेरा आदिवासी, मुलबासी, जनजाती दाजुभाई, दिदिबहिनीहरु राजनितिको अर्थ क्षेत्री बाहुनहरुलाई गाली गर्नु , अरुको काम र प्रगतीको डाह गर्नु मात्रै होईन राजनितिको अर्थ हामी सबै नेपाली दाजुभाई एक भएर देश विकास गर्नु हो । उनी थप्छन् , सफलता के हो चिउरा चपाउँदै रातभर पढेर लोकसेवामा पास हुने बाहुनलाई सोध । जिवन के हो मासिक ५ हजार कमाएर २ हजार बचत गर्ने क्षेत्रीलाई सोध । संघर्ष के हो गाउँबाट शहर आई डेरा गरि बसेर गाली, बेईज्यती, हेला, अपमान, भोकतिर्खा, गरिबी सहेर पि.एच.डि. गर्ने बाहुनहरुलाई सोध । संघर्ष गर्नुहोस यहाँ जो कोहि पनि सफलताका हकदार हुन सक्छन् । जातले होईन संघर्षले मानिसलाई सफल बनाउँछ । कसैको सफलता र सहुलियतसँग होईन उसको संघर्षसँग प्रतिष्पर्धा गर । त्यसपछि सफलता तपाईको हातमा पक्का । अब जनजातिहरुले अरुलाई गाली मात्रै गर्ने दोषि चस्मा उतारि संघर्ष र मिहिनितको चस्मा लगाई हामी सबै नेपाली दाजुभाई एक हौँ भन्ने भावना राखेर देश बनाउनुमा जुट्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend