जन आकाश
मुक्तक १
वन पाखा र दाउरा घाँस भारीले छाडेन
कुटो कोदालो गाउँ र खेत बारीले छाडेन
रुपै बदल्ने फेसन आयो चिनिन्न सहेली
मलाई भने चौबन्दी चोली सारीले छाडेन ॥
मुक्तक २
नाक कोट्याउँदै समाचार भन्न सरकार छदैछ
संक्रमित संख्या र लास गन्न सरकार छदैछ
भोक र रोगले मरिएला भनी पिर नगरौँ कसैले
उपचार नगरे पनि चिहान खन्न सरकार छदैछ १
मुक्तक ३
नाङ्लाभरी सेलरोटी अटालीमा पाला हुन्छ
द्यौसीभैलो गुन्युचोलो मेरो यस्तै चाला हुन्छ
दाजुभाइको दिर्घायु मागी ओखर फोर्छु तिहारमा
निधारमा सप्तरङ्गी गलामा मखमली माला हुन्छ १
मुक्तक ४
कसैलाई नुनिलो पिरो भने कसैलाई गुलियो मन पर्छ
कोही मशाल नै रुचाउँछन् , कसैलाई दियो मन पर्छ
सबैको चाहना फरक फरक हुँदारहेछन् यो दुनियाँमा,
कसैले वचनमा मलम राख्छन् ,कसैलाई सियो मन पर्छ ।
मीना चौलागाईं
पाँचखाल काभ्रे
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend