जन आकाश
फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । सन् १९८६ को विश्व विजेता अर्जेन्टिना टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
चार वटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । क्लबस्तरमा उनले बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । इटालियन टोलीबाट उनले दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।
इटली र सम्भवत युरोपकै सर्वाधिक गरिब शहर नेपल्सस्थित नापोली फुटबल क्लबले सन् १९८४ मा विश्वकै महँगा खेलाडीलाई बार्सिलोनाबाट ६.९ मिलियन पाउन्डमा किनेपछि सबैतिर सनसनी फैलियो ।
धेरैका मनमा मुख्यत दुई सवाल टड्कारो बनेर उभिएका थिए । एक प्रचुर सम्भावना बोकेका स्टार खेलाडीले बाटो बिराएर नापोली किन्न आए र दुई ऋणमा डुबेर टाँट पल्टन लागेको क्लबले बार्सिलोनालाई तिर्ने मोटो रकम कहाँबाट ल्यायो ।
म्याराडोनालाई नापोलीको मैदानमा आयोजित पहिलो पत्रकार सम्मेलनमा सोधिएको पहिलो प्रश्न थियो– ‘माफियाबारे तपाईंलाई थाहा छ कि छैन ? यहाँ सबैतिर उनीहरुको लगानी छ । कतै त्यही लगानीले म्याराडोनालाई तानेको त होइन ?
जवाफमा क्लबका अध्यक्ष कोर्राडो फेर्लाइनोले जंगिदै भनेका थिए, ‘हामीले म्याराडोनालाई भित्र्याउन ठूलो दुःख गरेका छौँ । तपाईंको प्रश्नले यो क्लबकै बेइज्जत गरेको छ । म यो प्रश्नको जवाफ दिन्न, बरु प्रश्न सोध्नेलाई यहाँबाट निस्कन भन्छु । तपाईं तत्काल निस्कनुस् ।’
डिएगो म्याराडोना अर्जेन्टिनामा जन्मिए, तर त्यो नापोली शहर नै हो, जहाँ उनी ‘भगवान्’ बने । यो प्रिय शहरसँगको म्याराडोनाको भावनात्मक सम्बन्धलाई वृत्तचित्रको रुप दिएका छन्, निर्देशक आसिफ कपाडियाले ।
भारतीय मुलका यी ब्रिटिस फिल्ममेकरले यसअघि ‘२००१’ मा इरफान खानलाई मुख्य भूमिकामा लिएर ‘द वारियर’ नामक फिल्म निर्देशन गरेका थिए । त्यसयता, ब्राजिलका रेसिङ ड्राइभर आइर्टोन सेन्ना र बेलायती गायिका एमी वाइनहाउसबारे उनले वृत्तचित्र बनाए ।
यी दुबै वृत्तचित्रले अन्तर्राष्ट्रिय स्तरमै राम्रो चर्चा बटुले । कपाडियालाई चिनाउने पहिलो फिल्म भने १९९७ को ‘द सिप थिफ’ हो । यो सर्ट फिल्म कान्स फिल्म फेस्टिभल अन्तर्गत सिनेफन्डेसन विधामा दोस्रो भएको थियो ।
समग्रमा आसिफको पाँचौ फिल्म हो– डिएगो म्याराडोना । म्याराडोनाबारे यसअघि नै धेरै फिल्म बनिसकेका छन् । तर २०१९ मा सार्वजनिक यो फिल्मले म्याराडोनाको बाल्यकाल र गरिबीका कथाभन्दा नापोलीमा उनले हासिल गरेको समृद्धी र त्यसलाई टिकाउन नसक्दाको पीडा बोल्छ ।
म्याराडोना स्वयम्, उनकी पूर्वपत्नी, फिटनेस ट्रेनर, नापोली क्लबका अध्यक्ष, समकालीन खेलाडी, पत्रकारलगायतले म्याराडोना र उनको प्रिय क्लबबारे बोलेका छन् । यो डकुमेन्ट्री युट्बुयमा पनि उपलब्ध छ ।र्
एजेन्सी
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend