जन आकाश
मुक्तक १
काँडा टेकेको पाउलाई, फूलै बिछाऊ भन्दिनँ म
सस्तिएको आँशुको भाउलाई, चर्कै बनाऊ भन्दिनँ म
धेरै हण्डर खाइसकेँ, मुटुलाई पत्थर बनाइसकेँ
पुरिदै गएको घाउलाई, मलमै लगाऊ भन्दिनँ म ।
मुक्तक २
दाइँमा राख्यौ वाध्यताको, विवश भई नारिएँ म
भ्रमित पार्यौ सबका सामु, नजरबाट झारिएँ म
मनमा चोट गढ्दै गयो, र पनि साहस बढ्दै गयो
तिमीले जति धोका दियौ, त्यही धोकाले खारिएँ म ।
मुक्तक ३
चुनाव अघि यो त्यो गर्छु, फकाउनेको लर्को हुन्छ
विश्वास जित्न पनि धेरै, भाषण चर्को चर्को हुन्छ
जितेर माथि गए पछि, आफू बलियो भए पछि
कोहीले फर्की हेर्ने हैनन्, व्यवहार झनै अर्को हुन्छ ।
मुक्तक ४
लोकतन्त्रको बहालीमा, सबको आफ्नै भूमिका भयो
जनताको भागमा तर, आँसुका नूनिला ढिका भयो
जसरी चलाऊ चल्दो रैछ, तालुमा आलु फल्दो रैछ
लक्ष्मीका अघि सारा कुरा, जहिले पनि फिका भयो ।
गोम बिक्रम
कल्लाबारी
पाल्पा
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend