logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पात हल्लिदैमा रुख ढल्दैन


  • जन आकाश
  • आइतबार, मंसिर २८ २०७७

–ः गफाष्टक
ओलीले अब दुवै पद गुमाउने भए नि भिरघरे । अरुलाई मान्छे गनेनन् । अब जाने भए । काँग्रेस पनि अब हाम्रै प्रचण्डको लाइनमा आइपुग्यो । राजावादीहरु पनि उफ्रिदै छन् । अब त केही हुन्छ होला !



हौ काका ! यिनार्को चुरीफुरी ओलीकै कारणले देखिएको हो । जे सुकै भए पनि इतिहासमा लेखिने दुई चारवटा काम ओलीले गरिदिएका छन् । अहिले त्यसैको व्याज खादै छन् ।

हैन के त्यस्तो काम ओलीले गरेर इतिहासमा लेखिन्छ ? लेखिए हाम्रो महान अध्यक्ष प्रचण्डको लेखिन्छ । अरु कुनैको लेखिदैन ।
के भन्छौ हौ काका ! प्रचण्डको त इतिहासमा लेखिएकै छ नि । तर, इतिहास इतिहास नै हो कसैको राम्रो लेखिन्छ कसैको नराम्रो । प्रचण्डको कस्तो लेखियो दुनियाँलाई थाहा छदै छ । अतितले लखेटेर प्रचण्डलाई फतक्क गलाई सक्यो । ओलीको संरक्षणमा अलि अलि चुदुरवुदुर गर्दै छन् । नत्र….!

नत्र के ! काँग्रेस भर ओलीको समर्थन गर्छस् । उहाँ काठमाण्डौमा काँग्रेसका नेताहरु हाम्रो प्रचण्ड काम्रेडको लाइनमा आइसके । तिमारु काँग्रेसहर्को जुलुसमा हाम्रो माओवादी केटाहरु पनि सामेल भएर ढुङ्गामुढा गर्ने निर्देशन भैसक्यो । ओलीको विरोधमा राजावादीले आन्दोलन गरे पनि, काँग्रेसले गरे पनि, मधेशवादीले गरे पनि, गोप्य तरिकाले नैतिक रुपमा उग्रतापूर्वक हाम्रो केटाहर्को डरलाग्दो र भयङ्कर समर्थन रहन्छ ।

त्यस्तो समर्थनलाई हामी मान्दैनौ र चाहिदैन पनि । काका तिमार्को एक सूत्रे कार्यक्रम ओलीलाई लखेट्ने हो । हाम्रो त्यस्तो होइन । हाम्रो शान्तिपूर्ण तरिकाले सरकारका गल्तीहरु औंल्याउने र सुधार्न दवाव दिने हो । ओलीलाई नेपाली जनताले पाँच वर्षका लागि सत्ता सञ्चालन गर्न भनेर पठाएका हुन । उनलाई हटाउनु भनेको फेरि गलत बाटोमा राजनीतिलाई धकेल्नु हो । कि कसो झुम्री काकी !

हो नि भिरघरे ! तर एउटा खाटी कुरो के भने ‘पात हल्लिदैमा रुख ढल्दैन’ । र अहिले नेकपामा पात हल्लिएको छ । कतिपयलाई पात हल्लिएको देखेर भ्रम पनि होला रुखै ढल्न लाग्यो भन्ने । त्यस्तो कल्पना नगरे हुन्छ वनमाराले ‘सतिसाल नाथे के होर’ भने जस्तै हो ।
नकरा झुम्री ! सतिसाल भनेको हाम्रो गौरवशाली पार्टीको महान अध्यक्ष कम्रेड प्रचण्ड मात्र हो अरु त जंगलका वनमारा मात्र हुन् ।

लु त्यसो चै होइन है काका ! तिमीले जेसुकै व्याख्या गरे पनि यो मुलुकको सबै भन्दा ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हो प्रचण्ड त हाम्रो रामचन्द्र पौडेल जस्तै दोश्रो लम्वरका हुन् । हौ काका तिमार्को वानी नै लुतो कन्याएपछि एकछिन सन्चो हुदा नै चट्टै निको भयो भन्ने खालको छ ।

हेर भिरघरे ! कुनै वेला हाम्रो पनि दवदवा थियो, हातमा बन्दुक र विचारमा उग्रता, हाम्रो चिनारी थियो । मैले त चुनवाङमा र भृकुटीमण्डपमा बाबुरामले भनेको होइन मोहन बैद्यले भनेको मान्नु पर्छ भनेको थिए । काम्रेड प्रचण्डले बाबुरामको लाइन नपक्रे प्रधानमन्त्री बन्न सकिदैन भन्ने ठाने छन् । समयकालले आफ्नै कट्टर विरोधी ओलीको पाउमा त्वम शरणम् हुनु प¥यो । अहिले ओलीलाई पहिलाको बदला लिन खोजेर कहाँ सक्नु !

ए काका ! चिनसंगको व्यापार सन्धि गर्न महामानव विपी कोइराला र राजा महेन्द्रले पनि कोसिस गरेका थिए । तर, सकेनन् । इतिहासले त्यही भन्छ । आखिर ओलीले नै गरे । दोश्रोमा चुच्चे नक्शा ओलीकै पालामा जारी भयो । २०३१ साल देखि हराएको नक्शाको चुच्चो राख्न राजा वीरेन्द्र, ज्ञानेन्द्र, कृष्णप्रसाद, गिरिजा, शेरबहादुर, प्रचण्ड, माधव नेपाल, झलनाथहर्ले नसकेकै हो । आखिर त्यो जस ओलीले नै लिन पाए । अनि सबैभन्दा ठूलो कुरा नाकाबन्दीमा ओलीले भारत जस्तो मुलुकलाई झुकाएरै छाडे । जबसम्म नाका खुल्दैन तबसम्म भारत भ्रमण गर्दिन भन्ने ओली नै हुन । हाम्रो कांग्रेस र तिमार्को काम्रेड त नाकाबन्दी हो भनेर बोल्न पनि सकेनन् ।

मेरो कन्सिरी तान्ने गरी ओलीको प्रशंसा नगर भिरघरे ! गर्छस् भने प्रचण्ड काम्रेडको प्रशंसा गर !
होइन, प्रचण्डको प्रशंसा कसरी गर्नु ? १७ हजार चिलिमच्वाँट भन्न मिलेन पाँच हजार मात्र आफुले जिम्मा लिने घोषण गरे । क्यान्टेनमेन्टको १३ अरवको कुरो पनि के गर्नु ! नौ अरव मात्र भने क्यारे । नातागोता, परिवारवाद जिन्दावाद भन्न पनि मिलेन । सर्वहारा नेता सादा जीवन उच्च विचारका सफल नेता भनौ भने ‘भिरघरे पनि खुस्किएछ’ भनी हाल्छन् !

सोह्रै आना ठिक भनिस भिरघरे । यो चै इतिहासमा लेखिने र अहिले देखि नै पढिने कुरो हो ।

वाइयात कुरो नगर झुम्री ! अहिले काँग्रेस र एमालेहर्ले हामीलाई हेपेका छन् । भोलि काँग्रेसको जुलुसमा हाम्रो पराक्रम देखेपछि जिउँदो माओवादीको फेला परिएछ भनेर ओली र देउवाले भन्ने छन् । अहिले तिमार्लाई पात हल्लिए जस्तो लाग्दै छ । जब रुख ढल्छ अनि थाहा पाउँछौ ।

झिङ्गाको सरापले डिङ्गा मर्दैन हौ काका ! प्रचण्डको हतारोले सरकार पनि ढल्दैन । ओलीले भनी सके ‘पंखा हल्लाउदैमा आँधी आउदैन’ भनेर ।

आ छोड यस्तो कुरो । मलाई विरक्त लाग्छ । बरु काठमाण्डौमा के गर्दैछन् सुनान !
नेकपाका नेताहरु आपसमा लडेर दुनियाँ हसाउँदैछन् । काँग्रेसको भोलि भव्य आन्दोलन हुदै छ । जबज, समाजवाद फस्टाउँदो छ, प्रचण्ड पथ अस्ताउँदो छ । यस्तै छ । लौ काका काकी ! रात पर्न लाग्यो । म घरतिर लागे ।
जै नेपाल !

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend