जन आकाश
काठमाडौ ।जोसेफ एजुकेसन नेटवर्कले यहि २४ गते कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरूकालागि कविता के हो भन्ने विषयमा कपन मिलनचोक स्थित विद्यालयको सभा हलमा १ घण्टा ३० मिनेटको प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियोे ।
करिब १०० विद्यार्थीहरू सहभागी रहेको यो कार्यक्रम आई जोसेफ स्कुलका प्रिन्सिपल मनोज होमबहादुर अधिकारीले संयोजन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व जोसेफ एजुकेसन नेटवर्कका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल सुर्यबहादुर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयका नेपाली विषयका शिक्षक तथा कवि साहित्यकार गोपी सापकोटाले गर्नुभएको थियो । कार्यक्रम संचालनका क्रममा उहाँले गजल र छन्द कविता वाचन गर्दै कार्यक्रमलाई अत्यन्तै रोचक तथा मनोरञ्जनात्मक बनाउनु भएको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथि कवि दुर्गा अधिकारी भमरकोटेले सुसेली कविता लयमा आफ्नो परिचय दिनुका साथै गद्यकविता विषयमा प्रशिक्षण दिँदै कुनैपनि सृजना साहित्य हुने हुँदा सहभागी सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरूले सिर्जनामा लाग्नु आवश्यक भएको कुरा बताउँदै जसले कविता लेख्छ त्यो नै कवि हो र कविले जे रचना गर्छ त्यो नै कविता हो भनी कविताको व्याख्या गर्दै आफ्नो भविष्यको निर्णायक आफै हुने हुँदा विद्यार्थी भाइबहिनीहरूले अहिले नै आफ्नो भविष्यको लागि सोच्न सुरू गर्न अनुरोध गर्नुभयो ।
यसैगरी अर्का अतिथि कवि डिल्लीप्रसाद दहाल मुलतिहुनले छन्द कविता भनेको के हो ? कविता कसरी लेख्ने । कविताको महत्त्व के छ र कविता किन लेखिन्छ र लेख्नुपर्छ भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी दिनुका साथै सुसेली, गजल, लोकलयका कविता र छन्द कविताहरूका उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो ।
लयात्मक सुसेली, गजल, र छन्द कविताले प्रशिक्षण कक्ष गुन्जिएको थियो ।
अति शान्त र सभ्य तवरमा संचालन भएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अतिथि कविहरूलाई धन्यवाद सहित कार्यक्रमका सभापति सुर्यबहादुर अधिकारीले अतिथि कविहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend