जन आकाश
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुरु गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने पनि खोप शुरु गर्ने क्रममा बताएका थिए ।
नेपालले भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरेको हो । यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।
यो खोप पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी र कारागारमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई दिइएको छ ।
टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलको अस्पतालमा कोरोनाविरुद्धको खोप पहिलो पटक लगाउन पाएकाहरु खुसी देखिन्थे । टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर अभियानको शुरुवात गरेका थिए । टेकु अस्पतालकै ८० वर्षीय रेडियोलोजिष्ट नेत्रबहादुर अमात्यले पनि खोप लगाए ।
पहिलो डोज खोप लगाउनेहरुले आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निश्चिन्त भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप लगाउन कतिपय हिच्किचाइरहेको बेला उनीहरुले यो खोप सुरक्षित रहेको बताए ।
पहिलो चरणमा करिब चार लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारको छ । खोपको पहिलो मात्रा दश दिनभित्र दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ ।
पहिलो चरणका लागि आएको दश लाख डोज खोपमध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि छुट्याइएको छ ।
गत वर्ष माघ १० गते नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखापरेको थियो । हालसम्म नेपालमा २ लाख ७० हजार संक्रमित भएका छन् भने २ हजार १ सय जनाको निधन भएको छ । २ लाख ६६ को हाराहारीमा संक्रमण मुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।
कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवती, कोरोना संक्रमित व्यक्तिहरुलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।
कारागारमा रहेका कन्दीहरुमा खुशी
कोरोना भाईरसक बिरुद्धको खोप कारागारमा रहेका कैन्दी बन्दीलाई पनि प्रथामिकतामा राखेर सरकारले कैन्दी पनि देशका नागरिक हुन भन्ने सन्देश दिएकोमा कैन्दीहरु खुसी भएका देखिन्थे आज काठमाडौको सुनधारामा रहेको केन्द्रीय कारागारमा कोरोना बिरुद्धको खोप लिएर पुगेका एक स्वास्थ्य कर्मीले दिएको जानकारी अनुसार कारगारहरुमा बिभिन्न अभियोग लागेका कैन्दी बन्दीहरुलाई सरकारले ल्याउने कैन्दी बन्दीको लागि योजनाले आत्म बल बढाउने र सकरात्मक सोचको बिकास हुने भन्दै सरकारको प्रशंसा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend