जन आकाश
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीको नाम घोषणा गर्दा युवा खेलाडीद्वय मनिष डाँगी र श्यान्सु भुसाल पहिलो पटक टिममा समावेश भएका छन् ।
दुवै खेलाडी विदेशमा फुटबल खेल्दै आएका खेलाडी हुन् । मनिष दक्षिण कोरियामा अध्ययन गर्दै फुटबल खेल्छन् । श्यान्सु कतारी क्लबको उमेर समूहको टिममा खेल्दै आएका छन् ।
यसबाहेक डिफेण्डर गौतम श्रेष्ठ र विंगर विवेक बस्नेतलाई पनि पहिलो पटक सिनियर टिमका लागि बन्द प्रशिक्षणमा बोलाइएको छ । दुवैले पछिल्लो पटक एएफसी कपको प्रारम्भिक छनोटमा त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलेका थिए ।
नेपालले मे ३१ देखि जुन १५ ÷२०७८ जेठ १७ देखि असार १ गते) भित्रमा विश्वकप छनोटका तीन खेल खेल्दैछ । त्यही खेलका लागि नेपाली टोलीले ३ जेठबाट बन्द प्रशिक्षण शुरु गर्दैछ ।
कुवेती प्रशिक्षक अलमुताइरीले मिडियासामु पहिलो पटक प्रस्तुत हुँदा वैशाखमा हुने नेपाल सुपर लिग सकिएपछि मात्रै टिमको प्रशिक्षण शुरु गर्ने बताएका थिए । नेपाल सुपर लिग २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म दशरथ रंगशालमा आयोजना हुँदैछ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आउनुअघि मनिष र श्यान्सु दुवैले नेपाल सुपर लिग खेल्दैछन् । श्यान्सुलाई एफसी चितवनले अनुबन्ध गरेको छ ।
आफूले क्लबका लागि अनुबन्ध गरेको श्यान्सु राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छनोट भएको सुनाउँदा चितवनका मुख्य प्रशिक्षक मेघराज केसी दंग छन् । श्यान्सु युवा र प्रतिभावान् खेलाडी भएको भन्दै उनले भने, ‘ऊ अली कलिलै छ, तर कतारको प्रोफेसनल क्लबमा ट्रेनिङ गरेको खेलाडी हो ।’
दक्षिण कोरियामा रहेका मनिष डाँगीले भने उमेर समूहको साफ च्याम्पियनसिप खेलिसकेका छन् ।
यसैगरी थ्री नेसन्स कप च्याम्पियन नेपाली टोलीमा नपरेका डिफेण्डर विकास खवास, मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड नवयुग श्रेष्ठ ३२ सदस्यीय टिममा छन् ।
तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । उनीहरु हाल एएफसी कप २०२१ प्रारम्भिक छनोटको दोस्रो चरणमा बेंगलोर एफसीसँग खेल्न गोवामा छन् ।
थ्री नेसन्स कप खेलेको टिममा रहेका सुजल श्रेष्ठ पनि ३२ जनामा छैनन् । पहिलो खेलमै चोट बल्झिएपछि उनले थ्री नेसन्स कपमा बाँकी खेल खेलेनन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी
गोलकिपरः किरण कुमार लिम्बु ९कप्तान०, विकेश कुथु, दीप कार्की, विशाल सुनार
डिफेन्डर ः रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास
मिडफिल्डर ः त्रिदेव गुरुङ, मनिष डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा
फरवार्ड ः दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
प्रशिक्षकः अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend