logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भाषामाथि भएको विषाक्त हमला हो असंवैधानिक “ईम्बोष्ड” रामेश्वर राउत मातृदास


  • जन आकाश
  • मंगलबार, बैशाख १४ २०७८

 



रामेश्वर राउत मातृदास

भाषा सार्वभौमसत्तासम्पन्न राष्ट्रको अगम्य शक्ति, ताकत र प्राणशक्ति हो । आफ्नो भाषामाथिहुने र भएका अत्याचार राष्ट्र र आम नागरिकहरूमाथि भएको विषाक्त हमला हो । यस्तो पीडादायी अत्याचार कुनै पनि जीम्दा नागरिकहरूका लागि मान्य र स्वीकार्य नहुने निश्चित छ ।

निजामति कर्मचारीहरूलाई मुलुकको स्थायी सरकार भनिन्छ । यो वर्गले मुलुकको समग्र हितको पक्षमा उच्च भूमिका र योगदान दिन्छ भन्ने जनविश्वास आज धमाधम समाप्त भएको छ । निजामति कर्मचारीहरूकै कारण आज मुलुकको सिंगो अस्तित्वमाथि नै गम्भीर प्रश्न उठिराखेको छ । यही मध्येको युगले कहिल्यै भूल्न र बिर्सन नसक्ने अन्धकार उदाहरण आफ्नो भाषाको लिपि, वर्णाक्षरहरू, अंक र संवैधानिक गोपनियताको हक समेत समाप्त पार्ने गरी भएको गैरकानूनी असंवैधानिक “इम्बोष्ठड नम्बर ल्पेट” सम्बन्धी भएको वदनियतपूर्ण सम्झौता गर्नमा पनि यही निजामती नामका ‘नीजमति’हरुको समेत हात छ । यो मुलुकमारा सम्झौता राज्यकोषको पाँच अर्व, पच्चीस करोड पैतालीस लाख खर्च गरेर भएको पाइन्छ ।

आफ्नो राज्यकोषको ढुकुटी रित्याएर आफ्नै भाषाको लिपि, वर्णाक्षरहरू, अंक र संवैधानिक आम नागरिकहरूको गोपनियताको हक समेत समाप्त पार्ने यस्तो पीडाजन्य अत्याचार संसारको कुनै पनि देशमा भएको छैन । केही सीमित वेइमान प्रव्यपिशचाहरूको छुद्र स्वार्थका कारण राष्ट्रको प्राण शक्तिको रूपमा रहेको भाषाको देवनागरी लिपि, वर्णाक्षरहरू र अंक यसपछि हाम्रा सन्तान दरसन्तानहरूले लेख्न, देख्न र प्रयोग गर्नबाट सधैंका लागि बन्देज लगाउने गैरकानूनी र असंवैधानिक अत्याचार मौलाइराखेको छ ।

यो पीडादायी असंवैधानिक अत्याचारबाट नेपालको मौजुदा संविधानको धारा १(१), धारा ७(१), धारा–२८, धारा–३२(३) धारा–१३३(२) र (३) तथा धारा –२७४(१) देखि (१०) सम्मका संवैधानिक प्रावधानहरू ठाडै मिच्ने वेइमानी भएको दिनको घामझैं छर्लङ्ग छ । आफ्नो देशको मौजुदा ऐन, कानून र संविधानको प्रावधानलाई आफ्नै देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबाट समेत उल्लंघन हुन्छ भने विधि व्यवस्थाको परिपालना कस्ले गर्छ ? के वनका बाघ, भालु वा पशुपन्छीहरूले बचाइदिन्छन् त मुलुकको अस्तित्व र महत्व ? यो असंवैधानिक “इम्बोष्ड नम्बर ल्पेट” ले युगौंयुगसम्म समय र समाजले यी आत्मघाती, भाषामारा अत्याचारीहरूलाई प्रश्न सोधिरहनेछ ।

भारतमा बसोबास गर्ने भारतीय नेपालीहरूले पचास वर्षसम्म संघर्ष र आन्दोलनहरू गरेर भारतको संविधानको आठौं (८) अनुसूचिमा नेपाली भाषालाई मान्यता दिलाएरै छाडे । संसारकै सर्वाेन्नत र सर्वाेष्कृष्ट देवनागरी लिपि, वर्णाक्षरहरू र आफ्नो बेग्लै र विशिष्ट महत्व र विशेषता भएको अंकहरूलाई नै माटियामेट बनाउने गरी नेपालभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधनहरूबाट एकमुष्ट रूपमा हटाउने अत्याचार के यो हाम्रो देशको सार्वभौम अस्तित्वाथिको विषाक्त हमला हैन ?

यातायातका साधनहरूमा प्रयोग हुने संख्यापाटी (नम्बर प्लेट) भनेको नितान्त ट्राफिक प्रहरी र यात्रुहरूका बीचको सम्बन्ध सेतुलाई कायम राख्ने विषय हो । यातायातका साधनहरूले सवारी चलाउने क्रममा कुनै किसिमको भूल वा गल्ती गरेमा ती घटना, परिघटनाहरू के कति कारणबाट घट्यो र त्यसमा दोषी पक्षलाई पत्ता लगाएर कानूनी दायरामा ल्याउने प्रयोजनका लागि प्रयोग गरिने माध्यम हो संख्यापाटी । संसारका सम्पूर्ण देशहरूले आफ्नो देशको क्षेत्राधिकारमा सञ्चालित हुने सवारी साधनहरूमा आफ्नै भाषका वर्णाक्षरहरू र अंक नै प्रयोग गरेका हुन्छन् । आफ्नो भाषामा लिपि, अक्षर र अंकहरू प्रयोग गरेर वैकल्पिक माध्यमबाट आफ्नो समस्या समाधान गरेका हुन्छन् ।

हाम्रो देशका सवारी साधनहरूमा असंवैधानिक “इम्बोष्ड नम्बर प्लेट” प्रयोग गर्दैमा हाम्रा सवारी साधनहरू, भारत, बेलायत, अमेरिका, चीन लगायतका देशहरूमा चल्ने हैनन् । आफ्नो देशमा सञ्चालित हुने सवारी साधनहरू हाम्रो आफ्नै भाषाको लिपि, अक्षर, अंकहरू प्रयोग गर्दा नै यात्रुहरू र ट्राफिक प्रहरीहरूलाई समेत सहज हुन्छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको प्रमुख दायित्व भनेकै सार्वभौमसत्तासम्पन्न राष्ट्र र जनताको रक्षा, सुरक्षा, सेवा र सम्मान हुने कार्य गर्नु हो ।

 

दुर्भाग्य, संसारको कुनै पनि देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले नगर्ने र नगरेका कार्य हाम्रो देशमा भैराखेको छ । यो असंवैधानिक अत्याचारबाट (क) चिरकाल पर्यन्तसम्म हाम्रो भाषाको लिपि, वर्णाक्षर र अंकहरूलाई हाम्रा सन्तान, दरसन्तानहरूले लेख्न, देख्न र प्रयोग गर्नबाट पूर्णतः वञ्चित बनाउने छ ।

(ख) आफ्नो देशका नागरीकहरूले तिरेको राजस्वको सम्पूर्ण हिस्सा राज्य कोषमा दाखिला नभै विदेशी कम्पनीले एकाधिकार जमाउने छ ।

 

(ग) तीन शयदेखि एघारशयसम्ममा बन्ने संख्यापाटी (नम्बर प्लेट) लाई अब पैतीस शयदेखि ६ हजारसम्म तिर्न सर्वसाधारण जनतालाई बाध्य र विवश बनाइने छ ।

(घ) संख्यापाटी (नम्बर प्लेट) लेखन कार्य गरेर आफ्नो पेशा–व्यवसाय चलाएर आफ्नो जीविका चलाउँदै आएका कलाकारहरूको मुखमा ताल्चा लगाएर उनीहरूको रोजी रोटी खोस्ने बेइमानी भएको छ ।

(ङ) रोडमा यातायातका साधनहरूबाट हुने कुनै पनि दुर्घटनाहरूको यकिन गर्न सर्वसाधारण आम नागरिकहरलाई कठिन हुने भएको छ ।

(च) ट्राफिक प्रहरिलाई समेत यातायातका साधन खुट्याउन र छुट्याउन कठीन भएको छ । धनजनको क्षतिबाट आम सर्वसाधारण जनता सधैं भयभीत हुने छन् ।

(छ) हाम्रो भाषाको देवनागरि लिपि, वर्णाक्षरहरू, अंक र गोपनियताको हक हाम्रै देशको न्याय निर्णय र सम्झौताले गर्दा मुलुकको मर्यादामा सधैं कालो धब्बा लाग्ने भएको छ ।

बढबढ बाबु पढपढ चाँडो
चौधै विद्या कण्ठ गरौला
ज्ञानी ध्यानी बनी गुण खानी
पृथ्वीको भार हरौला ।
धार्मिक भारी परोपकारी
बनी भवसागर पार तरौला ।।

भाषामा भएको देवनागरी लिपि र वर्णाक्षरहरू चराचर जगत र जीवनलाई ज्योतिर्मय बनाउने सनातन महाशक्ति हो । यस्तो दुर्लघ र अप्राप्य शक्ति र सामथ्र्यलाई समाप्त पार्ने आततायी, अत्याचारी, विवेकहीन, स्वार्थी बेइमानहरूलाई समय र समाजले कहिल्यै पनि क्षमा र छुट दिने छैन । सकिन्छ भाषाको सेवा र सम्मान गर्नुपर्छ र सकिँदैन भने भाषामा भएका महानतम् तत्वहरूलाई नास्ने, मास्ने, घटाउने, कटाउने र मेटाउने जघन्य अत्याचार र अन्याय गर्नु हुँदैन ।

न्यायिक विवेक मरेपछि केही पनि बाँच्दैन । आफ्नै भाषाको लिपि, वर्णाक्षरहरू र अंक समेत समाप्त पार्ने अत्याचार सामान्य चेतना भएका पशुपन्छी र किटपतङ्गहरूले पनि गर्दैनन् । आजसम्म संसारको इतिहासमा आफ्नै भाषालाई समाप्त पार्ने अत्याचार कतै र कहिल्यै पनि भएको छैन । दुर्भाग्य, हाम्रो मुलुकमा केही विवेकहीन, भाषामारा, द्रव्यपिशाचहरूको विवेकहीन वेइमानीले गर्दा आज आफ्नै भाषाको लिपि र अक्षरहरू नै समाप्त पार्ने अत्याचार भइराखेको छ ।

तेह्रौं शताब्दीमा बङ्गालका गयासुद्धिनले नेपालभित्र प्रवेश गरेर हाम्रा मठ–मन्दिरभित्र भएका देवीदेवताको अङ्गभङ्ग गर्ने र व्यापक लुट–पाट गरेर नेपाल र निर्दाेष नेपालीहरूमाथि घनघोर अत्याचार गरेका थिए त्यस्तै आज हाम्रो भाषामाथि विभत्स अन्याय भैराखेको छ । नेपाली अनुहारकै विवेकहीन अत्याचारीहरूलाई किनेर आफ्नै भाषाको लिपि, वर्णाक्षरहरू, अंक र संवैधानिक गोपनियतालाई समेत समाप्त पार्ने विवकेहीन अत्याचारका विरूद्ध जागरूक भएर आफ्नो भाषा बचाउने महान्तम् कर्म गर्नु सम्पूर्ण नेपालीहरु जागरूक हुनु अनिवार्य छ । जय भाषा ! जय देश !! जय न्यायदेव कोटिर्लिङ्ग कालभैरव इजलास !!

रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुवस्ती

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend