logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुरानो मेडिकल कलेजमा इन्ट्रीग्रेटेड ओपिडी सिस्टम, सबै सेवा एकै ठाउँबाट


  • जन आकाश
  • शुक्रबार, असोज ८ २०७८

 



चितवन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्ट्रीग्रेटेड ओपिडी सिस्टम लागु गरेको छ । यो सिस्टम लागु भएसँगै ओपिडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनु भयो । उहाँले भन्नुभयो “सेवाग्राहीले बीमा वा स शुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमुना दिने, औषधि खरिद गर्ने लगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।” एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाई छ ।

अस्पतालको सबै विभागमा बीच भागमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँ बायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाईएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको प्रधानले जानकारी दिनुभयो ।

त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवालिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।”अन्य परीक्षण गर्दा समेत त्यही रहेका कर्मचारीले सहजी करण गरिदिने हुँदा बिरामीलाई सहज हुने उहाँले बताउनु भएको छ ।

बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाईएको छ । प्रधानले भन्नुभयो “नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन लागू गरेका हौं ।”उहाँका अनुसार भारतका ठूला अस्पतालहरुमा मात्रै यो सुविधारहेको छ । हालसम्म नेपालका अन्य अस्पतालहरुले दिन नसकेको सेवा पुरानो मेडिकलले दिएको उहाले दावी गर्नुभयो ।

अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकल अन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक, भास्कुलर लगायत सेवा रहेका छन् । यसैगरी स्त्रीको लागि प्रसुती, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

हाल अस्पतालको बहिरंग सेवामा दैनिक ६५० भन्दा बढी सेवाग्राहीले सेवा लिईरहेका छन् । अस्पतालले वार्षिक ३ लाखभन्दा बढीलाई सेवादिंदै आएको छ । २५ वर्ष अघि चितवनमा स्थापना गरिएको त्यस मेडिकल कलेजमा ५८५ शैया सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आईसियू, ६ वटा पिआईसियू, १० वटा एनआईसियू रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend