जन आकाश
काठमाडौ । डिएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालय, जावलाखेल, ललितपुरद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुपियाँको ठुलो धनराशिका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
विजेता तथा उपविजेताहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक अनिल केडिया तथा एकेडेमिक डायरेक्टर सुमन बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियो ।
निक्कै ठुलो धनराशि भएको सम्भवतः यो देशभरिकै उच्च माध्यमिक स्तरीय प्रतियोगिता भएको आयोजकले जानकारी दिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा अन्ततः पराजित हुनुपरेको आयोजक टिम डिएभी रेडले उपविजेता स्वरूप एक लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
उक्त प्रतियोगितामा आयोजक टिम डिएभी रेडका सुमित थापा मगर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसरी नै प्रतियोगिताका सर्वोत्कृष्ट गोलकिपर ओरियन्ट उच्च माध्यमिक विद्यालयका सरोज पाण्डे घोषित भएका थिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार दिवश विष्ट(डिएभी रेड), विजय पौडेल(समृद्धि उमावि) तथा सुनील थिङ (इन्साइट भिजन उमावि)ले संयुक्त रूपमा बाँडेका थिए ।
यस अघि पहिलो संस्करणको फुटसल प्रतियोगितामा विजेता मोलिस उच्च माध्यमिक विद्यालयले एक लाख तथा उपविजेताले पचास हजार नगद पुरस्कार प्राप्त गरेकामा दोस्रो संस्करणमा विजेता समृद्धि उच्च माध्यमिक विद्यालयले नगद एक लाख पचास हजार तथा उपविजेताले पचहत्तर हजार रुपियाँको पुरस्कार प्राप्त गरेका थिए । यस पटकको प्रतियोगितामा पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको आयोजकले कार्यक्रमा जानकारी दिएको थियो । आयोजकका तर्फवाट दुई टिम गरी प्रतियोगितामा उपत्यकाका कूल २६ उच्च माध्यमिक विद्यालयका टिमहरूको सहभागिता रहेको थियो । कूल तीन दिनसम्म सञ्चालित उक्त प्रतियोगिताभर हजारौँ आगन्तुक दर्शकहरू तथा विद्यार्थीहरूले खेलको आनन्द लिने मौका पाएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend