जन आकाश
काठमाडौं । साधना साहित्य मञ्च नेपालको पाचौं वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष गणेश खड्का (असन्तुष्ट जलन) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कवि तथा भाषाविद् रमेश खकुरेलको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विशिस्ट अतिथिमा साहित्यकार कलानिधि दाहाल , साधना साहित्य मञ्च नेपालका छन्द प्रशिक्षक कवि द्वय तोयानाथ सुवेदी र वीरेन्द्र नेपाल रहनुभएको थियो भने सप्त वि साहित्य सञ्जालका अध्यक्ष तथा नोवेल साकोस साहित्य प्रतिष्ठानका संयोजक साहित्यकार राजन प्रसाद न्यौपाने लगायत साहित्यकार तथा साहित्यिक संस्थाका प्रतिनिधिहरु रहनुभएको थियो ।
संस्थाका सदस्य शिव कुमार ढकाल ऋजुले सञ्चालन गर्नुभएको कार्यक्रममा वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि कवि तथा भाषा विद् खकुरेलले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो र राष्ट्रको सम्मान स्वरुप राष्ट्रिय गान बजाईएको थियो । स्वागत मन्तव्य संस्थाकी सदस्य रचिता दाहालले गर्नुभयो भने स्वागत गीत पनि गाइएको थियो ।
वार्षिक प्रतिवेदन संस्थाकै सदस्य साईमना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक आयव्यय संस्थाकी कोषाध्यक्ष उमा दाहालले गर्नुभएको थियोे । त्यस्तै साधना साहित्य मञ्चको अनलाइनबाट प्रस्तुत हुने कार्यक्रमका बारेमा संस्थाकी सदस्य रीता दाहालले जानकारी दिनुभएको थियो । करीब सय जनाको उपस्थितिमा भएको कार्यक्रममा ३५÷४० जना जति स्रष्टाले रचना वाचन गर्नुभएको थियोे भने केही अतिथिहरूबाट शुभकामना मन्तव्य सहितको रचना पनि आएको थियो।
रचना वाचन गर्ने सबैलाई संस्थाले प्रसंसा पत्र प्रदान गरेको छ । त्यसैगरी लोकदोहोरी गायक गायिकाहरुलाई मायाको चिनो र प्रसंसा पत्र पनि प्रदान गरिएको थियो ।
वार्षिकोत्सब कार्यक्रम सभ्य र भव्य नै भएको महसुस गरेका छौँ । कुनै पनि काम गर्दा कहिँ न कहिँ कमजोरी हुनु स्वभाविक हो सायद त्यसो भएको पनि हुनसक्छ तर हामीले त्यो कसुर नछोडौं भन्ने नै थियो संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति गणेश खड्का (असन्तुष्ट जलन) ले भन्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकांशले नेपाली भाषा साहित्यको पक्षधर संस्थाहरूको एकरुपता हुनुपर्ने र भाषा साहित्यले सहि मार्ग समाउनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि खकुरेलले नयाँ पुस्तामा लेखन वृद्धि भएजती वाचनमा वृद्धि नभएको र यसलाई नयाँ पुस्ताले ध्यान दिनुपर्ने बताउनुभयो। स्रष्टाले रचनागर्दा सकभर छन्दमा गर्नुपर्ने बताउनुहुँदै सगरमाथा देशको गौरब भए जस्तै त्यस्तै छन्द पनि नेपाली साहित्यको गौरव हो भन्नुभयो।
कार्यक्रममा केहीबेर गायक र गायिका शुशिला देवकोटा , सीता खड्का , उत्तम लामिछाने ,नवराज दुलाल ,राम चन्द्र पाठक , संगीता अधिकारी , राधिका गिरि धमला लगायतले लोक दोहोरी गीत गाएका थिए जसमा कैयौं स्रष्टाहरू नाचेर रमाएका थिए। निर्धारित समय भन्दा १ घन्टा ढिला सुरुभएको कार्यक्रम करिब ५ घन्टा सम्म चलेको थियोे ।
कार्यक्रममा संस्थाले आजीवन सदस्यता पत्र खुला गर्दै स्रष्टाहरु सुमन धमला,नारायण प्रसाद निरौला र सन्दिप सङ्गौलालाई आजीवन सदस्यता पत्र प्रदान गरेको थियो । कार्यक्रममा उपस्थित सबैलाई संस्थाका अध्यक्ष असन्तुष्ट जलनले कार्यक्रम समापन गर्दै धन्यवाद व्यक्त गर्नुभयको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend