logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भूगोलद्वारा चार कृतिसार्वजनिक


  • जन आकाश
  • बुधबार, जेष्ठ १८ २०७९

काठमाडौ । ‘भूगोल साहित्य समाज’ले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते एक कार्यक्रमको आयोजना गरेको छ । समाजको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाकक्ष, भद्रकाली प्लाजामा आयोजित कार्यक्रममा समाजद्वारा प्रकाशित देहाय बमोजिमका चारवटा कृति एकैसाथ विमोचन गरिएका थिए ।



अभिव्यञ्जना संयुक्त छेस्का कवितासङ्ग्रह, सर्जकहरू ः ओम आचार्य,किशन पौडेल,खगेन्द्र प्रसाद बस्याल,जयनारायण नेपाल,टङ्क पन्थ,मुरारीराज मिश्र,एलपी पराजुली,विनोद नेपाल र हृदय लेकाली ।

अभिव्यञ्जना छेस्काकविताको प्रथम कृति हो । फूलको हार्दिकता कविता सङ्ग्रह, कवि ओम आचार्य । छनक छेस्का कविता सङ्ग्रह र काव्य–सुधा रम्बास सङ्ग्रह, कवि एलपी पराजुली उक्तकृतिहरू सभाका प्रमुख अतिथि प्राज्ञ देवी नेपाल,विशिष्ट अतिथि किरणकुमार श्रेष्ठ र सभापति विनोद नेपालले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा समीक्षक टङ्क पन्थले फूलको हार्दिकता र छनक तथा समीक्षक दीपक सुवेदीले काव्य–सुधाको सङ्क्षिप्त समीक्षा गर्नु भएको थियो ।

प्रमुख अतिथि डा.नेपालले विमोचित कृति अभिव्यञ्जनाको समीक्षा प्रस्तुत गर्दै मित व्ययीता,खिरिलो र चोटिलो प्रस्तुति अनि विद्युतीय झट्का प्रवाहित गर्नु नै छेस्काको खास प्रकृति रहेको बताउनु भयो । वर्तमानमा नेपाली साहित्यमा देखा परेका लुघ आकारका काव्य उपबिधाहरू र तिनको भविष्यबारे चर्चा गर्दै उहाँले‘नयाँ उपबिधा प्रवर्तन हुनु भाषा र साहित्यको दृष्टिले अत्यन्त राम्रो भएपनि साहित्यिक सिर्जनामा साहित्यका गुणहरू हुनैपर्ने बताउनु भयो । उहाँले यसो हुन नसकेमा यस्ता लेखन प्रवर्तकहरूमा मात्र सीमित हुने अवस्था आउने र त्यो दुर्भाग्यपूर्ण हुने धारणा पनि राख्नु भएको थियो ।

आमन्त्रित स्रष्टा एवम् विद्वतजनहरू तथा कार्यक्रमको उपस्थि तिर धैर्यताप्रति लक्षित गर्दै डा.नेपालले गुणात्मक मूल्यका दृष्टिले कार्यक्रम उच्च प्रकृतिको र भव्य भएको विचार व्यक्त गर्नुभयो भने कार्यक्रममा दार्जिलिङका विद्वान साहित्यकारहरूको उपस्थितिले कार्यक्रम अन्तर्राष्ट्रिय बन्न पुगेको धारणा पनि राख्नुभयो । स्मरणीय छ, सो कार्यक्रममा भारतको दार्जिलिङबाट आउनु भएका साहित्यकार एवम् नेपाली भाषा आन्दोलनका जीवित योद्धा प्राः तेजमान बराईलीलाई समाजका तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कृतिकारहरूलाई बधाई दिनुहुँदै हालआफूले नेतृत्व गरिरहेको संस्थाभित्र यतिधेरै सर्जक रहेको थाहापाउँदा खुसी लागेको बताउँदै आफ्नै संस्थाबाट निवृत्त भएकाहरूले गठन गरेको साहित्यिक संस्थाले आयोजना गरेको भव्य कार्यक्रममा उपस्थित हुन पाउँदा विशेष खालको आनन्दको अनुभूति भएको विचार व्यक्त गर्नुभयो ।

भारतको दार्जिलिङबाट आउनु भएका भाषा सेवीद्वय डा.शुकराज दियाली र प्राध्यापक तेजमान बराइलीले शुभकामना मन्तव्यका क्रममा नेपाली भाषा र माटोप्रतिको स्नेह तथा गौरव बारे प्रकाश पार्नुभयो । स्मरणीय छ, कार्यक्रममा प्रमुख अतिथि डा. नेपालले भारतीय नेपालीहरूमा तेजमान बराइलीको नामलिंदा श्रद्धाले शिर झुकाउने धेरै रहेको बताउनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू लब गाउँले, दिव्यगिरी, देविका तिमिल्सिना,कणाद महर्षि,प्रतीक ढकाल,गोविन्द घिमिरे वेदमणी, डा.बमबहादुर जिताली, खेमराज पोखरेल, बुद्धिराज पाण्डे बासुदेव गुरागाई,धन्वन्तरी मिश्र,ममता मृदुल, दीपक लोहनी,प्रकाश घायल,राजेन्द्र आचार्य,कलानिधि दाहाल,भाग्यशाली अधिकारी,राजबाबु श्रेष्ठ सागर,छायादत्त न्यौपाने,भगवती खतिवडा,रञ्जना निरौला, तर्कना शर्मा,विमला अधिकारी,रुद्र अधिकारी लगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख र पत्रकारहरूसमेत सहित झण्डै सवा सय सर्जक तथा भाषा र साहित्यका अनुरागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमको भव्य सफलताको लागि दिनुभएको शुभकामना पढेर सुनाइएको थियो ।

झण्डै तीन घण्टा चलेको कार्यक्रम भूगोल साहित्य समाजका अध्यक्ष तथा छेस्का कविताका प्रवर्तक विनोद नेपालको अध्यक्षतामा भएको थियो । समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शैलेन्द्रकुमार शाहले सञ्चालन गर्नुभएको थियो ।

आयोजक संस्था भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त कर्मचारीहरूद्वारा गठित साहित्यिक संस्थाहो जुन विगत तीनवर्षदेखि क्रियाशील छ । यसको कार्यालय दरबारमार्ग,काठमाडौमा रहेको छ । यो यस समाजले आयोजना गरेको १६औँ कार्यक्रम हो ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend