जन आकाश
गणेश राई दुःख, कष्ट, संघर्ष, अभाव र गरिवी झेलेर आउनुभएका एक खारिएका नेता हुनुहुन्छ । उहाँ छात्र जीवनदेखि नै पढाइमा जेहेन्दार हुनुहुन्थ्यो । राई स्कुलदेखि कलेजस्तरको पढाइमा पहिलो दर्जामै आइरहनुभयो । आफ्ना साथी सहकर्मीहरुलाई पनि पुस्तक पढ्न, विविध ज्ञान हाशिल गर्न प्रेरित गरिरहने गणेश राई समाजकै प्रिय व्यक्तिका रुपमा चिनिनुहुन्छ । छात्रजीवनमै साहित्यिक पत्रिका प्रकाशन गरेर, सामाजिक, सांस्कृतिक संस्था खोलेर समाजलाई चेतना र जागरण अभियानतर्फ अघि बढाउन पूर्ण क्रियाशील हुनुहुन्थ्यो भन्ने कुरा उहाँको मल्ली क्षेत्रको समाजले अहिले पनि स्मरण गर्छ । अँग्रेजी, बाङ्घला, हिन्दी र नेपाली भाषामा गहिरो दखल राख्नुहुने राई राष्ट्र–अन्तर्राष्ट्रिय परिस्थितिहरुका वारेमा पनि ज्ञाता हुनुहुन्छ । ‘सिक्किम सुधार अभियान’का प्रणेता गणेश राई प्रखर बुद्धिजीवि, राजनीतिक चिन्तक हुनुहुन्छ । सिक्किमका गाउँ–वस्ती, शहरी क्षेत्रमा सवैले रुचाइएका लोकप्रिय मृदुभाषी, मिलनसार, राईसित सिक्किमेली समाज, सामाजिक, राजनीतिक एंवम् आर्थिक पर्यटनलगायत समसामयिक बिषयहरुमा जन आकाश साप्ताहिकले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ । सं)
यसवेला के गर्दै हुनुहुन्छ, दिनचर्या कसरी वितिरहेको छ ? सिक्किममा राजनीतिक सरगर्मी बढिरहेको छ, तपाई कता हुनुहुन्छ ?
सिक्किम भारतको बाइसौं राज्य हो । यो सुन्दर पर्वतीय शृङ्खलाहरुमा अवस्थित छ । धर्तीको स्वर्ग भनेर चिनिने यो सिक्किमलाई ‘इन्द्रकील’ पनि भनिन्छ । म यहाँको एक आदर्श नागरिक । ममाथि सिक्किमका धेरै जिम्मेवारीहरु छन् । यहाँका नागरिक निष्कपट छन् । आदर्श छन् । एसियन राष्ट्रका गरिव मुलुक सरह यहाँका जनताका पनि गाँस, बास, कपासका समस्या छन् । राज्यलाई संचालन गर्ने योग्य, दूरदर्शी राजनेताहरुका अभावका कारण सिक्किम झण्डै दिशाहीनको अवस्थामा पुगेको छ । यसलाई दिशा प्रदान गर्न, जनताका दुखःसुखमा, गारो साँगुरोमा सहायता पु¥याउन म दिन रात गाउँ वस्तीहरुमा पुगिरहेको छु । जनतासित साक्षात्कार गरिरहेको छु । सिक्किमेलीहरुलाई सवै प्रकारका समस्यावाट मुक्ति प्रदान गर्न दिन रात खटिरहेको छु ।
योजनाहरु के के छन् त ? चुनौतीहरु पनि छन नि ?
सर्वप्रथम म र मेरा साथीहरु, अभियन्ताहरु सिक्किमका समग्र वस्तीमा पुगिरहेका छौं । गाउँ र शहरोन्मुख क्षेत्रमा पनि चासोका साथ सम्पर्क गरिराखेका छौं । भौगोलिक दृष्टिकोणवाट सिक्किमका कतिपय क्षेत्रहरु अझै पनि बिकट छन् । यातायात, विद्युत, सञ्चार, खानेपानी, हेल्थपोष्ट र विद्यालयहरुको विकास हुन नसकेको अवस्था छ । युवा शक्ति राज्यका खम्बा हुन् । यी युवाहरुलाई रोजगारी प्रदान गर्न आवश्यक छ । त्यसैले सिक्किमका स्थानीय समस्या, कठिनाइ, चुनौती आदिको लगत Record राखेर योजना बनाउने र तिनलाई कार्यान्वयन तहमा पु¥याउने मेरो प्रयास हुनेछ ।
तपाईको यो अभियानले एक सशक्त पार्टीको स्वरुप लिन्छ कि लिदैंन ?
लोकतान्त्रिक पद्धति भएका मुलुकहरुमा राजनीति र राजनीतिक दलहरुको प्रमुख भूमिका हुन्छ । राजनीति र राजनीतिक दलहरु स्वच्छ र पारदर्शी भएपछि नै जनता सुखी र सम्पन्न हुन्छन् । विश्वमै लोकतन्त्रका लागि भारत उदाहरणीय राष्ट्र हो । सिक्किम भारतको एक अङग हो । तसर्थ लोकतन्त्रको रक्षा गर्ने माध्यम स्वच्छ राजनीति हो । राजनीति संचालन गर्न सवै क्षेत्रका जनप्रतिनिधिहरु भएको संगठित दल चाहिन्छ । हामीले दलमा रुपान्तरण हुनै पर्छ ।
सिक्किममा एसडीएफ, एसकेएम, भाजपा लगायतका राजनीतिक पार्टीहरु हुँदाहुँदै फेरि तपाईहरुको नयाँ राजनीतिक पार्टी आएर चमत्कार नै हुन्छ र ?
अरु राजनीतिक पार्टीहरुमाथि आरोप लान्छना लगाइरहन आवश्यक छैन । उहाँहरुको स्वविवेकको कुरा हो । सिक्किम र सिक्किमेली जनतालाई उहाँहरुले चित्त बुझाउन सक्नु भएको भए हामीले नयाँ राजनीतिक पार्टी स्थापना गर्नुपर्ने थिएन । लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा गर्न सवैलाई छुट छ । भारतको संविधानले प्रदान गरेको अधिकारअनुसार हामी स्वस्थ्य प्रतिस्पर्धा गर्न काविल छौं ।
यसवेला सिक्किम लथालिङग छ । चारैतिर उकुसमुकुस छ । सत्तासित निकट भएका केही व्यक्ति र समुदायलाई मात्र सुख भोग होला । तर राज्यका अधिकाँश जनता दुखी छन् । युवा जनशक्ति बेरोजगारीको मारमा परेको छ । विकासको गति ठप्प छ । सिक्किम बनाउन चाहनेलाई मेरो साथ र समर्थन छ । सिक्किम बचाउने साझा दायित्व हामी सम्पूर्ण सिक्किमेलीहरुको हो । तर भत्काउने अधिकार कसैलाई छैन । राज्यमा भएका अनियमितता र वेथितिहरुप्रति हामी सवै सतर्क हुन जरुरी छ । तपाईले हामीहरु आएपछि चमत्कार हुन्छ र भनेर प्रश्न गर्नु भएको छ । हामी योजना, प्रणाली व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्छाै । कसैप्रति विभेद र पूर्वाग्रह राख्दैनौं । भोटे, लाप्चे, नेपालीहरुको बाहुल्य रहेको सिक्किममा एकता छ, परस्पर सद्भाव छ । यो एकता र सद्भावलाई कदाचित् खलबलिन दिदैनौ । त्यसैले हामी चमत्कारमा होइन, सिस्टममा विश्वास गछौ । सिष्टम बैज्ञानिक र व्यवहारिक भएपछि सवै कुरा ठिक हुन्छ ।
तपाईले प्रणालीलाई प्राथमिकता दिनु भएको छ,व्यवस्थापनका कुराहरुलाई महत्व दिनु भएको छ । यो कसरी सम्भव छ ? तपाईहरुलाई सवैको सहयोग रहन्छ त ?
“सिस्टम मेनेजमेन्ट”वाट विश्वका अधिकाँश मुलुकहरुले प्रगति गरेका छन् । समृद्धि र सफलता हाशिल गरेका छन् । “ल एण्ड अर्डर” लाई ठिक ढंगवाट ल्याउने छौं । उचित व्यक्ति उचित स्थानको सिद्धान्त Theory of right person,right place लाई अवलम्बन गर्नेछौं ।
न्याय र समानतालाई महत्वका साथ व्यवहारमा ल्याउनेछौं । विविध जात, धर्म, संस्कृति, परम्परा, भाषा, भेषभूषा भएको सामाजिक एकतालाई कायम गर्दै धनी र गरिवका वीचमा रहेको विभेदलाई अन्त्य गर्नेछौ । जुनसुकै जात, धर्म, भाषा, संस्कृति, समुदायका सिक्किमेलीलाई सम्मान, सुरक्षा र पहिचान दिएर समाजमा स्थापित हुन सक्ने वातावरणको विकास गर्नेछौं । उद्योगधन्दा, कृषि, व्यापार, व्यवसाय र नोकरीमा रहेकाहरुलाई तिनीहरुका रुचि, चाहना, क्षमता र प्रतिभाका आधारमा अधि बढ्ने अवस्था सृजना गर्नेछौ । भारतमै हाम्रो राज्यलाई उदाहरणीय बनाउने हाम्रो प्रयत्न रहने छ । मेरा टिमका सवै साथीहरु, शुभेच्छुकहरु,समर्थकहरु, हाम्रो कामप्रति उत्साहित छन् , विश्वस्त छन् । हाँमीसँगै सहकार्य गर्न प्रतिबद्ध छन् । कसैको स्वाभिमान र आत्मसम्मानमा चोट पु¥याउने कार्य गर्ने छैनौं । म सतर्क छु, हामी सवै सतर्क छौं । सवै कार्य पारदर्शिताका आधारमा गछौं ।
तपाईहरुको संगठनात्मक गतिविधि र राजनीतिक सभा सम्मेलनलाई आक्रामक ढङ्गवाट कसैले वाधा व्यवधान पु¥याउन सक्ने जोखिम कत्तिको छ ?
हामी हिंसा र आतंङ्कमा विश्वास गदैनौं । प्रेम, शान्ति, मेलमिलाप र सदाचारमा विश्वास गर्छाै । हाम्रो यो सिर्जनात्मक ,जनमुखी, प्रजातान्त्रिक एंवम् प्रगतिशील अभियानलाई वाधा व्यवधान पु¥याउने आँट कसैले गर्दैन । हाम्रो एकता र अटल विश्वासलाई भंग गर्ने शक्ति कसैसँग छैन ।
नयाँ संगठनात्मक संरचना तयार गर्न, कार्यकर्ता, मतदाता आदिलाई प्रशिक्षण दिन लगायत पार्टीका तमाम कार्य संचालन गर्न आर्थिक फण्डको आवश्यकता पर्छ । यी सवै कहाँवाट जुटाउनु भएको छ ? कुनै अदृष्य शक्तिवाट गाइडेड त हुनुहुन्न ?
हाम्रा साथीहरुले, शुभचिन्तकहरुले, तमाम समर्थकहरुले हाम्रो यो सिक्किम सुधार अभियानलाई स्वतस्फूर्त रुपमा अगाडि बढाइरहनुभएको छ । म गणेश राई, उहाँहरुको आस्था र विश्वास मात्र हुँ । तमाम सिक्किमेली जनताको एक प्रतिनिधि । हामी फजुल खर्च गर्दैनौं ।
इमान्दारीपूर्वक काम गर्छाै । सवैको साथ र सहयोगमा हाम्रो संगठन निर्माण भएको छ । प्रत्येक सिक्किमेलीको सहभागिता छ यसमा । सवैले आ–आफ्ना क्षमतावाट कन्ट्रिव्यूशन गरिरहनुभएको छ । मेरो र मसँग संलग्न हुनुभएका सवै व्यक्ति र समुदायहरु सिक्किम बचाउन, सिक्किमको पुनर्निर्माण गर्न दत्तचित्तले लागिपर्नुभएको छ । हामी कसैवाट गाइडेड छैनौं । कुनै अदृष्य शक्ति थाहा छैन हामीलाई । हामी पूर्ण पारदर्शी छांै । मेरा मार्गदर्शक सिक्किमेली जनता हुन् । हाम्रो अभियानले, हाम्रो संगठनले सिक्किमको रक्षा गर्छ, सिक्किमेली जन समुदायको सुरक्षा गर्छ । हामी कसैलाई पनि आशंका गर्ने अवसर दिदैनौ ।
सवैले प्रारम्भमा मीठा मीठा कुरा गर्छन् आदर्श छाँट्छन् । जनतालाई सुन्दर सपना देखाउँछन्, सत्ता र चौकीमा पुगेपछि ती सवै विर्सेर आफ्नो स्वार्थ पूरा गर्न थाल्छन् । तपाईहरुप्रति ढुक्क भएर विश्वस्त हुनुपर्ने आधारहरु के छन् ?
गणेश राईलाई सिक्किमका सम्पूर्ण जनताले चिनेको छ । गणेश राईको परिवार कस्तो छ , सवैलाई थाहा छ । गणेश राईसँग जोडिएका सम्पूर्ण शुभेच्छुक, समर्थक, प्रशंसकहरु, युवा जनशक्तिहरु, जेष्ठ नागरिकहरु, सर्वसाधारण नरनारीहरु,चेलीहरु, असहाय,उत्पीडित बर्गहरु सवै एउटै परिवार भएर कर्म क्षेत्रमा उत्रिएका छन् । उहाँहरुको सवैको प्रेम र विश्वासमा म अघि बढिरहेको छु । मेरो जीवन सिक्किम र सिक्किमेली जनताको हित र सुरक्षामा समर्पित छ । म साधारण ब्यक्ति हुँ, जनताको सेवक ।
म एकपटक निष्ठापूर्वक इमानदारिताका साथ काम गरेर देखाउन चाहन्छु । सिक्किमको नवनिर्माण एकदमै जरुरी छ । सिक्किमलाई व्यवस्थित गरेर सही वाटोमा हिँडाउन सकेपछि म अन्य उत्तराधिकारी साथीहरुमा यो जिम्मेवारी सुम्पने छु । तर म सधै साथ रहने छु । मेरो व्यक्तिगत स्वार्थ केही छैन । मेरो परिवारका सदस्यहरुको पनि कुनै स्वार्थ छैन ।
तपाईहरुका यी आदर्श बाक्यहरुलाई सिक्किमका जनताले कसरी विश्वास गरेका छन् ?
तपाई सिक्किमका गाउँ गाउँ, वस्ती वस्ती घुमेर हेर्नुहोस् । यहाँका नागरिकहरुसँग भेटेर सोधपुछ गर्नुहोस् , हाम्रो स्थिति के छ भन्ने कुरा थाहा पाउनुहुनेछ । सिक्किमेलीहरु ढाँट छल गर्न जान्दैनन् । सवैले सत्य बोल्छन् । गणेश राई सिक्किमलाई चाहिन्छ, भनेनन् भने भन्नुहोला । जनताभन्दा सत्य र जनताभन्दा ठूलो शक्ति केही छैन । जनताले विश्वास नगरी अगाडि बढ्न सकिँदैन । सिक्किम विग्रिन थाल्यो भनेर नै जनताले गणेश राईलाई प्रस्तुत गर्न लागेका हुन् भन्ने कुरा तपाई नविर्सनु होला ।
त्यसो त सवैले जनताकै कुरा गर्छन् चुनावअघि जनतालाई नै प्राथमिकता दिएर आकर्षित गर्न खोज्छन् । यो कुरा ‘भोटमुखी भएन र’, अहिले चौकीमा पुगेकाहरु जनताले नै पठाएका होइनन् र ?
यो निसन्देह हो कि जनता सर्वशक्तिमान हुन् । राजनीति पनि जनताकै हित गर्ने कुरामा परिलक्षित हुन्छ । तर जनताले कसलाई, कुन पार्टीलाई भोट दिन्छन्, उनीहरुको स्वतन्त्रता हो । जनताको स्वविवेकमा सवै कुराहरु निर्भर गर्दछ । अहिले सिक्किमका जनता सचेत भइसकेका छन् । जनतालाई धोका भएकै कारणले गणेश राईलाई खोज्न थालेका हुन् । मैले र मेरा सम्पूर्ण साथीहरुले, शुभेच्छुकहरुले, समर्थकहरुले ‘भोटमुखी ’राजनीति गरेका छैनौ । हरेक दिन गाउँ वस्तीमा पुगेर जनताका सुखः दुखः बुझ्ने कार्य गरिरहेका छौ । उहाँहरुसित भेटेर, छलफल गरेर,सुझाव सल्लाह लिएर कसो गर्दा के गर्दा सिक्किमेलीहरुको उत्थान हुन सक्छ, त्यसवारे योजना, कार्यक्रम, र व्यवस्थापनसहित हामी अगाडि बढिरहेका छौ । जनताले मन पराउने कार्य ग¥यौ भने हामी त्यसै पनि सफल हुनेछौ ।
चुनावको नजिक भएर यस्तो भनिएको त होइन ?
राजनीतिमा सिक्किम र सिक्किमका जनता प्रमुख हुन् । जनतालाई केन्द्रमा राखेर जनकल्याणकारी कार्य गर्न थालेपछि मात्र राजनीतिको औचित्य पुष्टि हुन्छ । चुनाव पछिल्लो चरणको बिषय हो र त्यो प्राविधिक कुरा हो । चुनावका माध्यमवाट जनताले असल र लोकप्रिय व्यक्तिलाई चुन्दछन् ।
मैले आफ्ना वारेमा , आफू संलग्न संगठनका वारेमा बोल्न आवश्यक छैन । जनताले नै बोल्नेछन् । जनताले जे भन्नेछन् , सोहीबमोजिम गर्नेछु । चुनावको नजिक भएर हामीले आफ्नो सक्रियता बढाएको होइन । धेरै बर्षदेखि हामी गाउँ र वस्तीका जनतासित नजिक थियौं जनतालाई साथ दिदै आइरहेका थियौं । जनताका समस्या समाधान गर्न क्रियाशील थियौं । अरु राजनीतिक पार्टी र तिनका नेताहरुलाई काम गर्ने अवसर पनि दिएका हौं । अहिले उहाँहरुले जनतालाई उपेक्षा गर्न थालेका कारणले हामीलाई जनादेश आउन थालेको हो ।
सन् १९७८ को ट्राइवल अर्डरमा काजी ल्हेण्डुप दोर्जीको मन्त्रीमण्डलले सिक्किमे नेपाली जातिका लागि सिफारिस गरेको देखिएन, जव कि त्यो मन्त्रिमण्डलमा नेपाली समुदायकै शक्तिशाली नेताहरुको बाहुल्य थियो । तिनले चाहेका भए नेपालीका तर्पmवाट सीट प्राप्त गर्ने प्रावधानको सुनिश्चितता थियो । ८ मईको सम्झौता बमोजिमको लक्ष्य संविधानको ३७१ एफको संविधानप्रदत्त समान अधिकारवाट सिक्किमे नेपालीले बञ्चित हुन लागेको स्थितिलाई कसरी लिनुहुन्छ ?
तपाईले उठाएको प्रश्नबमोजिम हामी पनि भोटे, लाप्चेसरह नेपाली जातिको हितमा केन्द्रित छौं । भोटे, लाप्चेले पाएका सुविधाहरुलाई स्वागत गर्छु । यसैगरी हाम्रा नेपाली जातिले पनि ती सुविधाहरु पाउनुपर्छ । सिक्किम भोटे, लाप्चे, नेपालीको सामाजिक,सांस्कृतिक एकतावाट निर्माण भएको राज्य हो । यस अघिका सरकार र सिक्किमका नेताहरुले गर्न नखोजेका बिषयमा म काम गर्न आएको हुँ । म सिक्किमका भोटे, लाप्चे र नेपालीका लागि जतिसुकै कठिनाइ र चुनौतीहरु परे पनि ती सवै जटिलताहरुसित सामना गर्न तयार छु र सिक्किमे नागरिकहरुको हक अधिकार र शान्ति सुरक्षा बचाउन हमेशा कटिबद्ध छु ।
अहिले सत्तारुढ नेताहरुले सिक्किमलाई विखण्डन गर्न खोजेका कुरा सुनिदैछ नि ?
म कुनैपनि हालतमा सिक्किमलाई बिखण्डन हुन दिने छैन । सिक्किम वाहिरवाट आएका, अन्य प्रान्तवाट प्रवेश गरेर सिक्किमेलीहरुको हक अधिकार खोस्ने वर्गहरुवाट सचेत रहने कानुन र पद्धतिको विकास गर्न कटिबद्ध छु । म यतिवेला सिक्किम बचाउने अभियानमा लागेको छु । मसित सिक्किमको भविष्य र भाग्य निर्माण गर्ने आधारहरु छन् , संकल्पहरु छन् । यो कुरा सिक्किमका भोटे, लाप्चे, नेपाली दाजुभाइ, दिदी बहिनी, आमा बुबाहरुले राम्ररी बुझ्नु भएको छ । ‘नागरिकता संशोधन कानुन ( सी.ए.ए.२०१९) लागु गर्ने कुरा नै सिक्किम विखण्डन गर्ने बद्नियत हो । हामी यसको घोर भत्र्सना गर्छाै र सवै सिक्किमेलीलाई एकजुट हुन आग्रह गर्छौ ।
अहिले सिक्किममा ‘एक देश एक राशन कार्ड’ कानुन लागु गरेर ( केन्द्र सरकारकै योजना भनिन्छ) सिक्किमका खाँटी रैथाने,भोटे,लाप्चे, नेपाली तथा पुराना रैथाने व्यापारीहरुलाई समेत विस्थापन गर्ने खतरा बढेर गएको चर्चा, व्यापक सुनिन्छ, तपाई के भन्न चाहनुहुन्छ ? ‘यसले सिक्किम सव्जेक्ट’लाई धरासायी बनाउँदैन र ?
तपाईले उठाएको प्रश्नले हामी सवैलाई चिन्तित तुल्याएको छ । यो समग्र सिक्किमेलीहरुका लागि खतराको घण्टी हो । तसर्थ यिनै खतरनाक परिस्थितिहरुवाट सिक्किम र सिक्किमेलीहरुको हित रक्षा गर्न सिकिक्म सुधार अभियान शुरु गरेका हौं ।
सिक्किमका समग्र बुद्धिजीवि, शिक्षक, प्राध्यापक, पत्रकार, चिकित्शक, इन्जिनियर,न्यायमूर्ति, कर्मचारी, चेली वर्ग, जेष्ठ नागरिक, मजदुर, किसान, युवा वर्ग, वकिल, चालक वर्ग, संघ–संस्था, लेखक साहित्यकार, कलाकार, गायक बिभिन्न पेशाकर्मी, रैथाने व्यापारी सर्वसाधारणलाई यी सवै कुराहरुमाथि सचेत गराउन, जनचेतना जगाउने कार्यमा म र मेरा साथीहरु सवै लागेका छौं ।
सिक्किमको मुख्य विषय पर्यटन भएकोले पर्यटन व्यवसायलाई प्रवर्धन गर्न के कस्ता कार्यक्रमहरु रहेका छन् ?
पर्यटन क्षेत्रमा सिक्किम प्रशस्त संभावना भएको राज्य हो । यहाँ धार्मिक,सांस्कृतिक, पर्यावरणीय, प्राकृतिक सम्पदाका भण्डारहरु छन् । टे«किङका लागि पनि अवसर प्रदान गरिने छ । अर्किडको राजधानी भनेर चिनिने सिक्किममा जडीवुडी, बोट वनस्पति र वाइल्ड लाइफमा पनि सिक्किम आकर्षणको केन्द्र हो । यसको रक्षा गर्दै पर्यटकहरुलाई विशेष सुरक्षा र सहुलियत प्रदान गर्नु हाम्रो लक्ष्य रहेको छ । पर्यटन व्यवसायी , उद्यमी, व्यापारी, कृषक वर्गलाई वित्तिय ग्राण्ट र न्यूनतम् व्याजदरमा ऋण सुविधा उपलब्ध गराएर यस क्षेत्रको व्यवसाय प्रवर्धन गर्न कुनै कमी गर्ने छैनौं । सीप विकास र उद्यमशीलता पबर्धन गर्न हरतरहका सुविधा प्रदान गरिनेछ ।
सन् २००८ मा सिक्किमेलीहरुलाई केन्द्रीय आयकर मुक्त गर्ने प्रावधान देखा परेको थियो, सत्तासिन ‘एडिशनल एडभोकेट जेनरल’ लगायत केही व्यक्तिहरुले यो सुविधा व्यापार गर्ने समुदायलाई प्रदान गरिनुपर्छ भनेर सुप्रिम कोर्टमा मुद्दा दायर गरेको देखिन्छ, जो अझै विचाराधीन छ । यसको फाइदा (कर छुटको फाइदा ) केही शक्तिशाली व्यापारिक घरानाले लिइरहेका छन् । फलस्वरुप ती व्यापारीहरु कालो धन जम्मा गर्न सफल भएका छन् । कर छुटको यो सुविधा सिक्किमका भोटे, लाप्चे, नेपालीले मात्र पाउनु पर्ने होइन र ?
यो प्रश्नको जवाफ हाम्रो ‘सिक्किम सुधार अभियान’को सांगठनिक संरचनाको औचित्य र यसको स्थापना हो । किनभने यसवेला सिक्किमे जनताको हितमाथि खेलवाड गर्ने काममा सरकार सक्रिय छ र प्रतिपक्ष भनिएका नेता र शक्तिशाली व्यक्तिहरु पनि यस्ता बद्नियतपूर्ण कार्य रोक्न सचेत छैनन् ।
त्यसैले हामीले सुधार अभियान लिएर आउनु परेको हो । विगतमा पनि तत्कालिन चामलिङ सरकारले सिक्किमे जनतालाई मुक्ति दिन सकेन । वर्तमान गोले सरकारले पनि सिक्किमे जनतामाथि खेलिरहेको छ । अव हामी कसैलाई पनि सिक्किमे जनताको भविष्य र भाग्यमाथि खेलवाड गर्न दिने छैनौं । हामी गम्भीर भएर सिक्किम सुधार अभियानका माध्यमवाट यस्ता जालसाजी, छलकपट र वेथिति विरुद्ध मुकाविला गर्न तयार भइसकेका छौं ।
‘मल्टी कमोडिटी एक्स्चेन्ज’मा देखा परेको अनियमितता र वेथितिसित सरकार स्वयम् , उदासीन रहनुवाट के स्पष्ट हुन्छ भने त्यहाँ ‘दालमे कुछ काला है’ को स्थिति छ । तपाईहरु चाहिँ सरकार र ‘मल्टी कमोडिटी एक्स्चेन्ज’को यो बद्नियतपूर्ण क्रियाकलापप्रति किन मौन देखिनुहुन्छ ?
हामी कहाँ मौन बसेका छौ र ? जो प्रतिपक्षमा रहेको छ, उसले केही गर्न खोजेको देखिँदैन । जसले यो कुरा बुझेको छ, त्यसले पनि चासो दिएको छैन । हामी नयाँ शक्तिका रुपमा देखापर्न गइरहेका र्छौ। अहिले हामीसँग एमएलएहरु छैनन् । सरकारले गरेका धाँधली, नोकरशाहीको मनपरीतन्त्र, पुराना कहलिएका नेताहरुको निस्क्रियता जस्ता कारणहरुले गर्दा हामीले ‘सिक्किम सुधार अभियान’को थालनी गर्नु परेको हो । हामी ‘वाच डग’ भएर काम गरिरहेका र्छौ । हामी सकारात्मक सोच र सुधारात्मक एवम् निर्माणात्मक चिन्तन बोकेर आइरहेका छौ । हामीले सिक्किम संचेतना र जागरण अभियानमा निर्वाह गरेको भूमिका आगामी चुनावले पुष्टि गर्नेछ । किनभने जनताले हामीलाई काम गर्ने ठाउँमा पु¥याउनेछन् भन्ने हाम्रो विश्वास छ ।
गैर सिक्किम सव्जेक्टहरुको विग्विगी चलिरहेको सुनिन्छ, सरकार यसवारे के गर्दैछ ?
वर्तमान सरकार हल्लै हल्लामा निर्माण भएको हो । त्यहाँ सुझबुझ भएका विवेकशील ब्यक्तिहरु लगभग छैनन भने हुन्छ । सरकारका मन्त्री र एमएलएहरु चौकी जोगाउन र आफ्नो व्यक्तिगत फाइदा उठाउनमा मात्र व्यस्त छन् । तिनलाई सिक्किमे जनताको भविष्यप्रति कुनै चिन्ता छैन । सिक्किमको भविष्य कहालीलाग्दो अवस्थामा पुगेको छ । सिक्किम जताततै अस्तव्यस्त छ । लथालिङ्ग छ । सिक्किमका संरचनाहरु भत्काउने काम भइरहेको छ । सिक्किमका युवाशक्ति राज्यका आधारशिला खम्वा हुन् । तिनलाई बराल्ने काम भइरहेको छ । त्यसैले हामी टुलुटुलु हेरेर वस्ने पक्षमा छैर्नौ । सिक्किम र सिक्किमे जनताको सर्वनास हुन लागेको देखेर नै हामी परिवर्तनकारी शक्तिको रुपमा देखा पर्न लागेका हौं । आगामी चौविसको चुनावमा जनताले हामीलाई नै साथ दिएर जनमत प्रदर्शन गरिदिनेछन् ।
सिक्किम सव्जेक्ट, पुराना कानुनहरु, रेभेन्यु अर्डर न. १ र रुल ४(४) लाई सुरक्षा प्रदान गर्न तपाईहरु कम्मर कसेर नै लाग्नु भएको हो त ?
मैले माथि नै स्पष्ट पारिसकेको छु कि सिक्किम विगार्ने तत्वहरुको वद्नियतलाई रोक्न हामीले आउनु परकोे हो । सिक्किमका तमाम जनताले पनि अव चुप लागेर वस्ने वेला छैन । सिक्किमले इमानदार र देशभक्त नेता पाउन नसकेको कारण हाम्रो यो ‘अभियान’ जारी भएको हो ।
के तपाईहरु सत्तामा आएपछि सिक्किममा स्वर्ण युग नै आउँछ त ?
स्वयर्ण युग नै ठान्नुहोस् । सिक्किममा शान्ति सुरक्षा, सुव्यवस्था, समान हक अधिकारको प्रवन्ध र सिक्किमे भोटे, लाप्चे, नेपालीले पाउने विशेषाधिकारको प्रत्याभूति, सवैलाई आत्मसम्मान, स्वाधिनता, रोजगारी एवम् स्वास्थ्य , शिक्षा जस्ता कुराहरु समग्र “एक सिक्किम समृद्ध सिक्किम” बनाउने नीतिमा हामी सफल हुनेछौं । सायद तपाईले यसैलाई पो स्वर्ण युग भनेर संकेत गर्नुभएको हो कि ? जे होस् सिक्किमको भाग्य र भविष्यको फैशला गर्ने कुरा सिक्किमे जनताको हातमा छ । यसैगरी बिपक्षिहरुसित पनि सम्मानजनक व्यवहार गर्नेछांै । कसैलाई काखा र कसैलाई पाखा गर्दैनौं । कसैप्रति भेदभाव र असमान व्यवहार हुन दिने छैनौ ।
अन्तमा तपाईलाई केही भन्नु छ कि ?
मैले माथि नै सवै कुरा स्पष्ट पारिसकेको छु । मेरो लागि हाम्रो अभियानका लागि ‘बिशेष’कुरा सिक्किम हो, ‘सिक्किमे जनता’हुन । चौविसको चुनावमा तमाम सिक्किमे जनताले एकपल्ट हामीलाई अवसर प्रदान गर्नुभयो भने माथि मैले गरेका प्रण र वाचाहरु पूरा गर्नेछु । कुनै हालतमा सिक्किमे जनतालाई धोका दिने छैन ।
२०७९ असार १४ गते जनआकाश साप्ताहिकमा प्रकाशित अन्र्तवार्ता हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend