logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भुँईमान्छेहरुकाे समस्याको जुलुस


  • जन आकाश
  • आइतबार, साउन १ २०७९

भुँईमान्छेहरुकाे समस्याको जुलुस



आधारभुत आवश्यकताकै खातिर
चुलाेदेखि चिहानसम्म
पुच्छरदेखि सिरानसम्म
सारङ्गी जस्तै रेटिएर
एकमुठ्ठी सास रहेसम्म
सधैं भुईमान्छेहरुलाई
समस्याहरुकाे जुलुसले
समाजमा,देशमा र विश्वमा
विधि,पध्दति र शासकहरुले
नजरबन्द गरेर
पैतालाको धुलाे बनाइरहन्छन ।

पुँजीवाद,समाजवाद र साम्यवाद जस्तै
अरु धेरै वादहरुले भन्दा पनि
गाँस,बास र कपासले सताउछ
बहुमत र बलशाहिकै अाधारमा
मिति पुगेका वादहरु लादेर
भुँईमान्छेहरुकाे जीवनमा
समस्याहरुकाे जुलुस खडा गरेका हुन् ।
त्यसैले भन्छन,
शासक,प्रशासकहरुले
तिमीहरू साना मान्छे हाै
तिमीहरू भुँइमान्छे हाै
कुवाका भ्यागुता हाै
यसरी कैयौं वर्षदेखि
शक्तिको अाड लागेर
मुठ्ठीभरका मान्छेहरुले
समस्याको जाल बिच्छ्याएर
दमन,शाेषणकाे चक्र चलाइरहे
हामी साेझा भुँईमान्छेहरु माथि
र त,
समस्याको जुलुसले घेरेर
दुःखको नजरबन्दमा कैदी जस्तै
पिडाकाे पहाड बाेकेर
पुस्ताै औ पुस्ता माैन बाँचेका छाै ।

हामी भुँईमान्छेहरुलाई जुन शासन भए पनि
शासन,सत्ताले मिचेकै छ
झुटाे आश्वासनले थिचेकै छ
शिक्षाको उज्यालो ज्याेति खाेज्दा
सगरमाथा जस्तै अग्लाे महंगी भेटिन्छ
स्वास्थ जीवन खाेजेर अस्पताल पुग्दा
घर,जग्गा धितो राखेर
सुकुम्बासी बन्न तयार हुनुपर्छ
तर
अचेल हरेक पार्टीका घाेषणापत्र हेर्दा,सुन्दा
देशकाे संविधान पल्टाउदा
निःशुल्क शिक्षा र स्वास्थ त
एकाईसाै शताब्दीकाे युगमा पनि
दिवास्वपना जस्तै छ
हामी भुँईमान्छेहरुका लागि ।

आफ्नाे अस्तित्वको लागि लड्दा
शरीर हाम्रो हुन्छ
सास हाम्रो हुँदैन
आश हाम्रो हुन्छ
गाँस हाम्रो हुदैन
श्रम,सीप हाम्रो हुन्छ
बास,कपाल हाम्रो हुँदैन
हामी भुँईमान्छहरु सधैं
मुसा दाैडमा दाैडिएर
जीवन धान्नकै लागि
समस्याहरुकाे जुलुसले घेरिएर
मृत्युशैयामा छट्पटाइरहन्छाै
अरुले देखाएका सपनाहरु बाेकेर
सधै बिटुलाे बनेर
संसारका हामी भुँइमान्छेहरु ।।

प्रेमा संगम
कालिनचाेक -६,दाेलखा
हाल काठमाडौ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend