जन आकाश
पुस्तक समिक्षा
नुवाकोटका वरिष्ठ कवि साहित्यकार, अध्यात्म चिन्तक वासुदेव गुरागाईको नविनतम कृति रातो गुलाफ सुसेली सङ्ग्रह हालै बजारमा आएको छ । उहाँले ६८ पृष्ठको यस पुस्तकमा ६ वटा शिर्षकमा ४०० भन्दा धेरै उत्कृष्ट सुसेलीहरू समावेश गर्नुभएको छ ।
पुस्तकको पहिलो सुसेली पढ्न सुरुवात गरेदेखि अन्त्य नभएसम्म दायाँबायाँ नगरी पढिरहुँ झै लाग्ने उहाँका सुसेली सिर्जनाले मेरो मन मस्तिष्क छोएको छ । सुसेलीका पारखी हरेक पाठकलाई पुस्तक पढेपछि यो अनुभुति हुने विस्वासका साथ रातो गुलाफ सुसेली सङ्ग्रहका विषयमा सुसेलीकै माध्यमबाट छोटो टिप्पणी गर्ने जमर्को गरेको छु ।

रातो गुलाफ
सङ्ग्रहमा सुसेली
छोटो टिप्पणी
रातो गुलाफ
अठसठ्ठी पेजमा
पढ्न खुल्ला छ ।
पढ्नु भाग्य हो
लेख्यौ तीसौँ पानामा
राम्रो काव्य यो ।
शुभकामना
नुवाकोटे सुसेली
आए आँगन ।
नम शिवाय
ॐ नमो भगवते
वासुदेवाय ।
चमत्कार भो
सुसेलीको विधामा
वासुदेवको ।
रातो गुलाफ
सौर्न्दर्यको द्योतक
प्रेम प्रतीक ।
भयो बिहान
आफ्नै राष्ट्रियताको
गर्यौ बयान ।१
चन्द्रसुर्यले
सुसज्जित झण्डा यो
बोकौँ गर्वले ।
नेपाल हाम्रो
अरूभन्दा पटक्कै
छैन नराम्रो ।
धर्म संस्कृति
परंपरा संगाली
देख्यौ प्रकृति ।२
दही चोरेर
दैव बने कृष्णजी
ठेकी फोरेर ।
दुप्चेको शिला
कस्ले बुझ्न सक्छ र
दैवको लीला ।
नारी वेदना
जागरण संस्कृति
दियौ प्रेरणा ।३
बाबा निष्ठुरी
डाँडापारि हुत्याए
आफ्नै कस्तुरी ।
जाग महिला
पुरुषको हैकम
तोड पहिला ।
नारी भक्ति हो
नहेप ए दुनियाँ
आदि शक्ति यो ।
साथी सहेली
दियौ प्रेम रसमा
मीठा सुसेली ।४
गयो कलेज
दायाँबायाँ नजर
छैन नलेज ।
ताल्चा फोरेर
के के लाने सोच छ रु
दिल चोरेर ।
माया लाग्छ नि
स्वार्थ पुरा गरेर
पर भाग्छ नि ।
ठट्टा गरेछौ
हाँस्य व्यङ्ग्य भरेछौ
ज्ञान छरेछौ ।५
कुवाको पानी
हाँस्न थाल्यो मेलम्ची
खानी नखानी ।
पद ठूलै छ
ढोकाबाट किन हो रु
झ्याल खुल्लै छ ।
हिलो टेक्तिन
म हुँ खाँटी किसान
हलो बोक्तिन ।
हाम्रो समाज
मानवीय जीवन
पार्यौ प्रकाश ।६
घन्क्यो सुसेली
गाउँबेसी रमायो
बन्यो कोसेली ।
घोडा चढेर
म त पाको भुको छु
आफैं लडेर ।
जात के हो र
मान्छे सबै समान
भात के भो र ।
नाचे मयुरी
वासुदेव गुरुका
तिखा सुसेली ।
धन्यवाद छ
यो सुसेली विधाको
मीठो स्वाद छ ।
दुर्गा अधिकारी भमरकोटे
अध्यक्ष
राष्ट्रिय सुसेली मञ्च नेपाल ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend