logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिर्षकः बा र हजुरबा, गद्द कबिता


  • जन आकाश
  • आइतबार, भाद्र १२ २०७९

 



शिर्षक  बा र हजुरबा

ए छोरा गृहकार्य गरिस ?

हजुर गरे बा

गाइलाई घास हालिस ?

हजुर हाले बा

तल धाराबाट पानी लेराइस ?

हजुर लेराए बा

यसरी प्रस्नका बर्षा गर्ने मेरा बा

र हजुर हजुर लाउने म

लाग्थ्यो फौजिका कप्तान मेरा बा

अनि बिचरो अर्दली म

माया देखाउन नजान्ने मेरा बा

तर बाको काख खोज्ने म

जहिले नि गम्भिर रहने मेरा बा

अनि सधै जिस्किरहने म

ए नाती पापा खान्छस ?

खान्छु हजुरबा

आइज काखमा बस्छस ?

बस्छु हजुरबा

साथीभाईसँग खेल्न जान्छस ?

जान्छु हजुरबा

मायाको दोलाईं ओडाउने हजुरबा

काखमा लुटुपुटु गर्ने म

काधमा राखी गाउँ डुलाउने हजुरबा

अनि भुइँमा खुट्टा नराख्ने म

मैले हजुर हजुर भनि राख्नु पर्ने बा

भन्दा धेरै जाती लाग्थ्यो मेरा हजुरबा

सोच्थे बरु कतै गए नि हुन्थ्यो नि बा

यि बा एकै पटक किन हुन्नन हजुरबा ?

यस्तो सोच्दा सोच्दै आफु भैयो बा

मेरा बा हुनु भयो छोरीका हजुरबा

बा हजुरबा भएर हो कि आफु बनेर बा

आफुलाई अब लाग्न थाल्यो प्यारो बा

छोरी भन्छे बा भन्दा जाती हजुरबा

मैले पनि पाएँ साथी जस्तै मेरा बा

बा जाती हुन बन्नु पर्ने भए हजुरबा

खोइ त हजुरबाको मुख हेर्ने दिन आ ?

हाम्रा हजुरबाहरु सार्है भाग्यमानी

थुप्रै नाती नातिना सधै साथमा हुनी

हाम्रा बाहरु जब आफु हजुरबा भए

नाति नातिना थोरै थिए यत्रतत्र गए

आजकल हजुरबालाई भन्छन बुबा

आफ्ना बालाई ड्याडी अनि बाबा

साँच्चै सुन्न गार्हो भो बा र हजुरबा

के शब्दकोशमै बन्द हुने भो त बा ?

त्यसैले ए बाहरु नपर्ख हजुरबा हुन

पर्दो रहेछ समयमा नै माया देखाउन

बा र हजुरबा जस्ता शब्द जोगाउन

मिल्छ भने लागौ अभियान चलाउन

नब निर्मित बा हुन वा बृद्द बा

लाटा बा हुन वा बाठा बा

बा त बा हुन काला हुन वा गोरा

गरिब वा धनि सबै हाम्रा प्यारा

डा. अमर कार्की,

वेस्ट पाम बिच, फ्लोरिडा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend