logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडाले गरयो इभि एक्स्पोको घोषणा


  • जन आकाश
  • मंगलबार, भाद्र २८ २०७९

 



काठमाडौ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी हुने भएको छ ।

“सिएट द्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२”(CEAT presents NADA EV Expo2022) आयोजना गरिने भएको छ । काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने USAID Clean Air ले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने भएको छ ।

एक्स्पोको शिर्ष प्रायोजक (Title Sponsor) सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

बर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिइएको CEAT presents NADA EV Expo2022 मा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्वन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणकालागि Fire Safety Support को रुपमा हिटको प्रा. लि. रहेको छ । वातावरण एवं इभी सम्बन्धि व्यापक छलफल तथा सूचना प्रवाह गर्नकालागि USAID Clean Air ले तीन दिन सम्म इभी चौतारी नामक गोष्ठी सन्चालन गर्ने भएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा Khalti Digital Payment द्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend